तम्घासको खानीगाउँमा व्यवसायिक रुपमा बाख्रापालन गर्दै महिला

अनिल खत्री
गुल्मी, ११ भदौ ।
घरको चुलोचौकोमा व्यस्त रहने महिलाहरु विस्तारै कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षण हुन थालेका छन् । घरको काम सँगैसगै गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ निवासी लक्ष्मी भलामी व्यवसायिक रुपमै बाख्रापालन गर्दै आएकी छन् । घरको काम सँगसगै विभिन्न पेसा, व्यवसाय गर्न थालेपछि केही समय यता महिलाहरु पनि आत्मनिर्भर बन्न व्यवसाय गर्न थालेका छन् । २ वर्ष अघि केही बाख्राबाट व्यवसायिक रुपमै सुरु गरेकी लक्ष्मी भलामीकोे गोठमा अहिले बाख्राले भरिएको छ ।
उनको दैनिकी अहिले बाख्रासँग घाँस तथा दाना पानीमै बित्ने गरेको छ । उनले लक्ष्मी कृषि तथा पशुपंक्षी फर्ममार्फत बाख्रापालन गर्दै आएकी छन् । विशेष गरी गाउँका महिलाहरुले घरमा दुई चार वटा बाख्रा पालेर घरखर्च चलाउने गर्दछन् । तर पछिल्लो समय यता महिलाहरु पनि ठूलाठूला फर्महरु सञ्चालन गर्न पनि थालेका छन् । भलामीको बाख्रापालनको मेहनत देखेर महिलाले केही गर्न सक्दैनन् भन्ने हाम्रो समाजको मान्यतालाई तोडेकी छन् । उनको फर्ममा ४६ वटा माऊ बाख्रासहित स्थानीय र बोयर जातका बाख्रा छन् । केही व्यवसाय गरौं भनेर बाख्रापालन गर्न सुरु गरेको व्यवसायी भलामीले बताइन् । उनको बाख्रा फममा उत्पादन भएका बोकाहरु बेच्नको निम्ति तयार हुदैछन् । बाख्रा फर्मलाई अझै विस्तार गरेर बाख्राहरु पनि थप्दै जाने बताइन् ।
अहिले आम्दानी भन्दा पनि बाख्रा थप्दै फर्मलाई ठूलो बनाउने संकल्प उनको रहेको छ । बाख्रापालन व्यवसायबाट आफु सन्तुष्ट रहेको उनको भनाइ छ । घरमा खाली बस्नु भन्दा केही व्यवसाय गरे समय बिताउन पनि सजिलो हुने र आम्दानी पनि गर्न सकिने भएकाले व्यवसायिक रुपमै बाख्रापालन गरेको बताइन् । अन्य व्यवसाय भन्दा कृषि व्यवसाय आफै मालिक भइने र ग्राहक कहिले आउला भनेर कुर्न नपर्ने भएकाले पनि कृषि व्यवसाय छनोट गरेको व्यवसायी लक्ष्मी भलामीले बताइन् । बोकाको मासुको बजार मूल्य राम्रो भएपछि पशुपालन व्यवसायमा कृषक आकर्षित भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *