कथा: गौरी

गुरुदत्त ज्ञवाली

आनन्दले अनलाइनका लघुकथाहरु पढ्दै थिए । एउटा कथामा पुगेपछि उनका आँखा टक्क अडिए । उनले सररर पढे । मन छोयो । त्यसपछि उनले ती कथाकारका अरु कथा पनि पढ्दै गए । कथाहरु सरल भाषामा लेखिएका राम्रा थिए । राम्रा त थिए तर कतिपय कथा अलि प्रेममय । श्रृंगारिक साहित्य आफैमा एउटा विधि हो । यसको आफ्नै महत्त्व छ । आनन्द छ । पाठकको रुचि अनुसार उनीहरुको दृष्टिकोणमा समेत भर पर्छ । आनन्दललाई लाग्यो कथाकारले अझ विचारप्रधान कथा लेखेको भए हुने । निजी विचार हो उनको । अनि कथाकारलाई थोरै सुझाव दिउँ भन्ने लाग्यो । र, कथाकारको फेसबुक सर्च गरे । नाम थियो गौरी ।
एकछिन् उनी अल्मलिए । भनुँ कि नभनुँ भयो । मेसेञ्जर खोले र सिधै सुझाव लेखे । उनलाई के मन भएछ कुन्नि ? पोस्ट गरेनन् । मेटे । पुनः हिम्मत गरे र भने, “नमस्कार, मैले तपाइँलाई चिनेको त छैन तर फेसबुकमा तपाइँका साहित्य सिर्जना राम्रा देखेर सम्पर्क गर्न मन लाग्यो ।” मेसेज हेरिन् गौरीले । आनन्दले गौरीलाई मेसेन्ञ्जरबाट यो सन्देश पठाए पनि जवाफ झट्ट आएन । धेरै बेरपछि गौरीले प्रशन्नता व्यक्त गर्दै भनिन्, “धन्यवाद सर, समान्य प्रयास गरेकी छु, राम्रो मानिदिनु भएकोमा खुसी लाग्यो ।” “कहाँ हुनुहुन्छ, यहाँको परिचय पाउन सक्छु ?” आनन्दको प्रस्तावलाई उनले सहजै स्वीकार गरेर परिचय दिँदै भनिन्, “मेरो घर नेपालको इटहरी बजारमा हो र हाल सिडनीमा छु ।” “सिडनीको कुन ठाउँमा हुनुहुन्छ, मैले जान्न सक्छु ?” आनन्दले थप जिज्ञासा राखे । उनले आफू मिन्टुमा रहेको जानकारी दिइन् ।
अष्ट्रेलियाको सिडनीमा धेरै नेपालीको बाहुल्य छ । अझ मिन्टुमा त झन् नेपालीहरुकै बस्ती छ । त्यहाँ शिवालय लगायत धेरै मन्दिरहरु छन् । नेपाली भाषा संस्कृति तथा नेपाली सभ्यता जिवन्त छ । आनन्दले आफू एकपटक अष्ट्रेलिया गएको र मिन्टुमै पुगेको कुरा पनि गरे । यस कुराले गौरी र आनन्द अलि नजिक भए । त्यो दिन आनन्दले आफ्नो परिचय खासै दिएनन् । यस्तो पनि भयो होला, गौरीले नै आनन्दको परिचय माग्न संकोच मानिन् ।
भोलिपल्ट, गौरीको लेखनशैलीको बारेमा आनन्दले केही आलोचनात्मक टिप्पणी गरे । कारण थियो, गौरीले लघुकथा बढी लेख्थिन् । उनको लेखनमा भावनात्मक इमान्दारी थियो । परिकल्पना पनि प्राकृतिक थियो । तर, उनको भावनालाई कतिपय पाठकले अन्यथा बुझ्न सक्थे । परिपक्व समाजको नजरमा अन्यथा अर्थ लाग्ने हुन सक्थ्यो । गौरीकै जीवनस्तरमै पनि ब्यक्तित्व स्थीर नरहन सक्छ भन्ने लाग्यो आनन्दलाई । र, उनले अलि विचारप्रधान कथा लेख्न सुझाव दिएका हुन् । त्यस सुझावले गौरी अवश्य रिसिने छन् भन्ने पनि लागेको हो । गौरी रिसाइनन् बरु सहर्ष स्वीकारिन् । सकारात्मक रुपमा लिइन् आनन्दको सुझावलाई । त्यसै कारणले पनि उनीहरु फेसबुकको भाषामा साथी साथी भए । साथी बन्ने अनुरोध गौरीले नै गरिन् ।
शुरुको अलिदिन उनीहरुका सर र मेडमबाट सामान्य वार्ता भएका थिए । वार्तामा निकटता र व्यवहारमा अभिभावकत्व देखेपछि गौरीले सर भन्ने सम्बोधनलाई गरुङ्गो मानिन् सायद । आनन्दलाई दाजु भन्ने प्रस्ताव राखिन् । प्रस्ताव सदर भयो र दाजु बहिनीको हैसियतबाट कुरा हुन थाले । कुरा साहित्यकै भए । सिर्जनाकै भए । गौरीले क्रमश ः उनको लेखनशैली अलिकति बदल्दै गइन् ।
सामाजिक दृष्टिले चेतनायुक्त तथा बौद्धिक दृष्टिले पनि उच्चस्तरका लघुकथाहरु आउन थाले गौरीका । यसो भन्दैगर्दा उनका अधिकांश रचना राम्रै थिए । यदाकदा थोरै मात्रामा पनि कमजोर रचनाले पूरा अस्तित्व माटोमा मिल्न जान्छ भन्ने आनन्दको सुझाव हो । यस कुराले आनन्द अझै आनन्दित भए । दुबैजनाको लेखनशैली वा लेखनको प्रवाह मिलेकोले होला, उनीहरु अझ निकट भए । आनन्द, उनी पनि कथा लेखनमा रुचि राख्छन् । यसो पनि होला, उनीहरुको रुचि मिल्यो । यो क्रम चलेकै थियो ।
अलिदिन उनीहरु बोलेनन् अर्थात् कुराकानी गरेनन् । गौरीको मनमा कुरा गरुँ गरुँ लागेको हो, हिम्मत आएन । “मन नपराउने पो हुन्न् कि ? आनीबानी कस्तो छ ?” गौरीको मनमा यस्ता कुरो खेल्दैगर्दा उता आनन्दको अवस्था पनि उस्तै रह्यो । “परदेशको कुरो, फरक सभ्यतामा बसेकी मान्छे, धेरै बोल्न नहुने पो हो कि ?” तै आनन्दले नै आँट गरेर भने, “बहिनीलाई एउटो कुरो सोधुँ सोधुँ लागेको थियो, रिसाउनु पो हुन्छ कि ?” आनन्दको कुराले गौरीको मन तरङ्गित भयो । उनले खोजेको कुरो भयो । “हजुर दाज ु; किन रिसाउनु, भन्नुस् न के कुरो हो ? अनि नि ! म बहिनी, बहिनीलाई तिमी भन्नुभएको खुसी लाग्छ मलाई । तिमी भन्नुहोस् ।” आनन्दले गौरीलाई तिमी भन्न थाले ।
उनीहरुको सम्बन्ध दाजु बहिनीको रुपमा भयो । कुरा भने साहित्यकै बिषयमा हुने गरेको थियो । कथा, कविता तथा अन्य फुटकर रचनाकै विषयमा सिमित थिए कुराकानी । यस्तैमा आनन्दले गौरीसँग सोधे, “पारिवारिक कुरा सोध्न हुन्छ कि हुन्न कुन्नि ?” “हुन्छ नि दाजु, किन नहुने ? कुरा गर्दैमा के पो फरक पर्छ र ?” यसरी उनीहरु आपसमा कुराकानी गर्न थाले । गौरीका दुई सन्तान, ठूलीचाहिँ छोरी र सानो छोरा । छोरी नर्सिङ्गमा ब्याचलर गरेकी । उनी सिडनीकै कुनै अस्पतालमा काम गर्दैरहेकी छन् । छोरो डक्टर पढ्दै, एम.बी.बी.एस.मा अन्तिम वर्ष रहेछ । “श्रीमान नि ?” आनन्दले थप जिज्ञासा राखे । गौरीले भनिन्, “उहाँ र म मिन्टुमा सँगै छौँ । छोराछोरीहरु कहिलेकाहीँ मात्र आउँछन् । हाम्रो व्यापार छ सानो । श्रीमान अलि अस्वस्थ हुनुहुन्छ ।” त्यसैदिन आनन्दले आफू बुटवलमा बस्ने भन्ने कुरा गरे । उनी बुटवलमा रहने कुरा गौरीले फेसबुकको प्रोफाइल हेरेर अनुमान गरेकी थिइन् जो यथार्थ रहेछ ।
त्यो दिनको कुरो सकियो । कुरो सकियो तर भानात्मक स्नेहको तरंग फैलियो मनमा । आनन्दको मनमा गौरीका पतिको अस्वस्थता कस्तो खालको होला भन्ने खुल्दुली उत्पन्न भयो । उनको चाहना हो, उनी स्वस्थ होउन् । गौरीको पारिवारिक जीवन सुखद होस् । उनले गौरीलाई फोन गर्न खोजे तर सम्पर्क हुन सकेन । अनि मेसेन्जरमा लेखेर छोडे । गौरी अफलाइनमा थिइन् । त्यो दिन गौरीले मेसेन्जर खोलिनन् । आनन्दलाई अलि बेचैन पनि भयो ।
अर्कोदिन गौरीले यसरी जवाफ दिइन्, “उहाँ गाडी दुर्घटनामा पर्नु भएको हो । हाल दुवै खुट्टा चल्ने अवस्थामा छैनन् । उपचार जारी छ । सम्भवतः जीवन बैसाखीको सहारामा चल्छ । अरु स्वास्थ्य ठीक छ ।” त्यस कुराले आनन्द अलि चिन्तित भए । घँुडाभन्दा तलको समस्या भएकोले त्यति ठूलो समस्या नभएको कुराले मन बुझाए । गौरीको परिवारले फूलको व्यवसाय गर्दारहेछन् । फूल स्थानीय मन्दिरमा पूजाको निमित्त खपत हुन्थ्यो । नाफा प्रयाप्त हुनेहुँदा व्यापार सन्तोषजनक थियो । यी कुरा गौरीले नै जानकारी गराएकी थिइन् ।
समयक्रमले आनन्द अलि ब्यस्त रहे । उनले गौरीसँग सम्पर्क गर्न पनि भ्याएनन् । उनलाई लाग्यो, फेसबुकै सम्बन्ध न हो ! कुनै आफ्नै बहिनी, आफन्त वा कुनै गहिरो सम्बन्ध भएकी मान्छे होइनन् गौरी । न कुनै बासनामय प्रेम प्रसंगको कुरो हो । मौकामा यसो गफगाफ गरौँला नि !” तर, धेरै दिनसम्म उनीहरुको सम्पर्क हुन सकेन । यता अनलाइन पत्रिका तथा समाजिक सञ्जालमा गौरीका रचना आएको पनि देखिएन ।
लिभरपुलबाट फर्कँदा श्रीमान, श्रीमती र साथमा छोरी समेत भएकी एउटा जोडी मिन्टु पस्यो । त्यहाँबाट उनीहरुले सानो मन्दिर किनेर लैजानु पर्ने थियो । मन्दिर भन्नाले घरको पूजाकोठीमा राख्ने काठको मन्दिर । मिन्टुमा कुनै नेपालीको सानो उद्योग छ । त्यहाँ सानो आकारका कलात्मक मन्दिर बन्छन् । त्यो जोडीले एउटा चिटिक्कको मन्दिर किने । र, गाडीमा राखेपछि उनीहरु स्थानीय मन्दिरतर्फ लाग्ने सुर कसे । मन्दिरतर्फ जाँदा फूल प्रसाद चढाउने संस्कार अनुसार उनीहरु त्यसतर्फ लागे । मन्दिर किनेको स्थानदेखि अलिपर फूलघर थियो । फूल किन्दैगर्दा आपसमा परिचय पनि भयो ।
फूलवाला, देख्दा गोरा, खाइलाग्दा, उमेर त्यस्तै पैँतालीसको हाराहारी देखिने, शारीरिक अपांगता, खासगरेर खुट्टा कमजोर, बैसाखीको सहाराले हिँड्ने, उनैले सोधे, “बाबु यहाँ कहाँ बस्नुहुन्छ ?” “पेन्सस” युवकले छोँटो जवाफ दिए । नेपालमा कहाँ नि ? उनले फेरि सोधे । “बुटवल” युवकले छोँटै जवाफ दिए । फूलवालाको साथमा एउटी महिला पनि थिइन् । देख्दा चालीसको सेरोफेरोकी जस्ती । फुर्तिली, सुन्दरताको हिसाबले राम्री पनि । हँसिली तथा फरासिली उस्तै । उनले सोधिन्, बुटवलको कुन ठाउँमा हो यहाँको घर ? युवकले आफ्नो घर बुटवलको लक्ष्मीनगर बताए । कुरै कुरामा उनले आनन्दको बिषयमा सोधिन् । कुनै बेला विद्यार्थी अवस्थामा उनी मेची–महाकाली भ्रमणमा गएकी । बुटवलको सिन्दूर होटलमा बास बसेको कुरा गरिन् । संयोग, ती युवक आनन्दका छोरा रहेछन् । साथमा आनन्दकी बुहारी र नातिनी । उनै महिला गौरी थिइन् ।
त्यस कुराले उनीहरुको सामिप्यता बढ्यो । आनन्द र गौरीको कसरी सम्बन्ध भयो भन्ने कुरा गौरीले खुलस्त पारिन् । गौरीले यो पनि भनिन् कि आनन्दलाई उनले दाजु मानेकी छन् । एकैछिनका कुराकानीले गौरी ती युवककी फुपू दिदी भइन् । युवक गौरीको भदा । युवक, उनको नाम हेमन्त हो । त्यसै सम्बन्धको कारणले गौरीले फूलको पैसा लिइनन् । कुराकुरामा गौरीका पतिको अपांगताको बारेमा कुरा चल्यो । शंकर, गौरीका पतिको नाम । गौरीको मनमा एउटा पीडा मनमा जलेर बसेको थियो, शंकरको उपचारको कुरो । उनले त्यो कुरो पनि खोलिन् । शुरुमा थोरै बोल्ने जस्तो देखिने हेमन्त, अब खुलेर बोल्न थाले । शंकरका खुट्टा गाडी दुर्घटनाले त्यो हालत भएको र अष्ट्रेलियामा त्यसको उपचार गर्न सरकारी सुबिधा बाहेक पनि करीब नेपाली मुद्रामा पच्चिस लाख लाग्ने कुरा भए ।
भोलिपल्ट, हेमन्तले बुवालाई फोन गरेर मिन्टुकी गौरीसँग भेट भएका कुरा गरे । साथै उनका पति शंकरको अपांगता एवं उपचारको बिषयमा पनि खुलस्त पारे । गौरीको विषयले आनन्दको मन प्रफुल्ल भयो । अनि भने, “अँ, भन् बाबु, शंकरको उपचारको बिषयमा कस्तो अवस्था हो र मैले के गर्न सक्छु ?” हेमन्तले शंकरको अवस्थाको बारे सबै बताउँदै भने, “लागेको खर्च गौरी दिदीले गर्नुहुन्छ । हजुरले यो उपचार बुटवलमा सम्भव छ वा छैन, छ भने कति खर्च लाग्छ यही सहयोग गरेमात्र पुग्छ बुवा ।” अनि उनले शंकरको मेडिकल रिपोर्ट पनि बुवालाई इमेलबाट पठाए ।
आनन्दले उनको साथी डक्टर मोहनलाई फोन गरे । मोहनसिंह अर्थोका डक्टर हुन् । त्यसपछि उनी सरासर मोहनको क्लिनिकमै गएर शंकरको स्वास्थ्य अवस्थाको कुरा गरे । शंकरको मेडिकल रिपार्ट अनुसार त्यहीँबाटै उपचार सम्भव हुने कुरा पनि डा. मोहनले गरे । “कति खर्च लाग्ला मोहनजी ?” आनन्दले जिज्ञासा राखेका थिए । डा. मोहनले, “खाने बस्ने खर्च कसरी गर्नुहुन्छ तपाइँले आफै जान्नुस्, यहाँको खर्च करीब पाँच÷सात लाख लाग्ला जस्तो लाग्छ, बिरामीलाई नहेरिकन यसै भन्न सकिन्न, तपाइँकी बहिनीकै कुरो होभने सक्दो सहुलियत गरौँला” भने । यसको मतलव सात लाख करीबमा शंकरको उपचार हुने देखियो । त्यसै अनुसार आनन्दले छोरा हेमन्तलाई जानकारी दिए । हेमन्तले गौरीसँग सबै कुरा गरे ।
गौरीको कलम अचेल बन्द छ । उनी, उनका पति शङ्करको उपचारको बारेमा चिन्तित छन् । अब भने उपचारको बन्दोबस्त हुने देखियो । उता आनन्द र गौरीको सञ्चार सम्बन्ध दुबैजनाको ब्यस्तताको कारणले हुन सकेको थिएन । आनन्दको मनमा गौरीलाई बहिनी मानेको भएता पनि कुनै साहित्य सिर्जनाको सन्दर्भ नभइकन बिनाकाममा किन गफ गर्ने भन्ने लागेको थियो । शुभबिहानी र शुभरात्रिका बहानामा काम न काजका फतुरा तानेर गफ हाँक्ने बानी आनन्दको थिएन ।

अतिरिक्त बिषयमा वैचारिक छलफल गर्ने रुचि गौरीमा थिएन । न त कुनै आदर्श वा दर्शनका कुरा गौरीले बुझ्दथिन् । राजनीतिका घुमाउरा कुरामा पटक्कै चासो थिएन । प्रेमिल कथा लेखनको बिषयमा अनन्दले कडा टिप्पणी गरेपछि त्यसलाई सोझ्याउन उनलाई हम्मे हम्मे परेको थियो । तै तीक्ष्ण दिमागकी उनले छिटै मनमा क्रान्ति ल्याइन् । बिगतमा आनन्दको सुझाव अनुसार गौरीले उनको कथालेखन कलामा निकै सुधार गरिन् । फलस्वरुप उनले एउटा कथासङ्ग्रहको प्रारुप तयार गरिन् । उक्त कथासंग्रहको प्रूफरिडिङ्ग गर्न पनि आनन्दलाई जिम्मा दिने मानसिकता बनाएकी थिइन् । शङ्करको उपचार समेत आनन्द मार्फत हुने देखिएपछि उनले आनन्दलाई फोन गर्ने कर्तब्य नै भयो ।
त्यसको भोलिपल्ट, गौरीको मोबाइलमा किरिर्र घण्टी बज्यो । गौरी फूलमाला बेच्नमा ब्यस्त थिइन् । पहिलो राउण्डको घण्टी उठाउन फुर्सद भएन उनलाई । शंकर नजिकै थिए । उनी त्यति व्यस्त पनि थिएनन् । तर, गौरीको फोन उठाएनन् । श्रीमान श्रीमती भएर पनि अर्काको फोन उठाउने चलन थिएन त्यतातिर । यहाँसम्म कि मोबाइल समेत छुन पाइन्नथ्यो । आनन्दले पुनः फोन गरे । दोस्रो फोन पनि उठेन । आनन्दले तेस्रो पटक पनि फोन गरे, गौरी आफ्नो काम छोडेर फोन उठाइनन् । उनले आनन्दको फोन भन्ने कुरा अलिकति पनि अन्दाज गरिनन् । अबभने आनन्दको मनमा कुरा खेल्न थालेका थिए । त्यस्तैमा गौरीको फोन आयो ।
“हजुर दाजु, म अलि ब्यस्त भएँ, अलि गम्भीर अवस्थामा पनि रहेँ । सम्पर्क गर्न सकिन ।” आनन्दले सुन्दै गए गौरीका कुरा । “मन दुखाएकी होइन दाजुु । हेमन्तसँग सबै कुरा गरेँ । हजुर, आभारी छु दाजु । हामी आउछौँ । खुसी छु ।” गौरी बोलेका कुरा । आनन्द बोलेको आवाज सुनिएन । गौरीका अनुसार शङ्करको उपचारको निम्ति बुटवल जाने कुरा भयो । कथासङ्ग्रहको बारेमा भने फोनमा कुरा भएनन् । पतिको उपचार जस्तो महत्वपूर्ण विषयको अगाडि अरु कुरा गरेर आनन्दलाई बोझ थप्न पनि चाहिनन् । तर, उनले प्रकाशोन्मुख पुस्तकको पाण्डुलिपि आनन्दलाई इमेल गरिन् । इमेल गर्दैछु भन्ने कुरा पनि फोनमा भनिनन् ।

फागुन महिना थियो । गौरी र आनन्दका फोनवार्ता हुँदै गर्थे । उता हेमन्तसँग पनि सरसल्लाह भएको थियो । त्यसै अनुसार गौरी, शंकरको उपचारको निमित्त नेपालतिर लाग्ने तयारी भयो । त्यसभन्दा पहिले उनले हेमन्तको निवासमै गएर सबै जानकारी लिइन् । हेमन्त र उनकी श्रीमतीले आमालाई भनेर केही उपहार पठाए । हेमन्त र गौरीको परिवारमा एकप्रकारको निकटता कायम भएकै थियो । त्यस्तै गौरीले पनि भाउजुलाई भनेर अलिकति श्रृंगारका सामग्री किनिन् । उनले आनन्दको लागि पनि कुनै उपहार लैजाउँ कि भन्ने लागेको थियो । हेमन्तले त्यो कुरो थाहा पाए । हुनसक्छ, उनीहरुको आपसमा कुराकानी भएको थियो । हेमन्तले भने, “बुवालाई कुनै उपहार दिएर गुन लगाउन खोजेको जस्तो हुन्छ । उहाँले मन पराउनु हुन्न । त्यसैले कुनै उपहार नलैजानु होला दिदी ।”
गौरी र शंकर सिडनीबाट स्थानीय समयानुसार बिहानको आठ बजे उडे । एयरपोर्टसम्म हेमन्त नै छोड्न गएका थिए । अष्ट्रेलियन एयरलाइन्सको बिमानबाट आठ घण्टामा उनीहरु सिंगापुर पुगे । सिंगापुरमा पाँच घण्टाको ट्रान्जिट रह्यो । त्यसपछि सिंगापुर एयरलाइन्सबाट पाँच घण्टामा काठमाण्डौ उत्रे । समय हिसाब गर्दा बिहानको आठ बजे चढेको, उसैदिनको साँझको नौ बजे काठमाण्डौ । जम्मा तेह्र घण्टा । “सिंगापुरमा बसेको पाँच घण्टा कता हरायो ? देसान्तरको कारणले पारेको समयान्तर ।” गौरी र उनका पतिले आपसमा गफ गरे । उनीहरु त्यो रात काठमाण्डौको कुनै लजमा बसे । अर्कोदिन बिहान, गौरीका जोडी हवाइमार्ग हुँदै भैरहवा पुगे । भैरहवा विमानस्थलमा आनन्द र उनकी छोरी पुगेका थिए । गौरी र शंकरसहित सरासर उनीहरु बुटवलको सिन्दूर होटलमा पसे ।
खानपीन पछि उनीहरु शंकरको उपचारको निमित्त अस्पतालमा गए । डा.मोहन त्यहीँ थिए । उनैले बिरामीलाई जाँचे । जाँचेपछि उनी एक्लै मुसुक्क हाँसे र प्रशन्नताको टाउको हल्लाए, बोलेनन् । “कस्तो अवस्था छ डा’टसाहेब ?” आनन्दले मौनता भंष् गर्दै सोधे । के जवाफ दिन्छन् डाक्टरले भन्ने उत्सुकता गौरीको मनमा पनि थियो । डक्टरले भने, “सामान्य अवस्था छ तर एकहप्ता भर्ना हुनुपर्छ । पुरै ठीक हुन्छ ।” अरु धेरै कुरा बोलेनन् । बिरामीलाई त्यसैदिन भर्ना गरियो । उपचार खर्चबारे थप कुरा भएनन् ।
बिरामीलाई भर्ना गरेपछि गौरी एक्लै होटलमा बस्ने कुरा भएन । कुरुवा बस्नुपर्ने अवस्था पनि भयो । अनी भएको झोला झिटी बोकेर आनन्दको घरमा राखे । रातको कुरुवा आनन्दको सानो छोराले जिम्मा लिए यद्यपि अस्पताल प्रशासनले कुरुवा बस्न आवश्यक छैन, अस्पतालले हेर्छ भनेको थियो । यसको मतलव गौरीले रातमा बिरामी कुर्नु परेन । दिउसोमा मात्र उनले हेर्ने भइन् । त्यसो त दिउसोमा आनन्दका परिवार समेतले साथ दिन सक्थे । यसकारणले आनन्दको परिवार अस्ट्रेलिया देखि बुटवलसम्म नै पारिवारिक वतावरणमा अझै नजिक हुन पुगे । गौरी, आनन्दको परिवारसँग एकैदिनमा झिम्मिइन् ।
त्यो साँझ गौरी र आनन्दको परिवारमा सामान्य गफ मात्र भए । अरु कुनै गफ भएनन् । थाकेकी र मानसिक तनावको कारणले गौरी बेलैमा सुतिन् । उनको मनमा एकप्रकारको आनन्द महसुस भएको थियो । पतिको उपचार हुन पाउनु सबैभन्दा ठूलो सन्तोष थियो । आनन्दका परिवारले सहयोग गर्नु अझै ठूलो कुरो लाग्यो । उनले सच्चा माइती भेटाइन् । यो यस कारणले पनि महत्त्व भयो कि गौरीको माइती कोही थिएनन् । टुहुरी नातिनी मावलमा हुर्केकी । मावलका हजुरबा आमाले पाले हुर्काएका । मामाहरुको स्नेह पाएकी । उनका बाबा आमा, उनी सानै छँदा गाडी दुर्घटनाबाट बितेका, एक्ली छोरी । न दाजु भाइ, न त दिदी बहिनी । यी सबै कुरा सम्झँदा ढक्क मुटु फुलेर आयो । रोइन् उनी ।
बिहानी गौरी सबेरै उठिन् । लगभग नन्द भाउजु सँगै उठे । आनन्दकी छोरी सुतेकै थिइन् । आनन्द बिहानै उठेर अस्पतालमा छोरालाई पालो दिन गए । त्यसैदिन शङ्करको अप्रेशन गर्ने तयारी पनि हो । गौरी र भाउजुले मिलेर नित्यकर्म सके । अनि चिया खाँदै गर्दा गौरीले भाउजुलाई भनेर ल्याइदिएको उपहारको पोको खोलिन् । “भाउजु हेर्नुस् त, हजुरलाई शृङ्गार सामग्री ल्याइदिएकी छु ।” भाउजुले खोलेर हेरिन् । हुन त लिपिस्टक, चिपिस्टक, क्रीम, नङपालिश आदि यस्तै यस्तै सामान थिए । तर, भाउजु निकै खुसी भइन् । संयोग, भाउजुका अरु दिदी बहिनी छैनन् । न त नन्द आमाजु नै । बनेकी नन्द, उनलाई साख्खै नन्द भएको अनुभूति भयो । हर्षका आँसु झारिन् भाउजुले । अनि गौरीले आनन्दको सानो छोरालाई मोबाइल ल्याइदिएकी, उ पनि खुसी भयो । छोरीलाई भने अलि फर्माएर ल्याइदिइछन् । लुगा, मोबाइल, सेण्डिल र अरु अरु धेरै । हेमन्तले पठाएको सामान भने गौरीले हिजो साँझ नै बुझाएकी थिइन् ।
भात खाएपछि गौरी, भाउजु लगायत सबै अस्पतालमा गए । बिरामीसँग सामान्य भेट भयो । त्यसपछि अप्रेशन थियटरतिर लगे । त्यसै अवधिमा गौरीका छोरा र छोरीको फोन आयो । गौरीले सबै कुरा बताइन् । छोराको पढाइको कारणले आउन नसक्ने कुरा गरे । छोरी भने बुटवल आउने तयारीमा रहेको कुरा गरिन् । “बुवाको अप्रेशन भएपछि कस्तो अवस्था हुन्छ, अनि आउनु ।” गौरीले भनिन् । छोरी उनकी आमा गौरीको फोनको प्रतीक्षामा बसिन् ।
तीन घण्टापछि शङ्करको सफल अप्रेशन भएको खबर आयो । डक्टर मोहनले आनन्द र गौरीको सामु खुसी ब्यक्त गर्दै भने, “अप्रेशन त जटिल नै हो तर सफलतापूर्वक सम्पन्न भयो । जहाँसम्म बिरामी पुरानै अवस्थामा आउने सम्भावना छ ।” सबैजना खुसी भए । गौरीको त झन खुसीको सीमा रहेन । त्यसपछि गौरीले छोरीलाई सबै कुरा गर्दै, “छोरी, तिमीले दुःख नपाउ । आाउनु पर्दैन । यहाँ सबै सुबिधा र सहयोग पाएकी छु ।” भनिन् । एउटा दुःखद अवस्थाको अन्त्य भयो गौरीको ।
बिरामीलाई विशेष कक्षमा राखिएको हुनाले त्यो रात कुरुवा बस्नु परेन । सबै प्रबन्ध अस्पतालकै जिम्मामा रहने भयो । त्यसै साँझ गौरीले आनन्दलाई भनिन्, “दाजु, बिरामीको उपचार पहिलो प्राथमिकता भएको हुनाले मैले केही भन्न सकेकी थिइन । मेरो कथासङ्ग्रहको बारेमा मेल गरेकी थिएँ । कथाबारे के कस्ता छन्, सम्पादन तथा प्रकाशनको जिम्मा हजुरलाई दिएकी छु ।” आनन्दले मेल खोलेर हेरिसकेका रहेछन् । उनले भने, “साना ठूला गरेर बीसवटा कथा रहेछन् । तीनवटा कथामा शीर्षक मिलेका छैनन् । उपयुक्त शीर्षक मिलाए मात्र पुग्छ । एउटा कथामा अलि बढी सम्पादनको खाँचो छ । र, बीसौँ कथा …।” उनी अलमलमा परे । भनुँ कि नभनु भयो उनलाई । “भन्नुस् न दाजु । के भयो एउटा कथा ?” गौरीमा कौतुहलता जाग्यो ।
गौरीको बीसौँ कथा, कथाको नियमले ठीक छ । कलात्मक पनि । तर, बढी शृङ्गारिक । बढी प्रेममय । चरित्र वा स्वभावका दृष्टिले गौरीसँग खासै नमिल्ने । त्यस कथाको भावना र गौरीको भावनामा थोरै भिन्नता पनि । कुन मुडमा लेखिन् थाहा भएन । आनन्दलले भने, “यो कथा अरु कथाभन्दा फरक छ । तर, तिम्रो इच्छामा मैले हस्तक्षेप गर्नु हुँदैन । यसलाई अलिकति मिलाउनु पर्छ भन्ने लागेको छ । औसतमा अरु कथाहरुको जस्तो दृष्टिकोण स्पष्ट हुनु जरुरी देखिन्छ ।” आनन्दको भनाइमा गौरी सहमत भइनन् । उनले शब्दले त केही बोलिनन् तर अनुहार बोल्यो । “सामान्य हेरफेर गरेपछि त्यो कथा पनि सदर हुन्छ ।” आनन्दले दोहो¥याएर भने । सम्पादनको जिम्मा आनन्दको हातमा गयो ।
एकहप्ता सम्म कथाको बिषयमा गौरी बोलिनन् । फुर्सद पनि भएन र आवश्यकता पनि परेन । एकहप्तापछि आनन्दले कथा सम्पादन गरेर सके । उता शङ्कर पनि अस्पतालबाट डिस्चार्ज हुनेबेला भयो । अन्तिम दिन अस्पतालमा भएको खर्चको हिसाब निस्क्यो । आनन्द, गौरी र डक्टर मोहन सँगै थिए । आनन्दकी बहिनी भनेर अलिकति डिस्काउन्ट समेत गरे मोहनले । यसरी जम्मा दुईलाखमा उनीहरु उम्के । यस कुराले गौरी निकै प्रशन्न भइन् । बाँकी एकहप्ता आनन्दकै घरमा आराम गरे बिरामीले । सोह्रौँ दिनमा शंकर बिना बैसाखी हिड्नु पर्ने बाटोमा विस्तारै हिँडेरै अस्पताल सम्म गए । साथमा गौरी र आनन्द थिए । शंकरको स्वास्थ्य ठीक देखियो ।
“झरना कथासंग्रह” गौरीकी छोरी झरना । छोरीको नामबाट कथासङ्ग्रहको नाम राखिन् उनले । बीसौँ कथाको टुंगो लागेको थिएन । आनन्दको मन पनि रमाएको थिएन त्यस कथाको बारेमा । आनन्दले गौरीलाई सोधे, “के गराँै, राखिदिउँ ?” गौरी बोलिनन् । उनले मनमनै सोचिन्, “के खराबी छ यो कथामा ? न कुनै असभ्य शब्द छन् । न कुनै प्रेम प्रसंग छ । छ त केवल साथी साथीका गफ छन्, आत्मीय गफ । त्यत्ति हो, साथी पुरुष र महिला छन् । यो कुरा किन पचेन दाजुलाई ?”
गौरीको भावना बुझे आनन्दले । र, सामान्य हेरफेर गरेर त्यो कथा पनि सदर भयो । त्यसपछि त्यो पुस्तक उसैदिन सेटिङ्गमा गयो । गौरी, उनका पति शङ्करको सफल उपचार सम्पन्न भएको थियो । उनी अस्ट्रेलिया फर्कने तयारीमा थिइन् । तर, दाजुको आग्रह तथा उनकै रहरमा पनि कथासंग्रह विमोचन गरेर मानसिकता बनेको थियो । तेस्रो हप्ता पनि बस्नु पर्ने भयो । त्यसै हप्तामा पुस्तक छापियो । पुस्तक छापेर सकेकै दिन विमोचन पनि भयो ।
कथाकार गौरीको “झरना कथासंग्रह” विमोचन बुटवलको सिन्दूर होटलको हलमा भएको थियो । धेरै वक्ता तथा पाठकले गौरीको प्रशंसा गरे । समीक्षकले उत्कृष्ट रचना भनेर टिप्पणी गरे । गौरी पनि बोलिन् । उनी अलि भावुक पनि भइन् । रोइन् नै । संयोगले जुरेको सुखद क्षण । उनले आफ्नो मन्तब्यमा सबै कुरा भनिन् । अन्तरमनका सबै सबै कुरा ! उनका कुरा सुनेर त्यहाँ उपस्थित सबैजना भावुक भए । रोए बेस्सरी ।

भोलिपल्ट गौरीका परिवार अस्ट्रेलिया फर्कने दिन । आनन्दको घर गौरीको माइत । दाजु, भाउजु, भदा भदै, कति रमाइलो क्षण ! कति गहन आत्मीयता ! बिदा हुँदैछन् उनीहरु । बिदाइको अवसरमा सबै भावुक भए । गौरी डाँको छोडेरै रोइन् । शङ्कर, उनी पनि भावुक भए । आँसु पुछे रुमालले । भाउजु, उनी अझै भावुक भइन् । रोइन् उनी पनि । धेरै बोल्न सकिनन्, बक्के आएन । यतिसम्म भनिन्, “तीजमा आउनु होला हइ नानी !”
उनीहरु गए । भैरहवा पुगे । जहाज उड्नुअघि बिदाइ हुने बेलामा गौरीले आनन्दलाई भनिन्, “दाजु, बीसौँ कथा जो हजुरले टीका टिप्पणी गर्नु भएको थियो नि ! त्यो कथा दाजुकै सम्झनामा लेखेकी हूँ । क्षमा गर्नु होला ।” गौरीले बिदाइको हात हल्लाउँदै भित्र पसिन् । आनन्दले प्रत्युत्तरको हात त हल्लाए तर गौरीको भनाइको प्रतिकृया जनाउन पाएनन् । “बीसौँ कथा दाजुकै सम्झना …” आनन्द झल्याँस्स भए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *