‘मेडिकल माफिया’ बाट यो सरकार टाढै रहोस् : डाक्टर केसी

साउन ४, काठमाण्डाै – मेडिकल क्षेत्रका अभियन्ता डाक्टर गोविन्द केसीले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले स्वास्थ्य क्षेत्रका समस्या छिटो भन्दा छिटो हल गर्नुपर्ने बताउनुभएको छ ।
नयाँ सरकारले गर्नुपर्ने कामको बारेमा आज साेमवार विज्ञप्ति सार्वजनिक गर्दै डाक्टर केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चलिरहेको आन्दोलनका सबै माग पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुको विकल्प नभएको बताउनुभएको छ । उहाँले प्रतिष्ठानमा जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न माग गर्नुभएको छ ।
यस्तै ओली सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्न खोज्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्न पनि मेडिकल क्षेत्रका अभियन्ता डाक्टर केसीको माग छ ।
कुनै पनि हालतमा वा बहानामा निजी मेडिकल कलेज खोल्न नहुने, आउँदाे शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्ने कुरालाई निश्चित गर्न उहाँको माग छ । यसअघि आफूसँग भएका सबै सम्झौता कार्यान्वयन गर्न पनि डाक्टर केसीको माग छ ।
यसअघिका सरकारहरूले जस्तै यो सरकारले पनि नागरिकको सट्टा सीमित मेडिकल माफियाको हितमा काम गर्‍याे भने जस्तोसुकै आन्दोलनका कार्यक्रम ल्याउन पनि तयार रहेको डाक्टर केसीको चेतावनी रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *