बालबालिकाका आँखा कसरी जोगाउने? यी हुन् उपयुक्त उपायहरू

असार २७, गौबुस

आजको युग डिजिटल युग हो। डिजिटल युगसँगै दिनदिनै नयाँ नयाँ प्रविधिहरू विकसित भइरहेका छन्- मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याबलेट आदि। इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग पनि दिनानुदिन बढ्दो छ। गाउँ होस् या शहर, बालबालिका, युवा हुन् या पाको उमेरका, देशमा होस् या विदेश संसार एउटै छाना भइसकेको छ।

प्रविधिको विकाससँगै विकृति र विनास पनि बढिरहेको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग, कोरोना भाइरसको माहमारीसँगै कार्यालयको काम घरबाट (work form home), अनलाइन पठनपाठन लगायतका कारणले गर्दा यसको प्रयोग दिनानुदिन बढ्दो छ। अविभावकहरूले आफ्नो व्यस्तताको कारणले साना–साना बालबालिकाको हातमा मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन् भने कतिपय अभिभावक एकातिर बच्चाहरूलाई यस्ता सामग्री दिएर अर्काेतिर घण्टाैंसम्म सोसल मिडियामा व्यस्त हुने गरेको पाइन्छ।

हामीले फुर्सद मिल्यो कि सामाजिक सञ्जालमा जतिपनि समय कटाइदिन सक्छौं। दिन होस् या रात, धेरै समयसम्म मोबाइलमा गेम खेलिरहने, चाहिने नचाहिने साइटहरू हेर्ने, घण्टाैंसम्म युट्यबमा भिडियोहरू हेर्ने जस्ता बानीको विकास भइरहेको पाइन्छ, युवा पुस्तामा।

आजभोलि साना साना बालबालिका रोए वा खाना खान मानेनन् भने मोबाइल/ल्यापटप देखाएर मनाउने वा खाना खुवाउने गरिन्छ। यो खराब बानी बालबालिकाहरूले सानै उमेरबाट नै आफ्ना अभिभावकमार्फत् सिकिरहेका हुन्छन्। जसको कारण लामो समयसम्म बच्चाहरूको बानी नै मोबाइल/ल्यापटप चलाउने भइसकेको हुन्छ। यसको सबैभन्दा बढी असर बच्चाको आँखा, दिमाग र व्यक्तित्व विकासमा समेत पर्छ।

जस्तै:

-सानो–सानो कुरामा रुने–कराउने वा छिटो–छिटो रिसाउने।
-मोबाइलबिना एक ठाँउमा शान्तसँग बस्न नसक्ने वा रिसाइ रहने।
-पढाइ/लेखाइमा ध्यान नदिने, सानो सानो कुरामा झगडा गरिरहने।
-परिवारका सदस्यसँग कुराकानी गर्न नचाहने तर एकान्तमा बस्न मन पराउने।
-कोही आफन्त इष्टभित्र कसैको मतलब नगर्ने इत्यादि।

कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका उपकरणले आँखामा के-कस्ता असर गर्छन्?

कम्प्युटर, मोबाइल, टेलिभिजन लगायतका उपकरणकले आँखामा तत्कालीन तथा दीर्घकालीन असर गर्छ। तत्कालीन असरहर : आँखा पोल्ने, बिझाउने, टाउको दुख्ने, आँखाबाट आँसु आउने, आँखा रमरम हुने, निद्रा लागेजस्तो हुने, थकान महशुस हुने, छिटो–छिटो रिस उठने लगायतका समस्या हुन्छन्।

दीर्घकालीन असरहरू : आँखाको पावर कम हुँदै जाने, आँखा एकदम सुख्खा हुने, आँखा सधै रातो भइरहने, मन्द मन्द टाउको दुख्ने, आँखामा मासु पलाउने, आँखाको नानी तथा रेटिनामा असर पर्दछ। लगातार कम्प्युटर तथा मोबाइल चलाउँदा आँखालाई बल पर्छ। लगातार एकोहोरो रुपमा कम्प्युटर तथा मोबाइल चलाउँदा आँखामा भएको आँसुको तह उडेर जान्छ। आँखामा भएको आँसुको तह उडेर गएपछि आँखाको नानीमा असर पुग्छ।

बालबालिकाहरूमा आँखाको समस्या कसरी पत्ता लगाउने?
बालबालिकाहरूको बढी समय नजिकको काममा नै बित्ने भएकाले आँखाको समस्या छ कि छैन भनेर पत्ता लगाउन सबैभन्दा गाह्रो हुन्छ। त्यसैले अभिभावकहरूले निम्न कुराहरूमा ध्यान दिन सके आफ्ना बालबालिकामा आँखामा समस्या छ छैन सजिलै पत्ता लगाउन सकिन्छ।
-मोबाइल वा टिभी धेरै नजिकबाट हेर्ने।
-थोरै टाढाको खेलौना, सामान वा मानिस चिन्नको लागि आँखा सानो पारेर हेर्ने वा घाँटी टेढो गरेर हेर्ने।
-आँखा धेरै झिम्काउने वा आँखा धेरै माँड्ने।
-पढ्न/लेख्न बसेको बेलामा टाउको दुख्ने वा आँखाबाट आँसु आउने।
-टेढो आँखा हुनु।
-अस्वभाविक रुपमा कुनै वस्तु धेरै नजिक ल्याएर हेर्नु आदि।

आँखाको समस्याबाट बालबालिकाहरूलाई बचाउन धेरै महत्त्वपूर्ण छ। यस्ता समस्या सुरु भएमा र समयमै सावधानी नअपनाइएमा दिनदिनै बच्चाको आँखा कमजोर हुँदै जान्छन्। जसको कारण बच्चाहरूमा दृष्टिदोष हुने र आँखा टेढो हुने सम्भावना हुन सक्छ। यसले गर्दा बच्चाको पढाइ/लेखाइका साथसाथै मानसिक विकास, व्यक्तित्व विकास, समाजिक विकासमा पनि नकारात्मक असर पर्ने र भविष्यमा कुनै काम गर्दा आत्मबल कमजोर हुने हुन्छ। जसले परिवार र समाजमा नकारात्मक असर पार्न सक्ने सम्भावना हुन सक्छ।

समाधानका उपायहरू :

-बन्दकोठा भन्दा बाहिरी वातावरण जस्तै खुल्ला चौर, बगैँचा, घरको आँगन, छत, उज्यालो घाम आउने ठाउँहरूमा बालबालिकाहरूलाई कम्तिमा दिनको दुई तीन घण्टा खेल्न प्रोसाहन गर्नुपर्दछ।
-अध्याँरो कोठामा धेरै समयसम्म त्यस्ता सामानहरू नचलाउने, चलाउनै परे कोठाको बत्तीहरू बाली चलाउनु पर्दछ।
-आँखाको नजिकै राखी नचलाउने, कम्तिमा पनि आँखावाट ५०/६० सेन्टिमिटरको दूरीमा राख्ने।
-एकोहोरो हेरिरहँदा असर पर्ने हुँदा एक पटकको लागि बढीमा तीस मिनेटको समयसम्म प्रयोग गर्ने।
-बेलाबेलामा आँखाको परेला झिम्काइरहने, साथै अलि टाढाको कुराहरू हेर्ने।
-बेलाबेलामा आँखाको सरसफाइमा ध्यान दिने।
-करिब ९० प्रतिशत मानिसमा आँखालाई सही तरिकाले सफा गर्न आउँदैन।
-पानीमा आँखा डुबाउने वा आँखा पानीले पखाल्ने दुवै सफा गर्ने गलत तरिका हुन्।
-आँखाको वरिपरि मात्र सफा गर्नुपर्छ। आँखा भित्रको सफाइ आँखा आफैंले गर्ने गर्छ।
-सही तरिकाले आँखा सफा गरेमा पनि आँखाका धेरै समस्या आफैं हटेर जान्छन्।
-आँखाको स्वास्थ्यका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्दछ। हरियो सागसब्जी फलफूलको प्रशस्त सेवन गर्ने गर्नुपर्दछ।
-जाँड, रक्सी, खैनी, सुर्ति, चुरोटजस्ता नसालु पदार्थ सेवन गर्नु हुँदैन।
-ल्याबटप तथा कम्प्युटर १ सय १५ डिग्रीको एङ्गलमा चलाउनुपर्छ।
-कम्प्युटर, ल्यापटप, मोबाइल चलाउँदा समय समयमा बेस्सरी आँखा झिम्काउनुपर्छ।
-२० मिनेटसम्म लगायतार यी उपकरण चलाएको छ भने २० सेकेण्डसम्म टाढा हेर्ने र २० सेकेण्ड आँखा बन्द गर्ने गर्नुपर्दछ।
-आँखालाई धेरै बल तथा तनाव दिनु हुँदैन।

कुन अवस्थामा मानिसहरू चिकित्सकको परामर्शमा जान आवश्यक छ?

-आँखाको अवस्था थाहा पाउन हरेक ६/६ महिनामा नियमित आँखा परीक्षण गर्न आवश्यक हुन्छ।
-कतिपय आँखाकाे समस्या थाहा नै नपाइ हुने गर्दछन्। त्यसैले समय समयमा नियमित आँखा परीक्षण गरि चिकित्सकाे परामर्श लिनु पर्दछ।
-बालबालिकाहरूलाई पहिलाेपटक विद्यालय भर्ना गर्नुभन्दा पहिला आँखाकाे परीक्षण गराउनु पर्छ।
-समयमै आँखाको परीक्षण गराएर भविष्यमा निम्तने आँखाकाे समस्याबाट बच्न सकिन्छ। त्यसैले समय समयमा नियमित आफ्नाे आँखा परीक्षण गराउनुपर्दछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *