बुद्ध जन्मस्थल लुम्बिनीमा भ्रष्टाचार ! मिलेमतोमा ३ अर्बभन्दा बढीका चार ठेक्का

भैरहवा, २१ भदौ ।
बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि गठित लुम्बिनी विकास कोषले मिलेमतोमा ठेक्का लगाएर अनियमितताको दाग लगाएको छ । १० जेठ २०७८ गते कोषले आहृवान गरेको ४ वटा टेन्डरमा प्रतिष्पर्धा सीमित गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले नै विरोध गर्दागर्दै कोषले विरोधकै बीचमा पनि ठेक्का प्रक्रिया अघि बढाउँदै आइतबार बोलपत्रको ‘आर्थिक मूल्यांकन’ सकेर छनोट भएका कम्पनीको सूची सार्वजनिक गरेको छ ।
करिब साढे ३ अर्ब लागत अनुमानको ठेक्का मिलेमतोमा करिब ३ अर्ब १० करोडमा दिन ठिक्क पारिएको छ । सामान्यतया ः ठूला ठेक्कामा ३० प्रतिशतसम्म कम मूल्यमा ठेक्का लाग्ने भएपनि मिलेमतोकै कारण करिब लागत अनुमानमा ३० करोड मात्रै घटेर ठेक्का लगाउन लागिएको हो ।
सुरूबाटै विकास कोष स्रोतले ०८÷०७७÷७८ नम्बरको ठेक्का लुम्बिनी–अनक–खड्का कृष्ण जेभी कम्पनीलाई पर्ने तय भएको स्रोतको दावी गर्दै आएको थियो । ०९÷०७७÷७८ लामा–एपेक्स–कमलजीत जेभी र १०÷०७७÷७८ नम्बरको ठेक्का रमन–गजुरमुखी–रामजानकी जेभी कम्पनीलाई पर्ने कोषकै अधिकारीहरुले बताएका थिए । ठेक्का ११÷०७७÷७८ भने खानी–अर्घाखाँची–बाबुल जेभी कम्पनीलाई पर्ने भनिएको थियो । प्राविधिक प्रस्तावमा पास हुने वास्तविक कम्पनी १३ वटा हुने र वाइबा निर्माण कम्पनी प्राविधिक प्रस्तावमा पास भए पनि ठेक्का नपाउने स्रोतको दावी थियो ।
पहिले सार्वजनिक भएका समाचारहरुमा गरिएको दावीसँग हुबहु मिल्ने गरी लुम्बिनी विकास कोषले ठेक्का लगाउने तय गरेको छ । ती ठेक्कामा सीमित कम्पनीलाई मात्र दिने गरी ‘क्वालिफिकेसन क्राइटेरिया’ तोकिएको थियो ।
ठेक्काहरूमा तोकिएको अनुभवको सबै शर्त एउटा निर्माण व्यवसायीले मात्रै पूरा गर्न सक्ने अवस्था देखेपछि नेपाल निर्माण व्यवसायी महासंघले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक खरीद अनुगमन कार्यालयसम्म उजुरी गरेको थियो ।
एउटै ठेक्का गर्दा सो काममा विदेशी ठेकेदार आउने अवस्था भएपछि चार वटामा टुक्रयाइएको थियो । तर, टुक्र्याएर बनाएका प्याकेजमा पनि लुम्बिनी कन्स्ट्रक्सनसँग मिलेर खानी, सीएम, बाबुललगायत बढीमा ९ वटा कन्स्ट्रक्सन कम्पनीलाई ज्वाइन्ट भेन्चरमा दिन लागिएको महासंघको ठहर थियो । ठेक्का भाग लगाउने योजना अनुसार कोषले उनीहरूसँग मिल्दो योग्यता मागेको महासंघको आरोप थियो ।
यो ठेक्कामा सहभागी हुन पुरातात्विक क्षेत्रमा एउटै २० करोडको ठेक्कामा काम गरेको अनुभव मागिएको थियो । जबकि नेपालमा पुरातात्विक सम्पदा निर्माणमा यति ठूलो काम गरेका ठेकेदार थोरै छन् ।
त्यसमाथि कोषले ‘सडक तथा ढल पूर्वाधारमा विगत १० वर्षभित्रका तीन आर्थिक वर्षमा ५८ करोड रूपैयाँ भन्दा बढीको वार्षिक कारोबार गरेका कम्पनीले कम्तीमा ६० करोड रुपैयाँ भन्दा माथिको काम गरेको अनुभवसहित पाँच हजार वर्ग क्षेत्रफलमा एउटै ठेक्काबाट एम ३५ इन्टरलक कबल ब्लकको काम गरेको अनुभव’ समेत मागेर प्रतिस्पर्धा खुम्च्याएको थियो ।
यस्तो अनुभवका शर्त राख्दा कुल कामको परिमाणको ८० प्रतिशत अनुभव आवश्यक पर्ने व्यवस्था भए पनि मिलेमतोमा संलग्न कम्पनीहरूको योग्यता नपुग्ने भएपछि तिनै कम्पनीका योग्यतासँग मिल्ने गरी २० प्रतिशत भए पुग्ने गरी शर्त तोकिएको थियो ।
विवादास्पद यो ठेक्का प्रक्रिया रोक्नुपर्ने माग गर्दै व्यवसायीहरू मुद्दा लिएर सर्वोच्च अदालतमा पुगेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश नदिएपछि ठेक्का प्रक्रिया अघि बढेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *