अपांगता भएकालाई खोपको प्राथमिकतामा राख्न माग

कोरोनाविरूद्धको खोप पाउने अपांगता भएकाको संख्या न्यून
असार २७, काठमाडौँ ।
गत वैशाखमा घरका सबै जनालाई कोरोना संक्रमण भएपछि दाङकी गोमा आचार्यको परिवार होम आइसोलेसनमा बस्यो । खानपान र व्यायाममा जोड दिए । गोमाका २५ वर्षीय छोरा आशिषचाहिँ झन् सिकिस्त हुन थाले । उनी सहजै हिँडडुल गर्न, खानेकुरा राम्ररी चपाएर खान, बोल्न र अरूले बोलेको बुझ्न सक्दैनन् । उनको रोग प्रतिरोधक क्षमता कमजोर भएकैले कोरोनाले अत्यधिक च्यापेको गोमाको आकलन छ ।

घरैमा उपचार सम्भव नभएपछि स्थानीय कोरोना अस्पतालमा भर्ना गरे । परिवारका सदस्य अस्पतालमा कुरुवा बस्न मिलेन । खानपान, दिसापिसाब, सरसफाइ, हिँडडुललगायत हरेकमा सहयोगी चाहिने उनलाई अस्पताल बस्न सकस भयो । अनि एक सातामै घर फिर्ता ल्याइयो । तीन सातापछि मात्रै उनको कोरोना रिपोर्ट नेगेटिभ आयो । ‘उसले कोरोनाविरुद्धको खोप बेलैमा लगाउन पाएको थियो भने त्यति धेरै पीडा खेप्नुपर्थेन, भगवान् भरोसाले गर्दा मात्रै छोराले पुनर्जीवन पायो,’ गोमाले भनिन् ।

कोरोना संक्रमणमुक्त भएको डेढ महिना बितिसके पनि उनमा अझै स्वास्थ्य असहजता, कमजोरपनको समस्या उस्तै छ । महामारी कायमै रहेकोले फेरि संक्रमण हुन्छ कि भन्ने पिरलो परिवारलाई छ । यही डरले चिनजानेका मानिस र स्वास्थ्यकर्मीसँग खोपको सोधखोज गरिरहेका हुन्छन् ।

राष्ट्रिय अपांग महासंघ नेपालका अनुसार मुलकमा कोरोनाको दोस्रो लहर सुरु भएको पहिलो डेढ महिनामा अपांगता भएका ३ सय ५० जनाभन्दा बढी संक्रमित भए । जसमध्ये १३ जनाले ज्यान गुमाए । महासंघको वाग्मती प्रदेश उपाध्यक्ष लक्ष्मी काफ्ले भन्छिन्, ‘समयमै खोप लगाउन पाएको भए यो अवस्था पक्कै आउने थिएन ।’ राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर बौद्धिक अपांगता, शारीरिक अपांगता, बहिरा, दृष्टिविहीन, श्रवणदृष्टिविहीन, स्वरबोलाइसम्बन्धी अपांगता, मनोसमाजिक अपांगता, अटिजम, हेमोफोलिया र बहुअपांगतालगायत अपांगता भएका व्यक्तिको संख्या ५ लाख १३ हजार ३ सय २१ छ । यिमध्ये निकै कमले मात्र कोरोनाविरुद्धको खोप प्राप्त गरेका छन् ।

आशिषजस्तै लाखौं अपांगता भएकाहरू खोपको पर्खाइमा छन् । संक्रमणको उच्च जोखिममा रहेकैले नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरू भएदेखि नै यो वर्गलाई प्राथमिकता दिइनुपर्ने माग उठिरहेको छ । तर व्यवहारमा त्यस्तो नपाइएको बौद्धिक अपांगताका अभिभावक महासंघ, नेपालका अध्यक्ष राजु बस्नेत बताउँछन् । ‘अपांगता भएका, त्यसमा पनि गम्भीर प्रकृतिका अपांगताका भएका व्यक्तिहरूलाई खोपको टड्कारो आवश्यकता छ,’ छोरा रोशनको प्रसंग जोड्दै उनले थपे, ‘अपांगता भएका व्यक्तिको अधिकारका लागि निरन्तर वकालतका कामले म फिल्डमा हिँडिरहनुपर्छ, घर फर्केर ढोका टेक्न नपाउँदै छोरो काखमा आइपुग्छ, उसलाई संक्रमण होला भन्ने डर भइरहन्छ, छोरालाई खोप लगाएको भए यति धेरै पीर हुने थिएन ।’

गम्भीर प्रकृतिका अपांगता भएका व्यक्तिमा रोग प्रतिरोधक क्षमता कमजोर हुने, बौद्धिक अपांगता भएकासँग भौतिक दूरी कायम गर्न/गराउन नसकिने, सहयोगीका रुपमा खटिने व्यक्तिबाटै संक्रमणको जोखिम हुने भएकोले यो वर्गलाई खोपको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । महासंघले अपांगता भएका व्यक्तिलाई खोपमा प्राथमिकता दिन, खोप केन्द्रहरू सहज र पहुँचयुक्त बनाउन गत वैशाख २ देखि असार ४ सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायत सम्बन्धित निकायहरूमा १० पटकभन्दा बढी पटक यसबारे ध्यानाकर्षण गराइसकेको छ । अपांगताको विषय मानवीय संवेदनशीलताको विषय पनि भएको हुँदा नीतिगत निर्णय गरेर उनीहरूलाई प्राथमिकतामा राखी खोप दिन सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्धता प्राप्त भए पनि कार्यान्वयनमा नआएको महासंघको गुनासो छ ।

यसबारे सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विमला राई पौड्यालले समेत सरकारको ध्यानाकर्षण गराएकी थिइन् । ‘अरुसँग आश्रित भएर आफैं सुरक्षित हुन नसक्ने समुदाय सबैभन्दा जोखिममा भएको समुदाय हो, त्यसैले सरकारले यो संवेदनशीलता बुझेर अपांगता भएका व्यक्ति बस्ने घर, सेल्टर पहिचान गरी त्यही ठाउँमा गएर खोप लगाउने व्यवस्था गरियोस्,’ उनले आफ्नो सरोकारको विषय खोपको उपलब्धता मात्रै नभएर प्राथमिकताको समेत रहेको बताइन् । ई.कान्तिपुर

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *