सिद्धार्थनगरमा उपप्रमुख दोस्रो महिला कप–२०७७ सुरु

गौतमबुद्ध सन्देश
भैरहवा, २९ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा उपप्रमुख दोस्रो महिला कप–२०७७ शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिता सुरु हुनुअघि पञ्चेबाजासहित ¥याली निकालिएको थियो । लुम्बिनीगेटबाट सुरु भएको ¥याली नारायणपथ, मिलनचोक, बैंकरोड देवकोटा चोक हुँदै संघीय प्रहरी इकाई कार्यालयमा पुगेर कार्यक्रममा परिणत भएको प्रतियोगिताका संयोजक विष्णु प्रसाद पन्थीले बताए ।

सिद्धार्थनगरका विद्यालयमा अध्ययरत छात्राहरुको खेलकुदमा पहुँच सुनिश्चितता गर्न प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशिल लम्सालले बताए । उनले छात्राहरुको मात्र सहभागिता रहने यो प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको बताए ।
प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरु हुने उनले बताए । जसअन्तर्गत दौड, रिले दौड, लंग जम्प, सटपुट, भलिबल र वक्तृत्कला प्रतियोगिता रहेको उनले बताए । खेलहरुलाई २ समूहमा वर्गीकरण गरिएको र समुह क अन्तर्गत कक्षा १ देखि ४ सम्म छात्राहरु तथा समूह ख अन्तर्गत कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरुको सहभागिता रहने लम्सालले जानकारी दिए । भलिबलमा र वक्तृत्वकलामा कक्षा १० सम्मका छात्राहरुको सहभागिता रहने नगरपालिकाले जनाएको छ ।तीन दिनसम्म प्रतियोगिता सञ्चालन गरिने सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बताइन् ।

प्रतियोगिताको एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य, नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री घनश्याम भुसालले उद्घाटन गरे । भुसालले विकास नागरिक केन्द्रीत हुन नसके मुलुकको विकास हुन नसक्ने बताएका छन् । उनले सडक, भ्यू टावर मात्र बनाएर मुलुकको विकास हुन नसक्ने बताए ।
‘जीवन, मान्छेको कुरा नगर्ने प्रवृत्ति छ, मान्छे अझ बालबालिकाको कुरा गरिएन र अझ बाटो आवश्यक नभएको ठाउँमा बनाउने कामले मात्र विकास हुन सक्दैन, नागरिकको विकास हुन आवश्यक छ, ’उनले भने । उनले तीनै तहका सरकार मिलेर अगाडी बढे १०–१५ वर्षमा मुलुकको मुहार फेर्न सकिने बताए । अहिले हाम्रो ध्यान बालिबालिकाको विकासमा जानुपर्छ, गुणस्तरीय शिक्षाका साथै मानसिक र शारीरिक विकासको आवश्यकता छ, भुसालले भने ।
छिमेकी मुलुक चीन र भारत विकासमा अगाडी बढेकोले अब गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ । संविधानले सबै जनताका अधिकार र दायित्व सुनिश्चत गरेकोले संविधान कार्यान्वयन र अधिकारको व्यवस्थापन गर्न सके मुलुकको कांचुली फेर्न सकिने उनले बताए । मुलुकको कांचुली फेर्ने संकल्प तीनै तहका सरकारले लिएको उनको भनाइ छ । सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको उपप्रमुख दोस्रो महिला कप–२०७७ नगरको विकासको कडी भएको भुसालले बताए । उनले यो प्रतियोगिता ठूलो नलागे पनि लामो श्रृंखलाको कडी भएको बताए ।

त्यस्तै संविधानसभा सदस्य आदित्य नारायण कसौधनले शिक्षा जस्तै खेलकुद क्षेत्रको विकास पनि आवश्यक रहेको बताए । उनले खेलकुदलाई प्रोत्साहन गर्ने कार्य प्रशंसनीय रहेकोे बताए । खेलकुदको माध्यमबाट देशलाई आर्थिक रुपमा मजबुत बनाउन सकिने उनको भनाइ छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले विद्यार्थीहरुलाई खेलकुद क्षेत्रको जर्गेना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन सकिने बताए ।उपप्रमुख दोस्रो महिला कप–२०७७ का संयोजक विष्णु प्रसाद पन्थीले खेलकुद क्षेत्रलाई अगाडी बढाउन विद्यालयस्तरबाट नै खेलकुदको विकास गर्नुपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको अध्यक्षता, नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालको स्वागत तथा सामूहिक विद्यालय परिवार, रुपन्देहीका सचिव युवराज पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिताको व्यवस्थापन सामूहिक विद्यालय परिवार, रुपन्देहीले गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाले बताए ।
संघीय परिवार इकाई कार्यालय, शान्तिनगर भैरहवाको खैलमैदानमा सुरु भएको प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ । प्रतियोगितामा २८ विद्यालयका छात्राहरुको सहभागिता रहेको सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष गम्भिर गुरुङले बताए ।प्रतियोगितामा भैरहवाका २८ वटा विद्यालयका छात्राहरुको सहभागिता रहेको सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष गम्भिर गुरुङले बताए ।

Facebook Comments