उच्च सतर्कताको खाँचो

सरकारले दुई महिनापछि सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीबाट शुरु गर्ने निर्णय गरेसँगै थन्किएका सार्वजनिक सेवाका सवारी साधन चल्न थालेका छन् । कोभिड १९ को दोश्रो लहर नियन्त्रणबाहिर गएपछि गत बैशाख १६ देखि निषेधाज्ञा लागु गरिएको थियो । महामारी अझै पूर्ण नियन्त्रणमा आइसकेको छैन । यद्यपि आर्थिक बर्ष सकिनै लागेको र दुई महिना लामो निषेधाज्ञाले जनजीवन प्रभावित भएपछि सरकारले क्रमशः खुकुलो गर्दै सार्वजनिक यातायात समेत संचालनको अवस्थामा आइपुगेको हो । अहिले देशब्यापी रुपमा सार्वजनिक सवारी साधनहरु संचालन हुन लागेका छन् । यद्यपि कोरोना महामारीको जोखिम कायमै रहेकाले उच्च सतर्कताको खाँचो भने देखिएको छ । सरकारले सबै नागरिकलाई पुग्ने गरी खोप खरिद गर्न नसकेको तथा पिसिआर परीक्षण दर बढाउन नसकेका कारण अहिले पनि दैनिक करिब तीन हजारको संख्यामा नयाँ संक्रमित भेटिने र तीन दर्जन जतिले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । सबै नागरिकलाई खोप लगाउन सक्ने अवस्था नआएसम्म कोरोना महामारी नियन्त्रणका लागि अझै उच्च सतर्कता अपनाउनै पर्ने देखिन्छ ।

दुई महिना अघि निषेधाज्ञा जारी गर्ने समयसम्म देशब्यापी संक्रमित र मृत्यु हुनेको संख्या उच्च थियो । देशभरका अस्पतालहरुमा अक्सिजन, बेड, आईसियु र भेन्टिलेटरको चरम अभाव थियो । अहिले अक्सिजन प्लान्ट थपिने क्रम जारी छ । अक्सिजन उद्योग थपिएका छन्, उत्पादन क्षमता बढाइएको छ । प्लान्ट भएका अस्पतालमा बिग्रिएका उपकरण मर्मत गरी उत्पादन थालिएको छ । बेड र भेन्टिलेटर थपिएको छ । अस्पतालहरुलाई साधन श्रोत सम्पन्न गरिएका छन् । यी सबै कारणले बिरामीले बेड नै नपाउने अवस्था छैन । तर, पहिलो लहरको संक्रमणभन्दा दोश्रो लहरको संक्रमण बढी घातक भएका कारणले पछिल्लो पटकको अवस्था भयावह मात्र बनेन, मृतक संख्या पनि ह्वात्तै बढ्यो । जनस्वास्थ्यविद्हरुले अहिलेको भन्दा अझै घातक संक्रमण हुने गरी तेश्रो लहर आउने चेतावनी दिइरहेका छन् । तसर्थ निषेधाज्ञा हटेको भएपनि जनस्वास्थ्यका मापदण्डको पालना गर्नु गराउनु सरकारको दायित्व हो भने नागरिकले पनि पालना गर्नैपर्छ । दोश्रो लहरको संक्रमणले धेरै जनाले आफन्त गुमाएका छौं, कम उमेरका लक्का जवानहरु समेत महामारीबाट आफूलाई सुरक्षित राख्न सकेनन् । यसबाट हामीले पाठ सिक्नैपर्छ । भीडभाड हुने ठाउँमा नजाने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने, अस्वस्थ भएमा अरुको संसंर्गभन्दा टाढा रहने र चिकित्सकको परामर्श लिने काम गर्नुपर्छ । तेश्रो लहरमा बालबालिकालाई बढी असर गर्ने विज्ञहरुको चेतावनी आइरहेको र बालबालिकाहरुका निम्ति खोप उत्पादन नभएको अवस्थामा अभिभावकहरु अझ सचेत हुन जरुरी छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *