गुल्मीका स्थानीय तहमा दमकल खरीद गर्ने

अनिल खत्री
गुल्मी, १३ वैशाख ।
गुल्मीका सबै स्थानीय तहमा दमकल खरीद गर्ने निर्णय भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै स्थानीय तहमा दमकल खरिद गर्ने निर्णय गरेको हो ।

स्थानीय तहमा दमकल नहुँदा आगलागिबाट ठूलो क्षति व्यहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि सबै स्थानीय तहमा दमकल खरीद गर्ने निर्णय गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए । जिल्लाका स्थानीय तह १२ वटामध्ये रेसुङ्गा नगरपालिकामा मात्रै दमकल रहेको छ ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको नगरपालिकाको दमकल अन्य स्थानीय तहसम्म पुग्दा ठूलो जनधनको क्षति भएको हुनसक्ने दुर्घटनालाई अन्त्यका लागि सबै स्थानीय तहमा दमकलको व्यवस्था गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सुख्खा समयमा घर, गोठ तथा जंगलहरूमा आगोले निकै क्षति गर्ने गरेको सन्दर्भमा स्थानीय तहकै मागको आधारमा विपत् व्यवस्थापन समितिले दमकल किन्ने निर्णय गरिको हो ।

विपद् व्यवस्थापन समितिले पेट्रोलियम व्यवसायी संघले पेट्रोलियम पदार्थको अभाव हुन नदिने र पसलहरूबाट विक्री–वितरण तत्काल बन्द नगरे कडा कारवाही गर्ने पनि समितिले निर्णय गरेको छ । कोरोना संक्रमणको विषयमा विपद् व्यवस्थापन समितिले जिल्ला बाहिरबाट आउने सबैलाई पालिकाको क्वारेन्टाइनमा अनिवार्य राख्ने, विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको ¥यापिड टेस्ट गर्ने र प्रमाणपत्र दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।

बालबालिकालाई दिइने खोप तथा ज्येष्ठ नागरिक उपचार सेवा सञ्चालन गर्ने, अलपत्र परेका मजदुरलाई व्यवस्थापन गर्ने, विपन्न परिवारलाई केन्द्रीय मापदण्ड अनुसार खाद्यान्न राहत उपलब्ध गराउने निर्णय भएको पाण्डेयले बताए ।

Facebook Comments