शारीरिक अशक्त र वृद्धवृद्धालाई ह्वील चियर तथा कम्बल प्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, १२ कार्तिक । रुपन्देहीको लुम्बिनीकी एक युवतीले अष्ट्रेलियामा कमाएको पैसाबाट शारीरिक अशक्त र वृद्धवृद्धालाई सहयोग गरेकी छन् । लुम्बिनीकी पुनिता यादवले ५ जना शारीरिक अशक्तहरुलाई ह्वीलचेयर तथा एक सय २५ थान कम्बल प्रदान गरेकी हुन ।

अष्ट्रेलिया स्थित अक्सफोर्ड अस्पतालमा नर्स असिष्टेन्टको रुपमा कार्यरत लुम्बिनी सांस्कृतिक नगरपालिका भुजहिया गाँउ बस्ने २७ वर्षिय पुनिता यादवले साविक भगवानपुर गा.वि.स.का पुर्व अध्यक्ष एवं समाजसेवी आफ्नो पिता स्वर्गीय दयाराम यादवको नामबाट उनको स्मृतिमा दयाराम हेल्प फाउण्डेशन खडा गरी विदेशमा कमाएको पैसा लुम्बिनी वरिपरीका विपन्न परिवारलाई माथि उकास्न शिक्षा ,स्वास्थ्य तथा आयआर्जनमा टेवा पु¥याउने बताइन । उनले विदेशमा रहेका युवावर्ग आफनो नितान्त जीवनयापनका लागि मात्र नभई समाज विकासका लागि आर्थिक सामाजिक रुपमा सक्दो सहयोग गरेमा अवश्य नै सामाजिक रुपान्तरण हुने विश्वास व्यक्त गरिन ।

सामाजिक अभियन्ता यादवले लुम्बिनी जस्तो ठाउँमा बिरामी बोक्ने एम्बुलेन्स सेवा नहुँदा बिरामीहरुलाई अस्पतालमा नपुग्दै ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्न आफू पुन : विदेशबाट कमाएको पैसाले एम्बुलेन्स समेत सञ्चालन गरी बाबु दयाराम यादवको अधुरो सपना पूरा गर्ने बताइन ।

सो अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनी देखि अष्ट्रेलिया सम्म ख्याती प्राप्त लुम्बिनीकी चेली पुनिता जस्तै सम्पूर्ण युवा वर्गले लुम्बिनीको समग्र विकासका लागि अघि बढेमा नगरपालिकाको तर्फबाट भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । चौधरीले तपाईहरु योजना ल्याउनुस पैसा आफूले लुम्बिनीको समग्र विकासका लागि जहाँबाट भए पनि खोजेर ल्याउने नगरवासीलाई आह्वान समेत गरे ।

एक अर्काको खुट्टा तान्ने ठाँउमा एउटी मधेशको चेली पुनिताले एक्लै समाजलाई अगाडी बढाउने सपना बोकेर अघि बढेको हुँदा उनलाई हौसला प्रदान गर्न समाजका बिद्वत वर्गले सहयोग गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम लाल ज्ञवालीले बताए । ज्ञवालीले गंगटोको धेरै खुट्टा भएको कारण अर्को गंगटोलाई एउटै खुट्टाले तान्ने प्रवृति भन्दा समाजलाई अगाडी बढाउन कमिला जस्तै सामुहिक रुपमा कार्य गरी समाज परिवर्तन गर्नुपर्ने जिकिर गरे ।

 

Facebook Comments