कृषिमा आधुनिकीकरण

हामी नेपाललाई कृषिप्रधान देश भनेर चिन्छौं । दुई दशक अघिसम्म ८७ प्रतिशत जनसंख्या कृषिमा निर्भर हुँदै आएकोमा पछिल्लो समय उद्योग, ब्यवसाय र वैदेशिक रोजगारी फस्टाउँदै गएकाले यो संख्या ५५ प्रतिशतको हाराहारीमा झरेको सरकारी तथ्यांकले देखाउँछ । थोरै तथ्यांक तलमाथि भएपनि देशको आधाभन्दा बढी जनसंख्या अहिले पनि कृषिमा निर्भर छ । यद्यपि हामी कृषि उत्पादनमा आत्मनिर्भर हुन सकेका छैनौ । भारत वा तेश्रो मुलुकबाट आयात नगर्ने हो भने हाम्रो चुल्हो बल्दैन भन्दा फरक पर्दैन । सरकारी तथ्यांकका आधारमा प्रति महिना ५ अर्बभन्दा बढीको चामल मात्रै आयात हुन्छ । हामीले खाने हरेक खाद्य वस्तु, तरकारी, मरमसला, फलफुलको हिस्सा आयातबाटै धानिएको छ । अझ पछिल्लो दुई दशकयता त पहाडी तथा उच्च पहाडी क्षेत्रबाट बसाई सर्ने क्रम बढ्दै गएर खेतीयोग्य जमिन बाँझिएका छन् । पुख्र्यौंली घर छाड्न र बैदेशिक रोजगारीमा जान नसक्ने मानिस मात्र कृषि पेशालाई निरन्तरता दिएको पाइन्छ । कृषिमा जे जति जनसंख्या निर्भर छन्, ती सबैले यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने हो भने पक्कै पनि परनिर्भरता घटाउन सकिन्छ ।
हामीले जति नै कृषिलाई व्यवसायीकरण गर्ने भने पनि सरकारले यसलाई उच्च प्राथमिकता दिन सकेको छैन । किसानले समयमा मल, बीउविजन पाउँदैनन्, सिंचाईं सुविधा छैन । मौसमले पनि साथ दिदैन । जसोतसो खेती ग¥यो, लागत उठ्दैन । यस्तै समस्याले पीडित छन् नेपाली किसान । कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउन सके आयात प्रतिस्थापन गर्न सकिन्छ । तर, किसानहरुका उत्पादन भन्दा आयातित वस्तु सस्तो भैदिंदा प्रतिष्पर्धामा जान नसकिने अवस्था पनि छ । यस्तै यस्तै समस्या भोगेको कृषि क्षेत्रलाई मुख्य ब्यवसाय गराउने उद्देश्यले भैरहवाको नेपाल बहुमुखी सहकारी संस्थाले एउटा उदाहरणीय कामको शुरुवात गरेको छ । यस क्षेत्रमै पहिलो प्लाष्टिक घर (टनेल) बनाएर त्यसभित्र मौसमी मात्र होइन बेमौसमी तरकारी फलाउने अभियान शुरु गरेको छ । अन्यत्र ठाउँमा प्रसस्तै प्लाष्टिक घरमा तरकारी खेती गर्ने गरिएको भएपनि यस क्षेत्रमा यो नै पहिलो हो । यसको सफलताले अन्य किसानहरुलाई तरकारी खेतीमा थप प्रेरित गर्ने छ । प्रशस्त जमिन, सिंचाई सुविधा, बजार सुविधा र अन्य संभावना हुँदा हुँदै पनि हामी खाद्यान्न भन्दा तरकारीमा परनिर्भर छौं । आलु, टमाटर, लसुन, प्याज, काउली, बोडी जस्ता तरकारीमध्ये तत्काल लसुन, प्याज छाडेर अरुमा आत्मनिर्भर हुनैपर्छ । अवको एक दशकमा खाद्यान्न र तरकारीमा देशलाई आत्मनिर्भर बनाउन सरकारले अगुवा किसान मात्र होइन सामुहिक खेती प्रणाली शुरु गर्ने समुहलाई सहयोग गरी उत्पादनमा जोड दिन जरुरी छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *