युवाहरु सामाजिक संस्थामा आबद्ध हुनुपर्छ

लक्ष्मण रेग्मी, अध्यक्ष,रोट्रयाक्ट क्लब अफ भैरहवा

१.तपाई रोट्रयाक्ट क्लब अफ भैरहवामा आबद्ध हुनुको उद्देश्य के हो ?
म सानैदेखि नै समाजमा केही गर्ने भावना बोकेको व्यक्ति हँु । समाजमा केही गर्नको लागि मलाई एउटा टिम र एक संस्थाको खाँचो थियो जुन मैले रोट्रयाक्ट क्लब अफ भैरहवामा देखे । सन २०१७ मा क्लबको सदस्यता लिएर यस सामाजिक संस्थामा आबद्ध हुने अवसर प्राप्त गरे । सामाजिक क्षेत्रमा काम गर्नुका साथै आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले यस क्लबमा प्रवेश गरेको थिए ।
२. तपाईको कार्यकाल कसरी अगाडि बढिरहेको छ ?
म क्लबको अध्यक्ष भएको करिब दुई महिना भएको छ । यो अन्तरालमा म लगायत हाम्रो टिमले विभिन्न कार्ययोजना बनाएका छौ । हामीले यो वर्ष विगतका वर्षहरुमा गर्दै आएका कामहरुलाई निरन्तता दिनुको साथै केही नयाँ कार्यक्रमहरु गर्दै जाने सोचका साथ अगाडी बढेका छौ । हामीले यो वर्ष विगतमा भन्दा अझ उत्कृष्ट कार्यक्रम गर्ने योजना बनाएका छौं । हामीले क्लबको पदस्थापना पश्चात रोटरी क्लब अफ भैरहवासंग सहकार्य गरी वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका थियौ । त्यसै गरी यस भैरहवा क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क दन्त शिविर आयोजना गर्ने तयारीमा छौ । त्यसका साथै आगामी कार्यक्रमको रुपमा बाल दिवसको अवसरमा सिद्धार्थ बाल गृहमा रहेका बालबालिकालाई बुद्ध जन्मस्थल लुम्बिनी घुमाउने, कोभिड–१९ विरुद्ध सचेतनामूलक कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रमका साथै क्लबका सदस्यहरुको नेतृत्व विकास तथा व्यक्तित्व विकासका लागि विभिन्न तालिम दिने योजना बनाएका छौं ।
३. सामाजिक संस्थाको नेतृत्व गर्न कति जटिल हँुदो रहेछ ?
म आफै पनि एउटा व्यवसाय सञ्चालन गरेको व्यक्ति हुँ । जसका कारण मलाई पहिलो कुरा त समयको व्यवस्थापन गर्न नै ग्राहो छ । त पनि मेरो उद्देश्य, सानैदेखि सामाजिक क्षेत्रमा केही गरौ भन्ने सोच लिएर क्लबमा आबद्ध भएकोले पनि मैले समयको व्यवस्थापन गरी क्लबको नेतृत्व लिएर काम गरिरहेको छु । संस्थामा काम गरिसकेपछि संस्थाका सदस्यहरुको मनोभावलाई बुझेर काम गर्नुपर्ने हुन्छ । कहिलेकाही काम गर्ने क्रममा विभिन्न समस्याहरु आउने गर्दछन् । ती समस्याहरुलाई साथीहरुकै सल्लाह सुझाव अनुसार समाधान गर्ने गरेको छु । त्यसैले कामको हिसाबले जटिल भए पनि जिम्मेवारीको हिसाबले यसलाई सरल रुपले क्लबको उद्देश्य अनुसार अगाडि बढिरहेको छु ।
४. ‘टिम वर्क’ लाई कसरी लिनुहुन्छ ?
कुनै पनि संस्था सञ्चालनम ‘टिम वर्क’ महत्वपूर्ण हुन्छ । समूहमा काम गर्दा जस्तोसुकै जटिल कामहरु पनि सहज तरिकाले गर्न सकिन्छ । हामीले समाजमा टिम वर्कका धेरै उदाहरण देख्न सक्छौ । एक्लैले गर्न नसकेका काम समुहमा मिलेर गर्दा सहज रुपमा र धेरै प्रभावकारी रुपमा गर्न सक्छौ । अहिले हाम्रो क्लबमा ३८ जना सदस्य छौं । हाम्रो क्लबमा पनि टिम वर्ककै कारण विभिन्न सामाजिक कामहरु गर्न सफल भएका छौं ।
५. क्लब तथा संघ–संस्थामा किन आबद्ध हुनुपर्छ ?
क्लब अथवा सामाजिक संस्थाहरुमा आबद्ध भएपछि नेतृत्व, व्यक्तित्
व विकास, सामाजिक सेवाको भावना जागृत हुन्छ । त्यसै गरी संस्थामा आबद्ध भइसकेपछि विभिन्न अवसर सृजना गर्न सहज हुने र क्लबमा आबद्ध सदस्यहरुबीच आत्मिय सम्बन्ध बढ्ने हुनाले युवा वर्ग सामाजिक संस्थामा आबद्ध हुनुपर्छ भन्ने मलाई लाग्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *