वैदिक सनातनबाट सहयोग प्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, २२ वैशाख ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणलाई रोक्न तथा नियन्त्रण गर्न नेपालभरी लकडाउन गरिएको छ । लकडाउनले धेरै क्षेत्र प्रभावित भएको छ । यो संकटको बेलामा महामारीको समयमा पनि रातदिन खट्ने स्वास्थ्यकर्मी जोखिममा छन । अग्रपंक्तिमा सुरक्षाकर्र्मी खटिएका छन । संगसंगै सञ्चारकर्मी पनि जोखिम मोलेर काममा लागेका छन ।

विभिन्न संघ–संस्थाले यसलाई मध्यनजर गर्दै अग्रपंक्तिमा खट्नेहरुलाई विभिन्न किसिमका सहयोग पनि गरिरहेका छन ।
यसै बीच धार्मिक संस्था वैदिक सनातन धर्म सेवा समिति सिद्धार्थनगरले भैरहवाका विभिन्न क्षेत्रमा सहयोग गरेको छ ।

समितिले भैरहवास्थित भीम अस्पताल, रण अम्बिका शाह आँखा अस्पताल, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सहयोग गरेको हो । समितिले बुद्ध पुर्णिमाको पुर्व सन्ध्यामा सहयोग गरेको हो । धार्मिक संस्था भएकाले दिनरात नभनी काममा खट्नेहरुलाई एक दिनको खाजाले केही भए पनि सहयोग होस् भन्दै जलपान प्रदान गरिएको पुर्व अध्यक्ष मिना श्रेष्ठले बताइन् ।

बेलहियामा देवकोटाचोक, बुद्धचोक,गल्लामण्डी लगायतमा खटिएका सुरक्षाकर्मीलाई एक दिनको खाजा वितरण गरिएको श्रेष्ठले जानकारी दिइन् । त्यसै गरी भीम अस्पतालमा दिनरात नभनी खटिएका स्वास्थ्यकर्मीलाई पनि एक दिनको खाजा वितरण गरिएको समितिका अध्यक्ष सिता पौडेलले जानकारी गराइन् । समितिले लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहमा रहेको बालबालिकाका लागि पनि खाजा वितरण गरेको छ । त्यसैै गरी सञ्चारकर्मीलाई पनि खाजा वितरण गरेको समितिले जनाएको छ ।

समितिका अध्यक्ष सीता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समितिका सल्लाहकार तथा भैरहवा मर्निङ वाक गु्रप (विएमजी)का अध्यक्ष समाजसेवी ओमकार गौचनले महामारीको संकटमा खट्ने सबैमा धन्यवाद दिएका थिए ।

जलपानका लागि समितिका अध्यक्ष सीता पौडेलका श्रीमान् यदु पौडेलद्धारा ११ हजार सहयोग तथा स्व.निधानचन्द्र श्रेष्ठको स्मृतिमा पूर्व अध्यक्ष मिना श्रेष्ठद्धारा ५ हजार १ सय सहयोग भएको पनि समितिले जनाएको छ । सो कार्यक्रममा संस्थाका सावित्री श्रेष्ठ, रुकमा शेरचन, विनिता श्रेष्ठ, खगेन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।

 

Facebook Comments