मादल बनाउन व्यस्त छबिलाल

गौतमबुद्ध सन्देश
सैनामैना, २ कार्तिक । सैनामैना ९ बासगढीका छबिलाल गैरे अहिले मादल बनाउन निकै व्यस्त छन् । उनीसंग अहिले बोल्न समेत फुर्सद छैन् । बिहान ५ बजे उठेपछि आफ्नो काम सुरु गर्दै राती ८ बजे सम्म उनी मादल बनाउन व्यस्त हुन्छन् । घरमा नै उनको मादल बनाउने उद्योग रहेको छ ।

मानिसहरु मादल बनाउ र किन्न घरमा नै आउने गरेका छन् । खमारी अथवा कटहरको काठ, बाख्राको छाला, गोरुको छाला र किट कुटेर बनाएको खरिबाट एउटा मादल तयार पार्छन् गैरेले । यो तयार गर्न कम्तीमा पनि ४ देखि ५ दिन लाग्ने गरेको उनी बताउँछन् । तिहार आयो, देउसी भैलोको सुरुवात भईसकेको छ । गाउँ, घर शहर बजारमा देउसी भैलोको माहोल तातेसँगै उनी पनि व्यस्त हुने गरेका छन् । विशेष रुपमा तीज देखि तिहार सम्म उनी मादल बनाउन व्यस्त हुने गर्छन् ।

उनले बनाएको एउटा मादलको मुल्य ४ देखि ९ हजार रुपैया सम्म पर्दछ भने पुरानो मादलमा खरि लगाएको १ हजार, छाला सहित खरि लगाएको २ हजार लिने गरेको छबिलालले बताए । मादल बनाउन निकै मिहिनत र समय लाग्ने भए पनि स्थानीय स्तरमा कच्चा पदार्थ पाईने हुँदा सहजको अनुभव भएको उनले सुनाए । मादल बनाउने मौसममा मासिक रुपमा ५० देखि ६० हजार सम्म कमाउने गरेको उनले बताए ।

उनी मादल बनाउने मात्र होइन एक कुशल घर बनाउने मिस्त्री पनि हुन । मादलको काम कम भएको समयमा उनी घर बनाउन जाने बताउँछन् । छबिलालका छोरा सन्तोष पनि अहिले २३ वर्षका पुगे । उनले पनि अहिले मादल बनाउनै व्यस्त हुन्छन् । तीज देखि तिहार सम्मको समय सबै भन्दा धेरै मादल बक्ने समय हो । यो समयमा सन्तोषले पनि बुबालाई काममा सघाउने गर्दछन् । गाडी चलाउने पेशा गरेका सन्तोषले मादल बनाउनको लागि माग आउने गरे पनि कच्चा पदार्थ नपाइदा पेशा संकटमा जाने डरले अन्य पेशा अपनाएको बताए ।

पाल्पा ७ बल्ढेङ्गढीका दुर्गा बहादुर कुमाल पनि तिहार लागेसँगै मादल बनाउनको लागि तराई तिर झरेर सैनामैनाका छबिलाल कँहा आईपुगेका छन् । मादल बनाउन निकै व्यस्त छन् छविलाल, मादलबाट पुरानो खरि निकालेर नयाँ खरि राख्दै छन् । गाउ घरमा देउसी भैलोको सुरु हुन लाग्यो मादल बिग्रेकोले पाल्पाबाट बनाउन आएको दुर्गा बहादुर कुमालले बताए । सांस्कृतिक कार्यक्रममा मादलको प्रयोग भएपनि बनाउने ठाँउ कँही छैन् , बनाउने मान्छे पनि कोही नभेट्ने गरेको कुमालले बताए । पहिले मजदुरी काम गर्ने गरेका छबिलालले अहिले भने निरन्तर रुपमा मादल बनाउदै आएका छन् ।

२०११ सालमा गुल्मीको फोक्सिङ् गाविसमा जन्मिएका छविलाल गैरेले ९ वर्षको उमेर देखि मादल बनाउन थालेको अनुभव सुनाउछन् । उनको घर नजिकै एक जना छिमेकीले मादल बनाउने काम गर्थे । उनलाई पनि मादल कसरी बनाउने भन्ने जिज्ञासा जाग्यो, अनि सिक्न भनी उनी छिमेकी कँहा जादा छिमेकीले सिकाउन इन्कार गरे पछि आफैले नै उसले बनाएको हेरेरे मादल बनाउन थालेको बताउछन् ।
मादल बनाउन थाले पछि उनको घरमा नै मादल किन्ने र बनाउन मानिसहरु विभिन्न ठाउँ बाट आउन थाले पछि राम्रो आम्दानी हुन थालेको उनको अनुभव रहेको छ ।

२०३० सालमा तराई झरेपछि गैरेले मादल बनाउने उद्योग घरमा नै सुरुवात गरे । उनले बनाएको मादल किन्न र मर्मत गर्नको लागि स्थानिय क्षेत्र लगायत कपिलवस्तु, बुटवल, पाल्पा, भैरहवा, भार्सेबाट मानिसहरु आउने गरेको उनी बताउँछन् । विशेष गरेर अरु समयमा भन्दा तिहार र तिज पर्वको अवसरमा मादल किन्नेको चाप बढ्ने हुदा यो समयमा अलिक व्यस्त हुने र कमाई पनि राम्रै हुने उनको भनाइे छ । उनको काममा उनको श्रीमती, २ छोरा, २ छोरी मिलेर मादल बनाउनको लागि सघाउने गर्दछन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *