समरूद्वारा मोतीजयन्तीमा कृति समीक्षा

छवि ज्ञवाली
भैरहवा/२३ भदौ
समीक्षा-समालोचनाका माध्यमबाट नेपाली भाषा साहित्यको उत्थान गर्ने मुख्य उद्देश्यसहित स्थापित समीक्षा मञ्च रूपन्देही ( समरू) ले कृति समीक्षा कार्यक्रमसहित १ सय ५६ औं मोतीजयन्ती मनाएको छ ।
भर्चुअल रूपमा गुगल मिट माध्यमबाट मङ्गलबार राति आयोजित कार्यक्रममा नेपाली साहित्यका बहुमुखी प्रतिभा मोतीराम भट्टकाे समालोचक व्यक्तित्वमाथि प्रकाश पारिएको थियो भने हाल भैरहवा निवासी पाल्पाली साहित्यकार ठाकुरचन्द्र शर्माको कवितासङ्ग्रह “के मात्र ह्वैनौ तिमी “को समीक्षा गरिएको थियो ।
कार्यक्रममा मोतीराम भट्टको समालोचक व्यक्तित्वबारे समालोचक डा. दामोदर ढकालले विस्तृत रूपमा प्रकाश पार्नुभयो ।
त्यसैगरी कवितासङ्ग्रह “के मात्र ह्वैनौ तिमी” बारे समालोचक बालकृष्ण भट्टराईले विस्तृत समीक्षा प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि, समालोचक एवम् समरूका सल्लाहकार डिल्लीराज भट्टराईले समरूले आफ्नो स्थापनाको उद्देश्यअनुरूपका गतिविधि सञ्चालन गरिरहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले एकै तिथिमा जन्म र निधन भएका सिद्धार्थ गौतम बुद्ध, महाकवि लक्ष्मीप्रसाद देवकोटा, मोतीराम आदिबारे चर्चा गर्दै भट्टले नेपाली भाषा साहित्यमा ज्यादै छोटाे अवधिको जीवनकालमा पुर्‍याएको योगदानको सदा कदर गरिनुपर्ने बताउनुभयो ।
समरूका अध्यक्ष साहित्यकार हृदय लेकालीको अध्यक्षता, उपाध्यक्ष देवीप्रसाद न्यौपाने धीरको स्वागत मन्तव्य, सचिव छवि ज्ञवालीको सञ्चालन, सहसचिव अनुराधा ढकालको धन्यवाद ज्ञापन तथा कोषाध्यक्ष विष्णु गजुरेलको प्रविधि संयोजन रहेको उक्त कार्यक्रममा साहित्यकार ठाकुरचन्द्र शर्मा, यादव भट्टराईले समरूका गतिविधिहरू सार्थक ढङ्गले अघि बढुन् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न सङ्घ संस्थामा आबद्ध रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, चितवन, सुनसरी, काठमाडौं, लगायत जिल्लाका तथा अमेरिकाबाट समेत स्रष्टाहरूको सहभागिता रहेको थियो ।
समीक्षा-समालोचना विधाको उत्थानमा सघाउने मुख्य उद्देश्यसहित २०७५ को गणतन्त्र दिवसका दिन समरूको स्थापना गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *