प्रतिनिधिसभा तुरुन्त पुनःस्थापना हुनुपर्छ : घनश्याम भुसाल

टोपराज शर्मा
बुटवल, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पुर्व कृषिमन्त्री घनश्याम भुसालले विघटित प्रतिनिधिसभा तुरुन्त पुनःथापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना वपरित भएकाले पुनःस्थापना हुनुको विकल्प नभएको दोहो¥याए ।

पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आइतबार तिलोेत्तमामा गरेको पत्रकार भेटघाटमा नेता भुसालले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहनाविपरीत गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको बताए । कार्यकारीले गरेका गलत निर्णयलाई सच्चाउनकै लागि अदालत बनेको उल्लेख गर्दै भुसालले अदालतले आफ्नो औचित्य र जनताको विश्वास जित्न पनि संसद पुनस्थापना अपरिहार्य रहेको तर्क गरे ।

‘कार्यकारीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पथ्र्यो र ?’– भुसालले प्रश्न गर्दै भने– ‘अदालतले संविधान, जनचाहना र परम्परा हेरेर पुनःस्थापना गर्छ भन्ने विश्वास छ, यदि अदालतले गरेन भने जनताको आन्दोलन र विद्रोहले संसद पुनस्थापना गरेरै छाड्छ ।’
भुसालले प्रतिनिधिसभा पुनःस्थापना नभए संविधानको उल्लंघन सुरु हुने र मुलुकमा अस्थिरता निम्तिने धारणा राखे ।

पत्रकारको जिज्ञासामा नेता भुसालले संसद पुनःस्थापना भए पार्टी एकता पनि जोगिने बताए । संसद विघटन गर्ने निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहना गरेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको उनको टिप्पणी थियो । नेता भुसाल नेकपाको दाहाल–नेपाल समूहले रुपन्देहीको तिलोत्तमामा गरेको जिल्ला भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएका हुन् । लुम्बिनी प्रदेशका ९ जिल्लामा सो समूहले आइतबार जिल्ला भेला आयोजना गरेको थियो ।
पुष्पलाल मित्रता केन्द्र रुपन्देहीका अध्यक्ष बालकृष्ण चापागाईको अध्यक्षता तथा सचिव गुनाराम घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments