सम्पादकीय: तेस्रो लहरको खतरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुमा अक्सिजन, शैया लगायत आवश्यक पूर्वाधारहरु चुस्तदुरुस्त राख्न यही साउन ७ गते आग्रह ग¥यो । साउन लागेलगत्तै कोरोना संक्रमण दर बढ्दै गएपछि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो । यसअघि नै जनस्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउने संकेत गर्दै तयारी अवस्थामा रहन दुई महिना अगाडि सचेत गराएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा अहिलेसम्म तेस्रो लहर आइनसकेको भए पनि जोखिम भने निकै बढेको देखिएको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पाँच सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला १२ वटा रहेका छन् भने तीन सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरु २४ वटा छन् । पहिलो लहरमा भन्दा दोस्रो लहरमा फैलिएको संक्रमण बढी जोखिमयुक्त देखिएको, संक्रमितहरुमा कडा खालका लक्षण देखा परेको, संक्रमितको मृत्युदर उच्च रहेको देखिएकोले तेस्रो लहर त्यो भन्दा भयानक हुने सजिलै अनुमान गर्न सकिन्छ । विज्ञहरुका अनुसार संक्रमण लामो समयसम्म रहँदा भाइरसले रुप परिवर्तन गरी धेरै क्षति गर्न सक्ने सम्भावना रहेकाले भाइरसलाई जतिसक्दो छिटो समुदायबाट निस्तेज गर्नुपर्छ । महामारीको चरण लामो हुने भएकाले तेस्रो, चौथो र पाँचौ लहर आउनु स्वभाविक भएकाले नियन्त्रणका लागि पूर्व तयारी ढिला भएको बिज्ञहरुले औल्याएका छन् ।
विज्ञहरुका अनुसार कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम भनेको खोप नै हो । तर, सबै जनसंख्यालाई पुग्ने खोप उपलब्ध हुन अझै एक वर्ष लाग्ने देखिन्छ । अहिलेसम्मका अनुसन्धानहरुबाट १८ वर्ष भन्दा बढी उमेरका मानिसलाई मात्र खोप बनेको छ । तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने संभावना रहेको तथ्यहरु सार्वजनिक भएका छन् । पहिलो चरणमा वृद्धवृद्धा र दोश्रोमा युवाहरु बढी प्रभावित भएका थिए । बालबालिकाहरुका लागि खोप बनिनसकेको हुँदा जोखिम न्युनीकरणका लागि उच्च सतर्कता नै एक मात्र विकल्प हो । संक्रमण भइ हाले राम्रो उपचारको व्यवस्था र संक्रमण फैलिन नदिन स्वास्थ्य सम्बन्धि सुरक्षा मापदण्डको पालना नै आवश्यक देखिएको छ । महामारी जुनसुकै चरणमा पुगेपनि पूर्वतयारी र भाइरसलाई नियन्त्रण गर्ने प्रयास नै महत्वपूर्ण हुन्छ । निषेधाज्ञा खुलेसंगै समुदायस्तरमा रहेको संक्रमण नियन्त्रण गर्न र निस्तेज पार्न सरकारले कुनै भूमिका खेलेको पाइँदैन । यसले ठूलो क्षति हुन सक्ने सम्भावना छ । अस्पतालमा आएका बिरामीलाई मात्रै उपचार गरेर महामारी नियन्त्रण हुन नसक्ने देखिइसकेको छ । समुदायस्तरमा परीक्षणसंगै सचेतना र प्रशिक्षण कार्यक्रम गर्नैपर्ने देखिएको छ । गाउँगाउँमा ब्यापक परीक्षण, जोखिम देखिएका ठाउँहरुमा यससम्बन्धि सचेतना, मास्क, सेनिटाइजरको प्रयोगमा कडाई र खोप अभियान प्रभावकारी गराउन सकिएन भने भोलि नसोचेको अवस्था सृजना नहोला भन्न सकिन्न ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *