एमाले नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भयो: केपी ओली

काठमाडौं, २९ असार ।
निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्व सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका हुन् ।
यसका लागि उनले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई धन्यवाद दिएका छन् । त्यस्तै नेपालको विकास साझेदार मित्र राष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई पनि ओलीले धन्यवाद दिएका छन् । ओलीले एकछिन बादल लागेको भन्दै फेरि बादल हटाएर सूर्य आउने दावी गरे । उनले पार्टी कार्यकर्तालाई धैर्यता नगुमाउन र संयमता अपनाउन आग्रह गरेका छन् ।

अदालतमाथि खनिए ओली, संविधान संशोधन गरेको आरोप
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट ओलीले फैसलाको आलोचना गरे । ओलीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको दावी गरे ।
सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भंग भएको भएको उनको दावी छ । ‘यसले क्षणिक रुपमा कसैलाई हर्षित तुल्याउला । कसैभित्र विजेताको भाव पनि ल्याउला’ उनले भनेका छन्, ‘तर लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभंगुर र अर्थहीन हुन जानेछ ।’
ओलीले भने, ‘निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि संविधानको अपव्याख्याले वस्तुत संविधान संशोधनको काम गरेको छ ।’
२०५२ मा पनि अदालतले राजनीतिलाई ट्र्याकभन्दा बाहिर लैजाँदा गम्भीर दुष्परिणाम ल्याएको भन्दै उनले संविधानको धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसलाको चर्को आलोचना गरे ।
पार्टीको चुनाव चिन्ह र घोषणा पत्रका आधारमा जनताबाट चुनिएर आउने, तर सरकार बनाउन बेलामा जो कसैलाई समर्थन गर्न सक्छन्, जुनसुकै ठाउँमा भोट हाल्न सक्छन्, ह्वीप लाग्दैन भन्ने व्याख्याले दलीय व्यवस्थालाई नै चुनौती दिएको उनले बताए । ओलीले भने, ‘निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि संविधानको अपव्याख्याले वस्तुत संविधान संशोधनको काम गरेको छ ।’
उनले सर्वोच्च अदालतमा अत्यधिक न्यायिक सक्रियता देखिएको भन्दै उनले यसले देशलाई गन्तव्यमा नपु¥याउने बताए । ‘अत्याधिक न्यायिक सक्रियता र प्रत्येक विषयमा हात हालेर न गन्तव्यमा पुग्न सकिन्छ , न त (अदालतले) त्यति ठूलो भारी बोक्न सक्छ ।’ सर्वोच्चले सन्दर्भमा नउठेका र वादी पक्षले माग नगरेका विषयमा समेत फैसला दिएको भन्दै यसले समस्या पार्ने बताए ।
आफू जनताको अभिमतमा प्रधानमन्त्री नियुक्त भएको र अहिले सर्वोच्चको परमादेशमा पदमुक्त भएको ओलीले टिप्पणी गरे । ‘जनताको जनादेश मेरो पक्षमा छ, परमादेश शेरबहादुरजीको पक्षमा गयो, सर्वोच्चको परमादेशको कारण म बाहिरिन पुगेँ’ उनले भने ।

सर्वोच्चको फैसला पालना गर्छौं
ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना गर्ने बताएका हुन् । सर्वोच्चको प्रयुक्त कतिपय भाषाशैली लोकतन्त्रमा विश्वास राख्नेप्रति चिन्तित बनाउने खालको रहेको ओलीले बताए ।

संसद र सरकार सही सलामत रहला भन्नेमा शंका छ
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको बताएका छन् ।
सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन ओलीले अदालतप्रति आक्रोश पोखेका छन् ।
अदालतको यो फैसलाको असरहरु आगामी दिनमा देखिने उनले बताए । राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई वास्तविक अर्थमा सबल बनाउँदै जानुपर्ने बेला राजनीतिलाई विपरीत दिशामा लान खोजिएको भन्दै उनले भने, ‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ । समयमा निर्वाचन होस्, तर मलाई शंका छ ।’
‘जे जस्ता घटनाक्रम विकास हुँदैछ, यसले संसद पनि सही सलामत अगाडि जाला, अब बन्ने सरकार सही सलातम ढंगले अगाडि बढ्ला भन्नेमा शंकै छ’ उनले अघि भने, ‘यसले विगतमा अग्रणी भूमिका खेल्ने पात्रहरु परिचित छन् । उनीहरुको इतिहास, भूमिका देश र जनतालाई थाहा छ । मैले केही भनिरहनु पर्ला जस्तो लाग्दैन ।’

हामीले खोप दिन थाल्यौं भनेर तमासा सुरु हुनेछ
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दावी गरेका छन् । ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दावी गरे । १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा बढी खरिदको प्रक्रिया रहेको भन्दै उनले भने, ‘अब हामीलाई खोपको अभाव छैन ।’
आफ्नो नेतृत्वको सरकारले बन्दोबस्त गरेको खोपलाई नयाँ सरकारले आफूले ल्याएको भनेर प्रचार गर्न सक्ने ओलीको दावी छ । उनले भने, ‘मलाई थाहा छ । भरे वा भोलि विहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा सुरु हुनेछ ।’
उनले भने, ‘मानौं, चट गरेर आजै ल्याएका हुन् कि जस्तो गरेर प्रचार गर्नेछन् । तर मलाई प्रचारको कम्पिटिसन गर्नु छैन ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *