तम्घासमा आयुर्वेद सेवा केन्द्र विस्तार

अनिल खत्री
गुल्मी, ३ चैत ।
गुल्मीको सदरमुकाम तम्घास बजार क्षेत्रमा आयुर्वेद सेवा केन्द्र विस्तार गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ मा रहेको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको सेवालाई बिस्तार गर्न तम्घासको लाकुरी मञ्चमा विस्तार गरिएको हो ।

आयुर्वेद सेवा केन्द्रको शुभारम्भ गर्दै रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले सेवाग्रहीको पहुँच भन्दा टाढा कार्यालय रहेकाले बजार क्षेत्रमा सेवा केन्द्र विस्तार गरिएको बताए ।

तम्घास बजार क्षेत्रमा आउने सेवाग्राही उपल्लो तम्घासमा रहेको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रमा कमै जाने भएकाले त्यसको सेवा विस्तार स्वरुप बजार क्षेत्रमा सेवा केन्द्र स्थापना गरिएको नगरप्रमुख डिल्लीराज भुसालले बताए । उनले आयुर्वेदिक निःशुल्क औषधी तथा जाँच गरिने भएकाले तम्घास बजार क्षेत्रमा रहेको सेवा केन्द्रबाट सेवा लिन आग्रह गरे ।

सेवा केन्द्रबाट बजार क्षेत्रमा आउने बिरामीहरुलाई निःशुल्क जाँच तथा निःशुल्क औषधी वितरण गरिने गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र डाक्टर अर्चना शुक्लाले बताइन् । उनले यस सेवा केन्द्रमा औषधी तथा शाखालाई अगाडी बढाउन स्थानीय सरकारको सहयोग बढाउनुपर्नेमा जोड दिइन् । उनले सेवा केन्द्रमा डाक्टरबाट सेवा दिने भएकाले सेवामा तत्परता कायमै राख्ने बताइन्् । कार्यक्रममा गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारी, जिल्ला समन्वय अधिकारी विजय कुमार कार्की लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Facebook Comments