भूतबंगलामा परिणत भए सिनेमा हलहरु

संचालकहरु भन्छन् कालो रातपछि उज्यालो दिन आउला नि !
गौतमबुद्ध सन्देश
भैरहवा, २२ साउन ।

सिद्धार्थनगर ७ जनकपथ निवासी ओम जैसी दिनहुँ काशी सिनेप्लेक्स जान्छन्, दुई करोड रुपैयाँभन्दा बढी लागतमा बनाइएको सिनेमा हल सरसफाई गराउँछन्, माकुराको जालो हटाउँछन्, आरामदायी सीट पुछपाछ गराउछन् र घर फर्किन्छन् । झण्डै डेढ बर्षअघिदेखि उनको दैनिकी यसै गरी बितेको छ । कोरोना महामारी बढेसँगै २०७६ फागुनदेखि बन्द रहेको यस क्षेत्रकै सुविधा सम्पन्न सिनेमा हल अहिले भूतबंगलामा परिणत भएको छ ।
‘हल, उपकरण, सीट सबै नयाँ भएकाले दिनहुँ सरसफाई गराइरहेको छु, नत्र त माकुराको जालो र मुसाको गुँडले बर्बादै हुन्थ्यो’– नेपाल चलचित्र संघका पश्चिमाञ्चल अध्यक्ष समेत रहेका सिनेप्लेक्सका संचालक जैसी भन्छन् । सात बर्षअघि बिशेष जोश जाँगरका साथ शुरु भएको काशी सिनेप्लेक्स संचालक जैसीको मात्र होइन, देशभरका प्रायः सबै सिनेमा हल संचालकको अवस्था उस्तै छ । बैंकको ब्याज तिर्न कर्जा थप्दै तिर्नुपर्ने अवस्था छ, कर्मचारी पाल्नुपर्ने छ र घरपरिवार पनि ।
भैरहवाकै अर्को सिनेमा हल सिद्धार्थ चलचित्र मन्दिरका म्यानेजर गोपाल श्रेष्ठका अनुसार २०७६ चैत्र ५ गतेदेखि बन्द रहेको फिल्म हल संचालन गर्ने कुनै छाँटकाट छैन । ‘हल भूतबंगला बनेको छ, हलभित्र माकुराको जालो, मुसाहरुको रजाई छ भने बाहिर घाँस उम्रिएर खण्डहर बनेको छ । खोइ कहिलेसम्म यो महामारी जारी हुने हो, संचालकहले चलाउने भन्छन् कि बन्द गर्छन्, केहि निधो छैन’– श्रेष्ठ थप्छन् । एक चौकिदारबाहेक अन्य कर्मचारी बिदा गरिएको श्रेष्ठले बताए । आधुनिक सुविधासम्पन्न हलहरुका कारण पुराना सिनेमा हलको ब्यवसाय धरापमा परिरहेकोमा कोरोना महामारीले झनै संकटमा निम्त्याएको श्रेष्ठले बताए ।
बुटवलको सिंह कम्प्लेक्समा मासिक १ लाख ५० हजार भाडामा लिएर भ्यू सिनेमा संचालन गर्दै आएका प्रेमनारायण श्रेष्ठको समस्या पनि उस्तै छ । ‘२०७६ फागुनदेखि बन्द रहेको हल कहिले संचालनमा आउने हो, केहि थाहा छैन’– श्रेष्ठ भन्छन् । झण्डै पाँच करोड लगानी गरेर सामुहिक लगानीमा शुरु गरिएको सिनेमा हल बन्द भएसँगै १५ जना कर्मचारीको रोजगारी गुमेको छ । ‘कोरोना ठीक होला र संचालन गरौंला भन्दै कुरिरहेका छौं’–उनले थपे ।
भैरहवामा काशी सिनेप्लेक्स चलाएका ओम जैसीले दाङ्गको घोराहीमा तीन करोड लगानी गरेर मनकाशी सिनेप्लेक्स शुरु गरेका थिए । २०७६ फागुनदेखि बन्द भएको त्यसको अवस्था पनि उस्तै छ । ‘कोरोना संक्रमण हराउला र संचालन होला भन्ने आसमा छौं’,–उनले भने ।
नेपाल चलचित्र संघका अनुसार देशभरिमा झण्डै दुई सय र पश्चिमाञ्चल क्षेत्रमा ५६ वटा सिनेमा हल संचालनमा रहेका छन् । पछिल्ला दिनहरुमा युटुबमा आउने फिल्मका कारण हलमा सिनेमा हेर्न जाने प्रचलन घट्दै गएकोमा कोरोनाले झन् ठप्पै छ । ‘कतिपय सिनेमा हलहरु त सधैंका लागि बन्द भैसके’ – संघका क्षेत्रीय अध्यक्ष जैसी भन्छन् । पुराना सिनेमा हलले लागत उठाइसकेको भएपनि नयाँ सुविधासम्पन्न हलहरुको लागत उठ्न सकेको छैन । एउटा हलमा दुईदेखि १० करोडसम्म लगानी हुने गरेको छ । ठाउँ अनुसार दैनिक दुई, तीन वा चार शो सम्म फिल्म देखाउने हलहरु डेढ बर्ष यता सुनसान छन् । भूतबंगलामा परिणत भएका हल संचालन हुँदा अटो रिक्सा, किनारा पसल, खाजाघरले राम्रै ब्यापार गथ्र्यो । प्रत्यक्ष रुपमा असर त छ नै अप्रत्यक्ष असर पनि धेरै छ । सिनेमा हलले बिक्री गर्ने टिकटमा सरकारले १३ प्रतिशत चलचित्र विकास शुल्क र स्थानीय पालिकाले ५ प्रतिशतसम्म मनोरन्जन शुल्क लिने गरेका छन् । हल बन्द हुँदा सरकार र स्थानीय निकायको आय पनि गुमेको छ ।
कोरोना महामारीले ब्यवसाय बन्द हुँदा सरकारबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहुलियत लिनेको संख्या धेरै छ । तर, सरकारले मनोरञ्जन दिने भएकाले बिलासिता उद्यम भनेर परिभाषा गरेको छ । ‘बिलासितामा के को छुट ?’ भन्ने सरकारको भनाइ रहेको गुनासो गर्दै जैसी भन्छन्– ‘सिनेमा इण्डष्ट्रिजको प्रमुख समस्या भनेको व्यवसायीहरु हतोत्साही बनिरहेका छन्, अवस्था नाजुक छ ।’
उनले कोरोना प्रभावित सिनेमा ब्यवसायीलाई राहत प्रदान गर्न हल संचालन भएको २ बर्षसम्म चलचित्र विकास शुल्क छुट दिनुपर्नेमा जोड दिए । ‘हामीले पनि त संस्कृतिको जगेर्ना गरिरहेका छौं, सरकार हामीप्रति सकारात्मक नै छैन’–जैसीले थपे ।
आरामदायी सिटहरु, बिशाल हल र उपकरण पुछपाछ गर्दै हरेक दिन कोरोना महामारी अपडेटबारे जानकारी लिने हल संचालकहरु सबैको एउटै आशा छ, कालो रात पछि दिन कसो नआउँला र ? भन्छन् – ‘कोरोना महामारी अन्त्य भएर सब ठीक ठाक भएपछि त कसो नचल्ला र !’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *