राप्रपाद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण

गौतमबुद्ध सन्देश
भैरहवा, १६ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवास्थित भीम अस्पताललाई सहयोग गरेको छ । ३१ औं स्थापना दिवसको अवसर पारेर राप्रपा रुपन्देहीले शनिबार अस्पताललाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरेको पार्टीका रुपन्देही जिल्ला निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

राप्रपाले अस्पताललाई मास्क १ हजार ५ सय थान, ग्लोब्स ५ सय थान, सेनिटाइजर ७० बोतल, व्यक्ति सुरक्षा सामग्री (पीपीई) १७ थान र बिरामीहरुको लागि ७५ थान च्वयनप्रास उपलब्ध गराएको गुप्ताले जानकारी दिए ।

राप्रपा रुपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले उक्त सामग्री भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुटवल, रुपन्देहीले बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरुको लागि शनिबार स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण गरेको छ ।

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालित कोरोना अस्पतालमा पुगेर राप्रपा बुटवलले अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरिएको राप्रपा बुटवलका अध्यक्ष निरज प्रताप खांणले बताए ।

Facebook Comments