सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला भन्छन् : लकडाउनको पूर्ण पालना गर्नुस्

गौतमबुद्ध सन्देश

भैरहवा, ७ वैशाख ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु शुक्ला)ले लकडाउनको पूर्ण रुपमा पालना गर्न गाउँपालिकावासीलाई आग्रह गरेका छन् । उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न लकडाउनको पूर्ण पालना तथा सामाजिक दुरी नै आवश्यकता रहेकोमा जोड दिए ।

सञ्चारकर्मीसंग कुराकानी गर्दै शुक्लाले भने, “म दुई हात जोडेर भन्छु कृपया आफ्नो, आफ्नो परिवारको तथा गाउँपालिकाको सुरक्षाको लागि लकडाउनको पालना गर्नुस्, यहाँहरुको जीवन गाउँपालिकाको लागि महत्वपूर्ण छ, गाउँपालिकलाई सुरक्षित र समृद्ध बनाउन गाउँपालिकावासी भुमिका महत्वपूर्ण हुनेछ । उनले कतिपय विकसित देश समेत कोरोना भाइरसविरुद्ध लड्न नसकेको स्थितिमा नेपालीहरु एकजुट भइ यसकाविरुद्ध लड्न आवश्यक रहेको बताए । “लकडाउन भनकै पूर्ण लकडाउन हो, त्यसले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कनुस्, उनले भने ।”

शुक्रबारदेखि नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० पुगिसकेकोले स्थिति तनावपूर्ण हुन नदिन अब चनाखो हुनुपर्ने बेला आएको उनको भनाइ छ । अहिले कोरोना भाइरसको संक्रमण फैलिएको क्षेत्रमा करिब ५ किलोमिटरको दुरी शिल गर्नुपर्ने उनको सुझाव छ ।
सम्मरीमाई गाउँपालिकामा कडाइका साथ लकडाउनको पालना गराउन प्रयासमा रहेको बाबजुद खुल्ला सिमाना (१० किलोमिटर)का कारण आवागमन पूर्ण रुपमा नरोकिएको उनले बताए । लकडाउनको पूर्ण पालना गराउन र गाउँपालिकावासीलाई जागरुक गराउन आफै माइकिङ गरेको उनले जानकारी दिए ।

गाउँपालिकामा १५ बेड क्षमताको क्वारेन्टाइनमा अहिले ९ जना रहेको र केही व्यक्तिहरुलाई स्वाब परीक्षण पश्चात घर समेत पठाइसकिएको उनले बताए ।

हालसम्म करिब ७ हजार ५ सय घरधुरीलाई राहत सामाग्री प्रदान गरिसकेको शुक्लाले बताए । प्रतिपरिवार चामल ५ के.जी., दाल १ के.जी., आलु ५ के.जी., प्याज २ के.जी, नुन २ के.जी, सर्फ १ के.जी. र साबुन २ पिस वितरण गरिएको उनले जानकारी दिए ।

गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा आफुले व्यक्तिगत ५० हजार रुपैयाँ जम्मा गरेको र सम्पूर्ण महानुभावलाई कोषमा रकम जम्मा गर्न निरन्तर आह्वान गरेको उनले बताए । विपद् व्यवस्थापन कोषमा जति धेरै रकम हुन्छ, त्यत्ति नै गाउँपालिकावासीलाई अझै सुविधा प्रदान गर्न सकिन्छ, उनले भने ।

गाउँपालिकामा राहत वितरणको लागि हालसम्म कुनै पनि राजनीतिक दल तथा संघ–संस्थामा सम्पर्क नआएको उनले बताए । केही व्यक्तिहरुले २ पिस ट्वाइलेट सोप (साबुन) बांडेर जनतामाझ भ्रमको स्थिति सिर्जना गर्न खाजेको उनको भनाइ छ ।

Facebook Comments