ट्रंकलाइन बिलिङले उद्योगी तनावमा,आन्दोलन चर्काउने चेतावनी

२० असार,भैरहवा । ४ वर्ष अघिको ट्रंकलाइन विद्युत महशुल बुझाउन नेपाल विद्युत प्राधिकरणले ताकेता गरेपछि रुपन्देहीका उद्योगी गम्भीर समस्यामा परेको बताएका छन् । भैरहवामा रहेको पञ्चकन्या करिडोरका उद्योगीलाई लगाएको ट्रंकलाईन महशुलको विवाद अझै टुगिंएको छैन । विगतका वर्षहरुमा पनि नसुल्झिएको समस्या र कोरोना महामारीको चपेटामा परेका उद्योगलाई असार मसान्तसम्म पुरानो ट्रंकलाइन महशुल भुक्तानी गर्न ताकेता गरेपछि उद्योगीहरुले सरोकारवालासँग गुहार मागेका छन् ।
मागनै नगरेको ,प्रयोग नै नगरेको वा नियमित भन्दा बढी शुल्क लगाएको र निरन्तर भुक्तानी गर्न ताकेता गरेको विषयमा आन्दोलित हुँदै आएका उद्योगीहरुले आफूहरु जटिल समस्यमा परेको भन्दै आन्दोलनलाई चर्काउने र सुनुवाई नभए उद्योगका ताला चाबी सरकारलाई बुझाउन चेतावनी दिएका छन् । नेपाल बिद्युत प्राधिकरणले अनावश्यक शुल्क लगाएको भन्दै उद्योगीहरुले पत्रकार सम्मेलनको आयोजना गरि न्यायको गुहार मागेका छन् ।
पञ्चकन्या औद्योगिक कोरिडोरका बिद्युत महशुल पीडित २३ वटा उद्योगले संयुक्त रुपमा बिद्युत प्राधिकरणले उद्योग नै बिस्थापित हुने अवश्थामा पुर्याएको भन्दै आन्दोलित भएका हुन् । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक समस्या मिलान गर्ने क्रममा बुटवल–भैरहवा करिडोरमा रहेका १९ वटा उद्योगलाई र यस्तै नयाँ मिल तथा बुटवल बितरण केन्द्रले गरी २३ वटा उद्योगलाई ठूलो जरिवाना लगाएको छ।
२०७२ साल र २०७५ सालदेखि गरि नेपाल बिद्युत प्राधिकरणले यी उद्योगबाट ४० करोड बढी रुपैया बिद्युत वक्यौता बाँकी रहेको बताउदै उक्त बक्यौता तिर्न पत्र काटेको छ । यहि असार मसान्तसम्मको भाका राखि काटिएको पत्रमा बक्यौता नबुझाए नियमानुसार कार्यवाही गर्ने जनाए पछि उद्योगीहरु आन्दोलित भएका हुन ।
२०७४ साल चैत्रमा नेपाल बिद्युत प्राधिकरणले आन्तरिक लोड ब्यवस्थापन गर्न रुपन्देहीका भरौलिया सब स्टेशनलाई अमवा सब स्टेशनमा जडान गर्ने क्रममा १९ वटा उद्योगलाई ट्रंकलाईनमा जोडेको थियो । यस अघि साविक सुविधामै उद्योग सञ्चालन गर्दै आएका उद्योगीलाई यसले कुनै अतिरिक्त शुल्क नथपिने तत्कालिन बितरण केन्द्र प्रमुख उमेश कुमार झाले आवश्वसन दिएका थिए । बिद्युतको आन्तरिक समस्या भएको कारण उसले भार मिलान गर्दा उद्योगीलाई पनि समस्या भएन ।
तर ट्रंकलाईनको लागि उद्योगीहरुले कुनै माग नै नराखे पनि २०७४ सालमा सो लाईनमा जोडिएका उनिहरु अहिले २०७६ सालमा आएर नियमित शुल्क भन्दा करिब ६७ प्रतिशत बढी शुल्क तिराउन बाध्य पारिएको छ । यति मात्र हैन ट्रंकलाईन जोडिएको अवधि देखी नै बिद्युतले पठाएको बिल भुक्तान गरि रहेको उद्योगीलाई करौडौ बाँकी रहेको बक्यौता तिर्न पनि ताकेता गरिएको छ । उद्योगीहरुले ट्रंकलाईनको लागी दिएको २४ घण्टे सुविधा उपभोग गरेको कारण शुरुको मिति देखी नै उनिहरुले बिल तिर्नु पर्ने बिद्युत प्राधिकरणको जिकिर छ ।
यता उद्योगीहरुले सो कुरा मानेका छैनन् । उनिहरुले बिद्युत कार्यालयले तोकेको शर्त बमोजिम नै बिद्युत उपभोग गरेको दावी गरेका छन् । बुटवल–भैरहवा उद्योग करिडोरका २३ उद्योगले नेपाल विद्युत् प्राधिकरणले एकतर्फी रुपमा लगाएको ट्रंकलाइन विद्युत आफूहरूलाई आवश्यक नभएको भन्दै जबर्जस्ती लाद्न खोजे उद्योग नै बन्द गर्ने चेतावनी दिएका सम्म दिएका छन् ।

Facebook Comments