कथा : हराएको छोरो

गुरुदत्त ज्ञवाली
बुटवल, देवीनगरमा एउटा चिटिक्क परेको दुईतले घर छ । घर हल्का गुलाबी रङ्गले रङ्गाइएको छ । छेउमा सानो करेसाबारी छ । तरकारीले बारी मनमोहक छ । लौका र फर्सीका झाल माथि छतसम्म तानिएका छन् । र, छतबाट भुइँंतलासम्म छोइनेगरी मुण्टा लट्केका छन् । आँख्लै पिच्छे फल लागेकोले लहरा वजनदार पनि छन् । भनौं, घर सुन्दर छ ।
“ए बुवा यहाँ कोठा खाली होला ?” बाहिर गेट हान्दै कसैले चिच्याएर सोधेको आवाज आयो । “घरबेटी बा ‘ ।” आवाज दोहोरियो । घरबेटी बा हुन् कि आमा हुन् कि ? र पनि एउटा मान्यता छ घरमुली पाका पुरुष नै हुन्छन् भन्ने ।
घरबेटी बा माथिल्लो तलाबाट हतारिँदै तल झरे र बरण्डामा निस्के । बुढा आत्तिएछन्, त्यहाँ झुण्डिएको लामो लौकामा ठोकिए । ठोकिएर त के नै हुन्थ्यो र ? लौकाको पातले आँखामा पाछ्यो । आँखाले हेर्न मिलेन । आँसु पनि आएछ क्यार ? बुढामान्छे रोएजस्तो देखिए । एकजना सर्लक्कका खाइलाग्दा युवक गेटभित्रै पसे र घरबेटी बाको आँखा हेर्न थाले । छोरी हतारिँदै तल झरिन् र बाका आँखा हेरिन् । सामान्य पुछपाछ गरेपछि बिसेक भयो । आँखा राम्ररी नखोल्दै बाले घरमा आएका युवालाई भने । “छन त छ‘..तर” । बुढाले सम्झेका रहेछन् । बा र ती युवाको राम्ररी मुख देखादेख पनि भएन ।
“खाली छैन र ?”
कोठा खाली थियो, भनेजस्तो मान्छे नपाएर भाडामा दिएका थिएनन् ।
“कस्तो हो भनेजस्तो मान्छे ?”, बाका कुरा सुनेर युवक अलमलिए । परिवारसहितका मान्छे भए दिन्छु पो भनेका हुन् कि ? युवाले मनमनै सोँचे ।
बाको ओँठ नखुल्दै उनले भने, “भैगो नि त बुवा, म हजुरको छोरो सरहको हुँ क्यार ? के समस्या छ हेरौंला नि !” यसो भनेपछि बाको मन उनीप्रति सकारात्मक भयो र भोलि निधो गरौँला हुन्छ भने । बाले त्यसो भन्दैगर्दा रुमालले आँखा छोप्दै सिँढीबाट उकालो लाग्दै थिए । जाँदा तीन पटकसम्म युवकले पछि फर्केर हेरे । तीनै पटक बाले पनि युवातिर हेर्न खोजेका हुन् आँखाले भर पाएनन् । र, मनमनै सोँचे, “मेरो छोरो आज चौबीस वर्ष भयो हराएको, फर्केर आएको त छैन छैन, कहाँ छ कस्तो छ र कसरी के गरेर बसेको छ वा छ–छैन त्यो पनि थाहा छैन ।” बाले ती युवालाई छोराकै झल्को मर्नेगरी धमिलो नजरले हेरे । अघि त लौकाको पातले पाछेर आँसु चुहाएका थिए, अहिले भने बा साँच्चै रोए । छोराको सम्झनाले मन पाछ्यो ।
“को हो बा त्यो मान्छे चिन्नु हुन्छ ?” माथिल्लो तलाको बैठक कोठामा पुगेपछि छोरीले सोध्दा पो बा झसङ्ग भए । अथवा उनको ध्यान ती युवकबाट मोडियो । “क्वै होइन कोठा खोज्न आएका मान्छे हुन् । गए ।” उनले छोरीलाई छोँटो जवाफ दिए तर छोरीले बाको स्वभाव बुझेकी थिइन् । भनिन्, “तपाइँलाई पैसा भए भयो । को मान्छे हो ? कस्तो मान्छे हो ? कोठा दिन हुन्छ कि हुन्न ? थाहै छैन ।” “साथी हुन्छ नि त छोरी” भनेर भन्न मन लागेको थियो बालाई । अघिल्लो पटक यस्तै भन्दा छोरीले देख्दै गुण्डा जस्तो छ के को साथी ? भनेको कुरा र एक जना मान्छे कोठा खोज्न होइन घरबेटी बाकी छोरीको शिकार खेल्न आएको कुरा सम्झेर चुप्प लागे ।
बाकी श्रीमती छैनन् । यसको मतलव छोरीकी आमा छैनन् । एउटी छोरी मात्र । छोरीको आमा, बा, दाजु–भाइ जे भने पनि उनै बा हुन् । यो मनोविज्ञान उनले बुझेका पनि छन् । “श्रीमतीको राम कहानी के भनुँ खै ! उपचारमै सम्पत्ति सकियो । सकियो भनेर छोरीलाई भनेको पनि छैन । भनेर पनि त के अर्थ ? उनले पत्याउने पनि होइनन् ।” बाको यस्तै गुनासो हुन्छ ।
बा खासै बूढा भने होइनन् । त्यस्तै पचपन्न, छपन्नको सेरोफेरो । जागिरे थिए हालै सेवानिबृत्त छन् । उनको पहिलेको घर त रामेछाप जिल्लाको चनखु ३ देउराली । कार्की टोल पनि भन्छन् । सरोज कार्कीको घरभन्दा त्यस्तै सात घर तल । सरुवा भएर बुटवल पुगेका, बुटवलमै घरजम भयो । पहिले छोरो जन्म्यो र पछि छोरी ।
श्रीमतीलाई सञ्चो हुँदै नहुने त होइन सम्हाल्न नसकिने रोगले समात्यो । मानसिक रोग । उपचारका सबै विधि सके तर अहँ, जस्ताको तस्तै । उपचारले त कति खान्थ्यो र ? रोगले पारेको बेथितिले घर व्यवहार बिग्रेर बुढा सिद्धिए । बिचरा, बिरामी त हुन् ! उनले चाहेर गहना फालेकी पनि होइनन् र आगो लगाएकी पनि होइनन् । रोगै त्यस्तै । गहना किनिदिन्छन् तिनाउ खोलामा लगेर फाल्छिन् । महङ्गा लुगा कपडा किनिदियो आगो ठोक्छिन् ।
छोरो पाँच वर्षको थियो, कतै खेलेर भोकाउँदै घरमा आएको थियो । घरमा आउँदा बा–आमा बेस्सरी झगडा गरेको देखेर फनक्क फर्केर गएको, आज चौबीस वर्ष भयो फर्केर आएको छैन । आमाले सधै लोग्नेले अर्की श्रीमती ल्याएर लुकाएको छ भन्ने र बाले होइन भन्ने झगडा । त्यसमा आमाले सधै तेरा बाले अर्की आमा ल्याएका छन् । हामी यहाँ बस्ने होइन भनेर सिकाउँथिन् । यसै कुराले र सौतेनी आमाले हामीलाई मार्छिन् भन्ने डरले छोरो भागेकोे हुनुपर्छ । छोरो हराएको दुई वर्षपछि आमा, छोराकै शोकले झनै बिक्षिप्त भइन् । उनको आरोप थियो लोग्नेले अर्की स्वास्नी ल्याउनको लागि छोरो बेच्यो वा उनकै शब्दमा “खायो” । आमा मरिन् । आमाको देहान्त हुँदा छोरी दुई वर्षकी थिइन् । छोरो हराउनु र छोरी जन्मनु सँगै जस्तो थियो ।
बाले अर्को बिहे गरेनन् । घर क्रमशः धानियो र पछि छोरीले सम्हाल्दै आइन् । छोरी, छोराको झल्को मेटाउने खालकी छन् । र, पढ्रदै पनि गइन् । बाको मनको कुरो भनिदिउँ ? राम्रो बर पाएमा बिहे गरेर घरमै राख्ने सुरमा पनि छन् । तर कतै बोलेका भने छैनन् । छोरीले बाको मनोविज्ञान बुझेकी भने छन् । त्यसैले त जो पायो त्यो युवकलाई कोठा भाडामा दिँदा सतर्क हुन्छिन् । उनी आज परिपक्व भएकी छन् र उनको बिषयमा बाले चिन्ता लिनु पर्दैन भन्ने विश्वास दिलाउन चाहन्छिन् । अचम्म , बाउ छोरीको यस बारेमा कुरो भएको छैन । छोरी अहिले स्नातकोत्तरकी छात्रा हुन् । बिषय भने एमबिए हो वा एमबिएस ।
हिजोका युवक फेरि आए कोठा खोज्न भन्दै । छोरी कतै गएको बेलामा बाले कोठा देखाउन चाहन्थे टुप्लुक्क छोरी आइन् । कोठा राम्रै थियो र भाडा पनि ठिकै । पल्लो कोठा र भान्सा अर्को युवक बस्छन्, सरोज । घरबेटी बाको र सरोजको थर, घर दुबै मिल्ने हुँदा त्यहाँ पनि बाउ–छोराको सम्बन्ध बनेको छ । २८ । २९ को युवा देख्यो कि बालाई छोरै जस्तो लाग्ने । छोरीलाई सोध्नु नपर्ने भए बाले हिजै कोठा देखाउने थिए । छोरीसँग अलि डराउँछन् पनि । तलको कोठामा बस्ने हुँदा खासै असहज मानिनन् छोरीले । माथि गएर आराम गर्नुस् बाबा भन्दै ती आगन्तुक युवा सहित अर्का कार्की युवककै कोठामा बसेर सोधपूछ गरे । कोठा खोज्ने युवकले के सोँचे कुिन्न ? ठेगाना दैलेखतिर र बुटवलमा कुनै अफिसमा सर्भिस छ भने । सर्भिस भएको ठिकै रहेछ घरको खासै चासो पनि भएन कसैलाई । पूर्वतिर भएको भए सोधपूछ पनि गर्दा हुन् ।
बाले त्यो बेला हराएको छोरो निकै खोजे । नेपाल, भारत जहाँ तहाँ खोजे । अहँ, मर्दो ज्यूदो पत्ता लागेन । खर्च पनि कति गरे गरे । तै पेन्सन थियो र खान पुग्थ्यो । पेन्सन निस्कँदा पाउने सुबिधा के कारणले रोकिएको रहेछ । त्यस्तै त हो, मुद्दा मामिला परेको हुँदो हो । पछि फुकुवा भएछ । त्यसैको पैसाले घर बनाएका हुन् । घडेरी मौकैमा मस्तै लिएका रहेछन् । अलिकति घडेरी पनि बेचे । फुर्सदमा कतै पैसा कमाउने मेसो पनि गरे क्या र । जे होस् घर राम्रै बनाए ।
एउटा नेपाली बालक भारतको सुनौली बजारको गल्लीमा डुलेकोे देखियो । त्यो बालक रातभर सडक पेटीमा सुत्यो । भोलिपल्ट बिहानै उठेर फेरि हिँड्यो । ऊ कता जाँदै थियो उसैले बुझेको थिएन । जानेर सुनौली गएको पनि होइन । अरु मान्छे जता हिँडेको देख्यो उतै गयो । ऊ नौतनवाको रेलवे स्टेशनमा पुग्यो । त्यहाँ कलिलो बच्चा देखेर धेरै मान्छे गुजुप्प भए । घर सोधे, नाम सोधे, बा–आमाको नाम सोधे, उसले बताएन । उ बोल्दै बोलेन । उसको कलिलो मनमा सौतेनी आमा आएर मार्छिन् भन्ने थियो । घर बताउने हो भने जानु पर्छ भनेर बोलेन शायद । देख्दा राम्रो, माया लाग्दो बालक, कुनै सज्जनको मनमा दया जागेछ । सज्जन भारतीय नै थिए तर निःसन्तान । उनले जिम्मा लिएर घरमा लगे । उनको घर दख्खिन भारततिर थियो । ती सज्जनको धर्मपुत्र बन्यो त्यो बालक । छोरो बन्यो उनको नजरमा । बालकले ती सबै कुरा बुझेको छैन, मेसो पाएको छैन । बालक बढ्दै गयो, पढ्दै गयो र घर पनि बिर्संदै गयो । ऊ जान्ने भएर बुझ्दा मद्रास पुगेको थाहा पायो । ती सज्जन मान्छे भनुँ, बा भए । उनकी श्रीमती आमा भइन् । बालक त्यहीँ झिम्मियो ।
एकदिन अथवा घर छोडेको एघार बाह्र बर्षपछि कुनै नेपालीसँग परिचय भयो । ती नेपाली उपचारको निमित्त बुटवलबाट त्यहाँ पुगेका रहेछन् । उसले आफू नेपाली भएको कुरा त ग¥यो सबै कुरा बताएन । बुटवलमा कोही आफन्त भएको कुरा मात्र ग¥यो । ती नेपालीले उसले सोधेका कुरा मेसो पाए– पाएनन् र अन्दाजी फलाना कार्कीका बुढाबुढी मरे भनिदिए । हुलिया मिल्दो जुल्दो थियो । उसकी बहिनी उ घर छोडेपछि जन्मेकी हुनाले सोध्नै परेन ।
त्यो बालक जवान भयो । दख्खिन भारतमा भएकोले राम्रो अङ्ग्रेजी पढ्यो वा भनौं अङ्ग्रे्रेजीमा स्नातकोत्तर ग¥यो । सम्पत्ति छ, बा–आमाको माया पाएको छ । सुबिधा सम्पन्न परिवारको सदस्य बनेको छ उ । र पनि नेपाल सम्झन्छ, जन्म दिने बा–आमा सम्झन्छ । सानोमा खेलेको बुटवल सम्झन्छ । घर भनेर कहाँ जाने ? कोसँग जाने ? बाउ छैनन् । आमा त उतिबेलै त्यो अवस्था देखेर गएको हो । अरु दाजुभाइ रामेछाप होलान् । त्यहाँ गएर पनि के पो हुने हो र ? उता जानु पनि परेन ।
पढेर सकेपछि पापा र मम्मीसँग सल्लाह ग¥यो । उसले त्यहाँ गएर पापा–मम्मी भन्न सिकेको छ । उसले मद्रासको घरबाट कतै भारत भ्रमणमा जाने भन्ने सल्लाह गरे पनि नेपालतिर हानियो । शुरुमा त उ काठमाण्डौ तिरै गयो । उससँग सिप थियो, ज्ञान थियो, धन पनि थियो । चार पाँच महिना मज्जाले घुम्यो । पापालाई भनेको थियो छ महिना डुल्छु भनेर । र कतै राम्रो काम पनि पायो काठमाण्डौमा । उसको मनमा पुनः मद्रास फर्कने सोंच थियो थिएन तर उसको ब्यवहारले फर्कने छाँट देखिदैनथ्यो । फर्कनै परे पनि त्यहाँ उसको धन थियो, दौलत थियो । ऐश्वर्य थियो, वा छ भनुँ न । त्यो त छँदै छ । र पनि उसलाई नेपाल आमाले तानेकी छन् भन्ने लाग्छ । नेपाल प्यारो लाग्न थालेको छ । मातृभूमिले तानेको छ उसलाई ।
रामेछाप चनखुकै सरोजको बुटवल आगमन पनि त्यस्तै हानिएर भएको हो । तर उनको बिषयमा यस्तो कथा बनेन । उनी पढ्दै गर्दा काठमाण्डौ हानिए र प्रगतिको दाम्लो समातेर बुटवल आए । बुटवलमा यताउति हानिए होलान्, थोरै बालुवाका कण झरे होलान् तर ढुङ्गो फुटेको छैन । पुरानो भाषाशैलीमा भन्ने हो भने कर्म फुटेको पनि होइन बरु जुटेको हो । अवसर प्राप्त भएको हो । अझ यतै घरजम भयो । बुट्टा फूल–काढेको टोपी जस्तो भयो । त्यही रामेछाप चनखुमा जन्मेका घरबेटी बाको छोरो बतासिएको छ । नजाने अब कहाँ फेला पर्ने हो वा होइन थाहा छैन ।
बाको घरमा डेरा बस्न आएका युवक, कुरा गरेको साँझै त्यहाँ सरे । त्यो दिन त्यहाँ भात पकाएर खाएनन् । भोलिपल्ट सरसमान ठीक्क पारे र साँझ मात्र ग्यास चुलो जल्यो । चार पाँच दिन सम्म सरोजसँग पनि खासै सम्पर्क भएन । कहाँको दैलेखको मान्छे र कहाँको रामेछापको मान्छे भन्ने भए होला । सातौँ दिनका दिन शनिबार परेछ । बसेर सामान्य गफ गरे । युवकको बोली सामान्य भारतीय टोनमा थियो । चिया–सिया सँंगै खाए । त्यो दिन पढाइका कुरा चले र सर्भिसका पनि । युवकले चेन्नइमा पढेको कुरा गरे । सजिलोको लागि होला कार्की युवकले पनि उनको घर काठमाण्डौ बताएका थिए । दुबैजनाको परिचय वा अरु कुरा औसतमा भयो । काम भने मिल्दोजुल्दो परेछ । दुबै जनाका बिहानी कलेज छन् तर फरक फरक स्थानमा ।
काठमाण्डौमा रहेका युवालाई मातृभूमिले तानेरै छाड्यो र आफू जन्मेको घरको माटो सुँघ्न मन लाग्यो । उनी बुटवल झरे । कामाण्डौको काम छोडेर खासै पछुतो लाग्ने खालको थिएन । सल्लाहले नै छोडे । उनलाई कता कता आमाको सम्झनाले आँखा रसाउने गरायो । पशुपति दर्शन गर्न गएको बेला एउटा पागल महिलाको कन्तबिजोग अवस्था देखेका थिए । त्यस दृष्यले त उनको मन कटक्क खायो । सोँचे, मेरी आमाको जीवन पनि त यस्तै भएर अन्त्य भए होला ? त्यस दृष्यले पनि उनलाई छिटै बुटवातिर तान्यो । उनी घर छोडेर जाँदा उनका बाउ लक्का जवान जस्तै थिए । हिसाबले तीस वा एकतीस वर्षका । त्यसमा सरकारी जागिर । बाबाको रवाफै गजबको थियो । युवाको नजरमा त्यही आकृति घुमेको छ । आमाको उमेर पनि त्यस्तै छब्बीस सत्ताइस हुँदो हो । काज किरिया आदि भन्ने कुरा त सायद अझै सोँचेको जस्तो लाग्दैन । कसरी गर्ने ? कोसँग सहयोग लिने ? यी कुरा हामीले मात्र सोँचेको हो । यही सेरोफेरोमा हाम्रो घर थियो भन्ने सम्म पनि थाहा थियो थिएन तर पनि नजिक नजिक पुगेजस्तो लाग्यो र एउटा डेरा खोजे । चौबीस वर्षमा बुटवल धेरै फेरिएको छ ।
तिहारमा सरोजका दम्पत्ति के कारणले हो घरमा गएनन् । पल्लो कोठामा बसेका युवा दैलेख जाने कुरा गरेनन् । कार्की दम्पत्ति र घरबेटी बा तथा उनकी छोरीको सम्बन्ध पारिवारिक जस्तो बनेको छ । तिहारमा घरमा गइएन भने बहिनीको हातको टीका लगाउने कुरा चलेको छ । यद्यपि सरोजलाई यस्ता कुराले खासै छुन्न । पल्लो कोठामा बसेका दैलेखका युवालाई पनि तिहारमा घर नजाने हो भने यतै रमाइलो गर्ने हो बाबु भनेर बाले भनेका थिए । तर, राम्ररी बसउठ भएको छैन । अथवा ती युवा खासै कसैसँग पनि धेरै गफ गर्दैनन् । कोठा खोज्ने दिन जे कुरा भयो त्यत्ती हो । गफ गर्ने मेसो पनि त मिलेको थिएन होला । यता आएर अलि बढी भावुक भएको जस्तो पनि लाग्छ ।
घरबेटी बाकी छोरीले सरोलाई भाइटीकाको तीनदिन पहिले नै तिहारको निम्तो दिइन् । उनकी श्रीमतीलाई भाउजु भन्छिन् । भाउजुलाई पनि निम्तो दिइन् । पल्लो कोठामा बस्ने युवाँंग त्यस्तो हेलमेल भएको छैन । सर भनेर सम्बोधन गर्ने चलन छ अचेल । तिहारको साइनोले होला, दाइ भन्नु पर्ने भयो । उनले दाइ भनिनन् बरु दाजु भनेर सम्बोधन गरिन् । “दाजु तिहारमा घरमा नजाने भन्ने थाहा पाएँ । हाम्रो घरमा तिहार मान्ने हो निमन्त्रणा छ ।” भनिन् । ती युवा कोठामै थिए । बाहिर निस्केर निमन्त्रणा स्वीकार गरे । सेता दाँत देखाएर फिस्स हाँसे र भित्रै पसे । बाँकी दुई दिन, को–को कता गए मेसो भएन । भाइटीकाको दिन सबै जुटे ।
घरबेटी बाको बैठक कोठा सजिएको छ । टीकाको साइत शुरु हुन थोरै मिनेट मात्र बाँकी छ । पाहुनाहरु सबै बरण्डामा बसेर गफ गर्दैछन् । बाको पनि आज फुर्ति बेग्लै त छ । तर, फुर्ति देखिएका छैनन् । सायद खाने पकाउने धन्दामा छन् । उनको मनमा चसक्क हराएको छोराको सम्झना अवश्य आउँछ । तर, छोरीलाई भन्दैनन् । छोरीले भने नदेखेको अनुहार भएकाले चिन्ता छैन । युवाले नेपालको राजनीति बुझेका छैनन् । सरोजलाई गफमा मजा त आएको छैन र पनि शैक्षिक कुराकानीले खुराक पुगेको छ । उनकी पत्नी भने घरबेटी बाकी छोरीलाई सघाउन अर्को कोठामा गएकी छन् । अब सबै कुरा तयार भएको छ । साइतको बेला पनि आयो जस्तो छ ।
कोठाको सजावट भव्य छ । बाको र आमाका जवानीका फोटा भित्तामा सजिएका छन् । छोरीको फोटो अलग्गै सजिएको छ । अरु रमणीय दृष्य भएका फोटा पनि छन् । भुइँमा महङ्गा गलैंचा बिछाइएको छ । मिष्ठान्न त सजाइने नै भयो । सबै प्रशन्न मुद्रामा छन् । अलि थोरै बोल्ने छोरी पनि आज खुलेर बोलेकी छन् । यो वातावरणले ती युवाले पनि रमाइला रमाइला टुक्का निकालेर सबैलाई गललल हँसाउँछन् ।
यस्तैमा टीका लगाउन शुरु भयो । पहिले सरोजलाई लगाइदिइन् । पहिलेदेखि चिनजान भएर होला । अनि दैलेखी युवाको पालो आयो । उनलाई यो संस्कारको बिषयमा थाहा त थियो । पढे–लेखेका मान्छे । तर उनको निधारमा यसरी टीका लगाइएको उनलाई सम्झना सायद छैन । त्यसैले टीका लगाउँदा निधार चिलायो । कस्तो भएँ म ? यस्तै मनमा लागेको होला । ऐना मागे । घरबेटी बाले भित्ताको ठूलो ऐना देखाए । युवा जुरुक्क उठे र ऐनातिर बढे । ऐनाभन्दा पहिले भित्ताका फोटामा आँखा गयो । एउटी महिलाको फोटो हेरे र पुरुषको पनि हेरे । अनि पाँच वर्षको उमेरमा घर छोड्दाको बेलाकी उनकी आमाको फोटो र सँगै बाउको फोटो । उनले ऐना हेरेनन् वा देखेनन् । आमा ‘‘झ्याप्पै फोटोमा अँगालो हाले । एकछिन् त सबै अलमल्ल परे । के भन्ने के नभन्ने ? बा आए र ती युवालाई समाते । “को हो बाबु यो ? चिन्यौ र ?” युवाले यी मेरी आमा र यी मेरा बाबा हो भन्दै गर्दा बाबाको निधारमा रहेको सानो खत नजिकबाट स्पष्टै देखे । “बाबा‘..” बाउ छोराले अँगालो हाले । “सन्ंतोष ‘..?” “हो बाबा म संतोष !”
एकैछिन सबै रोए । कार्की युवक र उनकी पत्नीले आँखाबाट भल फुटालेर रोए । उनीहरुलाई फिल्म हो वा यथार्थ हो ठम्याउनै गाह्रो भयो । एकादेशको कथा जस्तो ‘.। छोरी अर्थात सन्तोषकी बहिनी गरिमा, उनी त झन् भक्कानो फुटालेर रोइन् । र कथाको पर्दा सुरुर्र खस्यो । पर्दा भित्र त कति रोए कति ‘‘।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *