रैथाने शैली जोगाउने प्रयास: कति व्यवहारिक, कति कठिन ?

काठमाडौं, २९ असार ।
२०७२ वैशाखमा गएको शक्तिशाली भूकम्पले मुलुकमा धनजनको ठूलो क्षति मात्रै गरेन बलियो संरचना निर्माणको चेत दिएर गयो । संरचना निर्माणमा पनि परम्परागत कि आधुनिक शैलीको संरचना भन्ने चर्चा शुरु भयो । यसले परम्परागत शैलीको महत्वबारे पनि धेरैले जान्ने, बुझ्ने मौका पाए ।
हुम्ला सिमकोटका विजय लामाले चार वर्षअघि सात करोड खर्चिएर साढे दुईतले आरसीसी भवन निर्माण गरे । हेलिकप्टरमा सिमेन्ट र डण्डी ओसारेर यति खर्चिलो भवन बनाउनुको कारण सोध्दा लामाले भने, ‘काठमाडौंमा भूकम्प आएपछि त्यहाँ पनि भूकम्प जान्छ भन्ने हल्ला चल्यो, सुरक्षित घर बनाउनकै लागि पुरानो घर भत्काएँ ।’
लामाका अनुसार सिमकोटमा अहिले दुई वटा सरकारी कार्यालय र करिब आधा दर्जन यस्ता घरहरू बनेका छन्, जसले ५० किलोको सिमेन्टलाई सात हजार र एक किलो डण्डीको साढे दुई सय रुपैयाँको दरमा खरिद गरेर आधुनिक शैलीको घर निर्माण गरे । अहिले सिमकोटमा पुरानो घर भत्काएर आधुनिक भवन निर्माणको होड चलेको लामा बताउँछन् ।
यो कार्यकालको अन्तिम बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाले पुरानो शैलीमा घर निर्माण गर्ने नगरवासीलाई बम्पर अफर घोषणा गरेको छ । महानगरपालिकाको नयाँ मापदण्ड अनुसार विश्वसम्पदा क्षेत्रमा कुनै मान्छेले पुरानै घर मर्मत गरेर बस्छ भने उसलाई ३२ लाख रूपैयाँसम्म अनुदान दिने कार्यविधि बनाइएको छ ।
यसका लागि महानगरभित्रका बस्तीलाई चार वर्गमा छुट्टयाएर सोही अनुसार अनुदानको शीर्षक तोकिएको छ । जस्तो नयाँबानेश्वर क्षेत्रमा कसैले पुरानो शैलीको घर बनाउँछ भने असन क्षेत्रमा घर बनाउनेको तुलनामा उसले पाउने अनुदान कम हुन्छ । पुरानो डिजाइनको घर निर्माणमा स्थानीयको चासो कम भएपछि यस्तो निर्णय गर्नुपरेको महानगरका अधिकारीहरू बताउँछन् ।
भक्तपुर नगरपालिकाले नयाँ जनप्रतिनिधि निर्वाचित भएको दोस्रो वर्षमा भवन निर्माण मापदण्ड तयार पारेको थियो । जसमा दरबार क्षेत्र वरीपरिका प्राचीन बस्तीमा आधुनिक डिजाइनको घर बनाउनै नदिने उल्लेख छ । मापदण्डले घरको अग्रभाग, झ्याल र छानोमा पुरानो शैली अनुशरण गर्दा लाग्ने शुल्कको ३५ प्रतिशतसम्म अनुदान दिने निर्णय नगरपालिकाले गरेको छ ।
मूल शहरबाहिर यो नियम बाध्य नभए पनि भक्तपुर नगरपालिकाभित्रका अन्य बस्तीमा भने पुरानो शैलीमा घर बनाउन चाहनेको संख्या बढ्दै गएको नगरपालिकाका प्रशासन प्रमुख दामोदर सुवाल बताउँछन् ।
तनहुँको बन्दीपुर गाउँपालिकाले नयाँ जनप्रतिनिधि आएको दोस्रो वर्षदेखि मौलिक शैलीमा घर निर्माण गर्ने घरबेटीलाई नक्सापास गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय ग¥यो । केही समय यसमा आकर्षण पनि बढ्दै थियो । पर्यटनमा आधारित व्यवसाय फस्टाइरहेको बन्दीपुरबासीले कोरोनाका कारण व्यवसायमा समस्या आएपछि नयाँ घर बनाउनै छाडेको गाउँपालिका प्रमुख पूर्णसिंह थापा बताउँछन् ।
घर निर्माणमा पिलर र सिमेन्टको प्रयोगलाई पश्चिमा प्रभावकै परिणाम मानिन्छ । २०७२ सालको भूकम्पबाट करिब १४ जिल्लामा क्षति पुगेपछि रैथाने शैली वा परम्परागत शैलीको संरचनाबारे चर्काे बहस बाहिर आयो ।
कतिपय परम्परागत घरह भत्किएपछि त्यसले पनि नयाँ स्वरुप पायो । जसका कारण शहरी सुन्दरतामा ह्रास आएको सरकारी पक्षको बुझाइ छ ।
सम्पदा पुनर्निर्माणमा पनि वास्तुशैलीले राम्रै चर्चा पायो । रानीपोखरी, धरहरालगायत धरोहर पुनर्निर्माण आधुनिक शैलीमा गर्ने वा पुरानै शैलीमा बनाउने भन्ने विषय चर्चामा आएपछि परम्परागत शैलीको महत्वबारे धेरैले जान्ने मौका पाएको वास्तुशिल्पका जानकारहरू बताउँछन् । यो बहसले धेरै स्थानीय तहहरूलाई पनि मौलिकताको बारेमा चेतना फैलाउन मद्दत गरेको कतिपयको बुझाइ छ ।
आधुनिकताको सिको गर्ने होडले मुलुक नै कंक्रिटको जंगल बन्न लागेकोले रैथाने शैलीको संरक्षणका लागि मन्त्रालयले परिपत्र जारी गरेको छ । परिपत्रसँगै मन्त्रालयले सात थरी घरका नमूना शैली समेत पठाएको छ
त्यसो त भूकम्पको समयमा शैलीमात्रै नभएर परम्परागत घर निर्माणको विधिबारे पनि धेरै मानिस परिचित भए । भूकम्प जाँदा असनका पुराना घरहरूमा धेरै क्षति पुग्ने आशंका धेरैको थियो । तर त्यसो भएन । जसले पुरानो घर निर्माण विधि पनि सुरक्षित हुन्छ भन्ने चेत धेरैमा जगाएको परम्परागत घरको इन्जिनियरिङ गर्ने इन्जिनियरहरू बताउँछन् ।
शहरी एवं ग्रामीण सुन्दरता र यसको सुरक्षालाई समेत ध्यान दिँदै गत मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई एउटा परिपत्र जारी गरेको छ । जसमा मौलिक शैलीमा घर निर्माण गर्नेलाई विभिन्न शीर्षकमा सहुलियत दिन आग्रह गरिएको छ ।
स्थानीय तहले मौलिक शैली र मौलिक सामग्रीको प्रयोग गरेर सुरक्षित घर बनाउन स्थानीय तहले प्रोत्साहन गरोस् भन्ने आशय परिपत्रको रहेको मन्त्रालयले जनाएको छ ।
संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुदत्त गौतम आधुनिकताको सिको गर्ने होडले मुलुक नै कंक्रिटको जंगल बन्न लागेकोले रैथाने शैलीको संरक्षणको लागि परिपत्र जारी गरिएको बताउँछन् ।
मन्त्रालयले सात थरीको नमुना शैली समेत पठाएको छ । तर देशभरि नै सात प्रकारको नमुना कति सान्दर्भिक छ त ? भन्ने प्रश्नमा सहसचिव गौतम भन्छन्, ‘यो नमुना अनुसार नै घर बनाउनुपर्छ भन्ने नभई मौलिक शैली जोगाउन परिपत्र जारी गरिएको हो, स्थानीय स्रोत र साधनको प्रयोग गरेर नमुनाभन्दा भिन्न पनि घर बनाउन सकिन्छ ।’
मौलिक शैलीमा घर बनाउनै पर्ने नीति कति व्यावहारिक छ त ? भक्तपुर नगरपालिकाका प्रशासन प्रमुख दामोदर सुवाल भन्छन्, ‘सामग्रीको उपलब्धताको आधारमा यो केही अव्यावहारिक देखिन्छ । तर सुन्दरता र वातावरणीय अनुकूलताको हिसाबमा यो उत्कृष्ठ शैली हो ।’
तर सानो क्षेत्रफलमा व्यावसायिक प्रयोजनले घर बनाउन चाहनेलाई भने यसले समस्या गराउने गरेको सुवाल बताउँछन् । त्यसैले पनि यसमा मान्छेको कम आकर्षण हुने गरेको हो ।
झिँगटीको छानो र इँटा देखिने गरी ढलान नगरेको घरमा जाडोमा न्यानो र तातोमा चिसो महसुस हुने गर्छ । त्यसैले मौलिक शैलीका घरहरू आफैँमा वातानुकूलित हुने गरेको सुवाल बताउँछन् ।
भक्तपुर नगरपालिकाले नयाँ जनप्रतिनिधि आएको दोस्रो वर्षमा नै एउटा नीति ल्यायो । जसमा पुरानो ‘नगर क्षेत्रभित्र ३५ फिटभन्दा अग्लो घर बनाउन नपाउने, घरमा सटर राख्न नपाउने, अघिल्लो भाग मौलिक शैलीमा बनाउनु पर्ने र पाएसम्म मौलिक सामग्रीहरू राख्नुपर्ने’ उल्लेख छ ।
कुल छानोको कम्तीमा ३० प्रतिशत झिँगटी राख्नुपर्ने, झ्यालढोका काठकै बनाउनुपर्नेलगायतका मापदण्ड भक्तपुर नगरपालिकामा तोकिएको छ । तर पर्याप्त काठको अभावका कारण झण्झट व्यहोर्नुपरेको गुनासो घरधनी गर्छन् ।
उल्लेखित सबै मापदण्ड पूरा गर्ने घरधनीलाई अघिल्लो भागमा प्रयोग गरिएको इँटा, झिँगटी र काठको लागि लागेको कुल खर्चको ३५ प्रतिशत नगरपालिकाले व्यहोर्ने गरेको छ । सुवालका अनुसार एउटा निजी आवासीय घरधनीले डेढ लाख रुपैयाँदेखि ४ लाख ७० हजार रुपैयाँसम्म अनुदान पाएका छन् ।
यति हुँदाहुँदै पनि जनशक्तिको अभाव र निर्माण सामग्रीको अपर्याप्तताका कारण समस्या भोग्नु परेको सुवाल बताउँछन् । ‘काठको झ्यालको तुलनामा आल्मोनियमको झ्याल सस्तो पर्ने हुँदा मौलिक शैलीमा घर बनाउनेहरू कम देखिन्छन,’ सुवाल भन्छन् ‘परम्परागत शैलीमा घर बनाउन जान्ने जनशक्तिकै अभाव हुन लागिसक्यो ।’
नेपालका विभिन्न ठाउँमा भुगोल अनुसारको वास्तु शैली विकास भएको पाइन्छ । जस्तो काठमाडौं उपत्यकामा धेरै माटो भएकोले यहाँ लिच्छविकालदेखि नै इँटाको प्रयोगबाट घर बनाउने चलन थियो ।
त्यस्तै, उपत्यका बाहिर ढुंगाको उपलब्धता धेरै भएको ठाउँमा ढुंगाकै घर बन्ने गरेको पाइन्छ । यसरी ठाउँ अनुसार उपलब्ध सामग्री प्रयोग गरेर परम्परागत शैलीमा घर बनाउन सकिने जानकारहरूको तर्क छ ।
शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेश कुमार वाग्ले भन्छन् – सरकारले संसद भवन होस् वा महालेखा परीक्षकको कार्यालयको भवन । सबैलाई मौलिक शैलीमा निर्माण गर्न थालिएको छ । नयाँ बन्ने भवनमा पनि हामीले सकेसम्म मौलिक शैली अपनाउने तयारी गरेका छौं ।
काठमाडौं उपत्यका संरक्षण कोषका कार्यक्रम निर्देशक रोहित रञ्जितकार आधुनिक शैली र पुरानो शैलीको आ–आफ्नै विशेषता रहेको बताउँछन् । ‘कुन बढी बलियो हुन्छ भनेर यकिनका साथ भन्न सकिँदैन,’ उनले भने, ‘पुरानो इन्जिनियरिङ लामो समयसम्मको व्यवहारिक ज्ञानबाट तयार भएको विधि हो भने आधुनिक इन्जिनियरिङ क्याल्कुलेसनको आधारमा गरिन्छ ।’ उनी प्रक्रिया मिलाएर निर्माण गर्ने हो भने परम्परागत शैलीमा बनेका घरहरू समेत सुरक्षित र दिगो हुने बताउँछन् ।
परम्परागत शैलीको इन्जिनियरिङ झण्डै १०० वर्षको कालखण्डमा भोगिएका तीतामीठा अनुभवहरूको सँगालो भएको भन्दै रञ्जितकारले परम्परागत शैली अपनाउँदैमा सुरक्षाको चिन्ता लिनुपर्ने अवस्था नहुने धारणा व्यक्त गरे । सामग्री, विधि र इन्जिनियरको कलाको आधारमा घरको सुरक्षा टिक्ने उनको भनाइ छ ।
शहरी विकास मन्त्रालयले सरकारी भवन निर्माणमा पनि सम्भव भएसम्म मौलिक शैली खोज्ने गरेको जनाएको छ । यद्यपि मौलिक शैलीमा बनेका घरहरू धेरै ठूलो बनाउन नसकिने भएकोले बाध्य भएर सरकारी प्रयोजनको लागि आधुनिक वास्तुशैली अपनाउनु परेको मन्त्रालयका सूचना अधिकारी सुरेश कुमार वाग्लेले बताए ।
उनी भन्छन् ‘सरकारले संसद भवन होस् वा त महालेखा परीक्षकको कार्यालयको भवन । सबैलाई मौलिक शैलीमा निर्माण गर्न थालिएको छ । नयाँ बन्ने भवनमा पनि हामीले सकेसम्म मौलिक शैली अपनाउने तयारी गरेका छौं ।’
भक्तपुरको ‘कोर सिटी’मा अरुले घर बनाउन नपाउने कानून ल्याइएको छ । भक्तपुर नगरपालिकाले मौलिकता जोगाउन भन्दै भक्तपुरको पुरानो नगर क्षेत्रभित्र सोही क्षेत्रबाहेक अरूलाई जग्गा किन्न र घर बनाउन प्रतिबन्ध लगाएको छ । डेढ वर्षअघि कानुन निर्माण गर्दै नगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।
यो विषयमा सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले यसबारे धेरै व्याख्या नगर्ने सुवालले बताए । अहिले भक्तपुरको पुरानो नगर क्षेत्रभित्र ९५ प्रतिशतभन्दा बढी रैथाने आदिवासी नै बसोबास गर्ने गरेको सुवाल बताउँछन् ।
परम्परागत वास्तु शैलीलाई नियाल्दा ठाउँ अनुसार छुट्टाछुट्टै ढंगले घर बनाउने गरेको पाइन्छ । अहिलेसम्म प्राप्त सग्लो वास्तुकलामा सबैभन्दा पुरानो मध्यकालीन वास्तुकला हो । जसमा दुईदेखि तीन तलासम्मको आवासीय घरहरू हुन्थे ।

त्यसो त भेटिएको मध्यकालीन संरचना पनि या त काठमाडौं उपत्यका या पश्चिम नेपालको खस राज्यमा मात्रै भेटिएका छन् । यसबाहेक उपत्यका बाहिरको मध्यकालीन संरचना कस्तो थियो भनेर भन्न मुस्किल छ । तर काठमाडौं उपत्यका र उपत्यका बाहिरको शाहकालीन आवासीय वास्तुकलामा भने केही भिन्नता पाइन्छ ।
पहाडी भेगका घरहरूमा दुईदेखि तीन वटासम्म पाली, ढुंगा वा झिँगटीले छाएको छानो, ४५ डिग्रीमा ढल्किएको भिरालो पाली हुने गर्थ्यो ।
संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, ‘पहाडी भेगको घरमा भुइँतला भान्छाको लागि प्रयोग गरिन्थ्यो भने काठका खम्बा र बिम बनाएको घर ढुङ्गा, माटोबाट जोडिन्थ्यो ।’ जुन अहिलेसम्म पनि देख्न सकिन्छ ।
काठमाडौंको परम्परागत नेवारी शैलीको घरको बारेमा पुस्तक तयार पारेका वल्फग्याङ कर्नका अनुसार मध्यकालमा उपत्यकाभित्र तीन वा चार तलाको घर हुन्थ्यो । पाटन सौगोल टोलमा झण्डै एक शताब्दी पहिले पाइएको चारतले घरको तेस्रो तला बुइँगलमा तीनमुखे, पाँचमुखे खुला झ्याल राखिएको थियो । घरको सुरक्षाका लागि तल्ला तलाहरूमा आँखीझ्याल राखिएका हुन्थे भने माथिल्ला तलाहरूमा खुला झ्याल राखिएका हुन्थे ।
परम्परागत घरहरूमा एउटा मात्रै छाना हुन्थ्यो । अहिलेका घरहरूमा उस्तै आकारमा बनेपनि दुईदेखि तीन वटासम्म पाली राख्ने चलन छ ।
बुइँगलमा भोज खान मिल्ने खुला ठाउँ बनाइन्थ्यो । बुइँगल माथिको तलामा खुला भान्सा र कौसी हुन्थ्यो । भान्छाबाट धुवाँ सिधै बाहिर निस्किन्थ्यो । सबै घरमा भोज खान मिल्ने ठाउँ राखिएको हुन्थ्यो ।
तीन तले घरको तेस्रो तल्ला सामान्यतया सिधा छानामुनि एक भागलाई भान्छा र खाने कोठाको रूपमा प्रयोग गरिन्थ्यो । चार तले घरको, दोस्रो र तेस्रो फ्लोरहरू बसोबासको लागि प्रयोग गरिन्थ्यो भने चौथो तलामा खाना पकाउने गरिन्थ्यो ।
ती भवनहरूमा एउटा मुख्य झ्याल हुन्छ भने दायाँ–बायाँ र त्यसैलाई आधार मानेर चारै भित्तामा झ्याल तयार पारिएको हुन्थ्यो ।

Facebook Comments