मानवअधिकार संरक्षण गर्नुपर्नेमा जोड

गौतमबुद्ध सन्देश
भैरहवा, १४ कार्तिक । मानवअधिकार संरक्षण गर्नुपर्ने पहिलो आवश्यकता रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले राज्यको पहिलो कर्तव्य मानवअधिकारको संरक्षण र संव्रर्धन गर्नु नै रहेको बताएका हुन ।

नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीद्धारा भैरहवामा आयोजित मानव अधिकार शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद अर्यालले मानवअधिकार उल्लघंन गर्ने दोषीलाई कारवाही हुन नसके समाजमा दण्डहीनता बढ्ने बताए । उनले कानूनी शासन र मानवअधिकारमैत्री समाज सबैको लागि आवश्यक रहेकोमा जोड दिए ।

त्यस्तै सशस्त्र सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ्गले राज्यले मानवअधिकारको विश्वव्यापी मान्यतालाई अंगिकार गरिसकेको बताए । उनले अविकसित मुलुकहरुमा मानअधिकारको कार्यान्वयनमा समस्या देखिएको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीले मानवअधिकारको उल्लघंन धेरैजसो राजनीतिक दलबाट नै हुने गरेको बताए । उनले मानवअधिकारको उल्लघंन विभिन्न खालका अराजक क्रियाकलापबाट नै हुने बताए ।
नेपाल मानवअधिकार संगठन रुपन्देहीका पूर्व सभापति दिपक क्षेत्री न्यौपानेले मानवअधिकार सम्बन्धि शिक्षा सम्पूर्ण नागरिकले पाउनुपर्ने बताए । उनले मानवअधिकारको संरक्षणको लागि राजनीतिक दलको आफ्नो ठाउँमा भुमिका रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्माले विगतमा मानवअधिकारको उल्लघंन भएको अवस्थामा राज्य संवेदनशील हुन नसकेको बताए । उनले संविधानले दिएका अधिकारको बारेमा नागरिकले बुझ्नुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नागरिकले अधिकार आत्मसाथ नगरेसम्म त्यसको औचित्य नहुने बताए । उनले मानवअधिकार शिक्षा नागरिकका साथसाथै प्रहरी,सेना तथा कार्यान्वयन गर्ने निकायलाई आवश्यक रहेकोमा जोड दिए ।

नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीका उपाध्यक्ष एवं उप–प्राध्यापक बैकुण्ठ राज कोइरालाको अध्यक्षता, संगठनका केन्द्रीय महासचिव महामहिश्वर आचार्यको स्वागत मन्तव्य तथा रुपन्देही जिल्ला सचिव पवन पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा रण चण्डी गणका गणपति दिपक कुमार थापा, जिल्ला कानूनी सहायता समिति रुपन्देहीका संयोजक सुनिल कुमार त्रिपाठी लगायतको उपस्थिीति रहेको थियो ।

Facebook Comments