वाणगंगा नदी कटानबाट खोरिया गाउँ नै बगाउने खतरा : स्थानीय चिन्तित

गौतमबुद्ध सन्देश
कपिलवस्तु, ११ भदौ ।
जिल्लाको बाणगंगा नदी कटानबाट खोरिया गाउँ नै बगाउने खतरा भएपछि स्थानीय चिन्तित बनेका छन् । यशोधरा गाउँपालिका वडा नम्बर ८ खोरिया गाउँवासी राती नदी गाउँमा पस्छ की भन्ने त्रासमा रातभर जागाराम बस्ने गरेका छन् । नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको हो । करिब २ सय ३० घर धुरी रहेको गाउँमा नदी कटान ठुलो समस्याको रुपमा देखा परेको छ । नदीले हरेक वर्ष कटान गर्दै आएपछि गाउँसंगै भएर नदी बग्न थालेको छ । नदी कटानका कारण सो क्षेत्रको खेतीयोग्य जमिन वगरमा परिणत भएको छ ।
नदी कटानको कारणले धेरै समस्यामा पारेको र नदीको बाँध फुट्यो भने दुई चार गाउँ डुबानमा पर्ने खतरा रहेको स्थानीय मुसे मल्लाहले बताए । अहिले थोरै पानी प¥यो भने बस्ती नै बगाउने खतरा भएपछि उनले यसको व्यवस्थापन छिटो भन्दा छिटो गरी सरकारसंग आग्रह गरेका छन् ।
बाँध फुट्यो भने घर बगेर जान्छ त्यसैले हामीलाई रातभर निद्रा लाग्दैन, स्थानीय किमुन निशाले भनिन्, ‘खानाको लागि काम गरेका छौं, नदीले बगायो भने हामी कहाँ जाने यस्तो हालत देखेर हामीलाई रातभर निद्रा लाग्दैन ।’
बाँध कटानको कारणले बाटो पनि बन्द भइसकेको र यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराइसकेकोे यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडाध्यक्ष शाहबुद्धिन मुसलमानले बताए । यो बाँधको तत्काल व्यवस्था हुन नसके खोरीया गाउँ मात्र नभइ गाँउपालिकको वडा नम्बर ७ र ८ का कम्तिमा १० गाउँमा क्षति पुग्ने उनले बताए ।
खोरीया गाउँको बाँध १२ मिटर जति भत्केको अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । सो समस्या समाधानको लागि तत्काल स्थानीयवासी, जनप्रतिनिधि, सुरक्षाकर्मीसंग मिलेर बास लगायतका सामग्री र बोरामा बालुवा राखेर माथिको माटो नखसोस् भनी व्यवस्थ ामिलाउने बताए । सो विषयमा गृहलाई पनि पत्राचार गरिसकेको उनले बताए ।
गाउँका सबैजसोको धेरै थोरै जमिन नदीले बगरमा परिणत गरेको छ । अधिकांश विपन्न परिवार रहेको गाउँमा नदी कटानले खेत बगर बनाएपछि यहाँका गाउँलेहरु समस्यामा परेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *