धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेको छु

गौरव नेपाल, अध्यक्ष, लियो क्लब अफ सिद्धार्थनगर

१.तपाई लियो क्लबमा आबद्ध हुनुको उद्देश्य के हो ?
सन् २०१४ देखि म यस क्लबमा आबद्ध भएको हुँ । यस क्लबले गरेका सामाजिक कामहरु सानैदेखि देखिरहेकोले पनि मलाई सामाजिक काममा लाग्न प्रेरणा मिल्यो । क्लबको सदस्यता लिइसकेपछि मैले विभिन्न जिम्मेवारीमा बसेर काम गरे । मेरो मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रहरुमा निःस्वार्थ भावनाले सामाजिक कामहरुमा सहभागि हुनु नै हो ।
२. तपाईको कार्यकाल कसरी अगाडि बढिरहेको छ ?
हालमैले क्लवमाअध्यक्षको जिम्मेवारी पाइसकेपछि लियो अन्तर्राष्ट्रियको मुल उद्देश्य अनुसार सामाजिक काम, व्यक्तित्व विकास र नेतृत्व गर्ने अवसरहरु सिर्जना गर्न विभिन्न कामहरु गरिरहेको छु । मैले नेतृत्व लिइसकेपछि वृक्षारोपण, खाना खुवाउने, विभिन्न तालिमहरु जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेका छौ । त्यस्तै अबका दिनहरुमा भैरहवा क्षेत्रमा रहेका विभिन्न सामाजिक संस्थाहरुसँग मैत्रीपूर्ण फुटसल, पिछडिएको क्षेत्रमा निःशुल्क आखाँ तथा मधुमेह परीक्षण लगायतका कार्यक्रमहरु गर्ने गरी अगाडि बढेका छौं ।
३. क्लबको नेतृत्व गर्दै गर्दा कस्तो अनुभव पाउनु भएको छ ?
सन् २०१४ देखि आजको दिनसम्म क्लबकै विभिन्न जिम्मेवारीहरुमा रहेर काम गर्दै आएको छु । त्यसैले यस वर्ष अध्यक्षको रुपमा जिम्मेवारी प्राप्त गर्दा केही नयाँ र नौलो अनुभूति त पक्कै भयो । तर ६० जना भन्दा बढी सदस्य विभिन्न पृष्ठभूमि र क्षेत्रका साथीहरु रहेको यस क्लबमा समूहमा काम गर्न पाउँदा खुसी छु । बेलाबखतमा आइपर्ने कठिनाईहरुलाई क्लबका साथीहरुसँग र पूर्व अध्यक्षहरुको साथ र सहयोग लिदै अगाडि बढ्दा मैले पनि धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेको छु ।
४. युवाहरु यस्ता क्लबमा आबद्ध किन हुनुपर्दछ भन्ने लाग्छ ?
अधिकांश १८ वर्षदेखि ३० वर्षसम्मका युवाहरु भनेका अरुको लहैलहैमा लाग्ने र भविष्यलाई सोच्नु भन्दा पनि वर्तमानमा रमाउने चलन बढिरहेको छ । तर यो उमेरमा विभिन्न सामाजिक संस्थाहरुमा लाग्नाले नेतृत्व विकास, सामाजिक काम, तथा सही बाटो पहिचान गर्न सहज हुन्छ । त्यस्तै, समाज, देश र पुरै विश्वलाई नेतृत्व गर्ने क्षमता उनीहरुसँग हुन्छ । त्यसैले पनि युवाहरु समाजमा रहेका विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध हुन आवश्यक छ ।
५. अन्तमा, आम युवा वर्गलाई के सन्देश दिनुहुन्छ ?
आजको हाम्रो कामले भोलि हामीलाई संसार चिनाउन सक्छ । तसर्थ यो युवा अवस्थाको उमेरमा रहेको नयाँ जोश, जागर र अध्ययनलाई भरपूर उपयोग गर्नुपर्दछ । हामी युवाहरुले आज गरिरहेका कामहरुले भोलीको सहज र राम्रो भविष्यको निर्माण गर्दछ । त्यसैले भोलिको लागि आजैदेखि आफु, समाज र राष्ट्रका निम्ति काम गरौं भन्न चाहन्छु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *