सम्पत्तीको लोभमा श्रीमतीको हत्या

गौतमबुद्ध सन्देश
भैरहवा, २४ फागुन ।
रुपन्देहीमा बीमाको रकम पाउने लोभमा एक महिलाको हत्या गरिएको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधको हत्याको आरोपमा प्रहरीले उनको पति शैलेस कुमार लोध र देवर राजेश कुमार लोधलाई पक्राउ गरेको छ । घरायसी भैm–झगडा र श्रीमतीको बीमा सम्बन्धि विषयका कारण कुशुमको हत्या उनकै पति शैलैस र देवर राजेशले हत्या गरेको खुलेको छ ।
गत फागुन १५ गते इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको गस्ती टोलीले कोटहीमाई गाउँपालिका–१ पतिजिया सिपवास्थित झुलनीपुरदेखि मर्चवार जाने कच्ची सडकखण्डमा महिलालाई शक्त घाइते र बोल्न नसक्ने अवस्था फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले बताए । एसपी पोखरेलका अनुसार सोही स्थानमै कुशुमको पति शैलेश, उनको मोटरसाइकल र २ वर्षिय छोरासंगै रहेका थिए । लु २ च १५१७ नम्बरको पीकअप गाडीमा ४ जना सवार रहेको र गाडीले पटकपटक ब्याक समेत गरी ठक्कर दिएर मंगलसुत्र खोसेर लगेको र उनलाई पेस्तोल ताकेको कुरा शैलेसले प्रहरीलाई बताएका थिए ।
शैलेसका अनुसार लु ७० प ५५९० नम्बरको मोटरसाइकलमा २ जना व्यक्ति रहेका थिए ।
हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका शैलेशले फागुन १६ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा जाहेरी दरखास्त दिएको र उक्त जोहरीमा हतियार देखाइ लुटपाट गरी हत्या गरेको व्यहोरा उल्लेख गरेको एसपी पोखरेलले बताए ।
‘अनुसन्धानको प्रारम्भिक चरणमा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको थियौं, चालकसंग सोधपुछ तथा सवारीसाधनको परीक्षण समेत गरिएको थियो, तर सवारीसाधन र चालक उल्लेखित घटनास्थलमा पुगेको पुष्ट्याई भएन, ’प्रहरी उपरीक्षक पोखरेलले भने ।
अनुसन्धानको दोस्रो चरण अन्तर्गत शैलेष र उनको घरपरिवारप्रति नियमित निगरानी, शैलेषको शंकाष्पद व्यवहार, प्राविधिक विश्लेषण र जैविक परीक्षण गरिएको प्रहरीले जनाएको छ । कुशुमको दुई ठाउँमा बीमा गरिएको र श्रीमतीको मृत्यु भएको अवस्थामा बैंकमा रहेको ऋण पनि छुट हुन्छ भन्ने अभिप्रायले हत्या गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरीले जनाएको छ । हत्याको घटनामा पक्राउ परेका दुवैजनाले घटना स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शैलेष र उनका भाइ राजेश अहिले इप्रका लुम्बिनीको हिरासतमा छन् ।

Facebook Comments