युवाशक्तिलाई देशमै परिचालन गरौं (सम्पादकीय)

आज अंग्रेजी महिनाको जुन ११ अर्थात विश्व जनसंख्या दिवस । यो दिवस सन् १९८९ बाट हरेक वर्ष आजकै दिन विश्वभरीका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले मनाउन थालिएको हो । सन् १९८७ को जुन ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेकोले यो दिवस मनाउने घोषणा गरिएको हो ।
सुरुका दिन जनसंख्या वृद्धि वास्तवमा अवसर हो तर पछिल्लो समयमा यो अवसर हो कि चुनौती भन्ने विषयमा विवाद सुरु हुन थालेको छ । दुई दशक अगाडि हाम्रा पाठ्यक्रमहरुमा जनसंख्या वृद्धि नराम्रो भएकोले यसलाई नियन्त्रण गर्नुपर्ने भनेर यसविरुद्धको अभियानमा लागेका छौं । तर सधै जनसंख्या वृद्धि नकारात्मक पनि हुँदैन । अहिले विश्वका विकसित भन्दा विकसित मूलुकहरुमा आफ्नो खस्कँदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सृजना गरेको छ । मान्छेहरु बच्चा जन्माउन भन्दा पनि काम र विकासमा लागेकाले यसो भएको हो । जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाउँमा छ तथापि विकास अनि समृद्धिका लागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो । एउटा सन्तुलित जनसंख्या वेगर कुनै पनि देशको सुरक्षा, विकास दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनले बढ्दो जनसंख्याको भयलाई बुझेर एक सन्तान प्रणाली लागू गरेकोमा पछिल्लो समय जनसंख्याको एउटा स्तर हासिल गर्न लामो समयको अध्ययन पश्चात् सन् २०१५ मा दुई सन्तान जन्माउन जनतालाई आग्रह नै गरेको छ । संसारमै सबैभन्दा बढी व्यस्त र विकासको चरम् विन्दुमा पुगेका जापानीहरूलाई समेत जनसंख्यासंग तालमेल मिलाउन विभिन्न योजना सहितका सन्तान प्राप्ति अर्थात बच्चा जन्माउन सरकारले नै प्रेरित गरिरहेको छ । अरु थुप्रै देशहरुमा जनसंख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।
नेपालमा भने जनसंख्या वृद्धिदर विगतमा जस्तो उच्च नभएपनि सन्तोषजनक नै रहेको छ । क्रियाशिल जनंसख्या अर्थात् १६ देखि ४९ सम्मका जनसंख्या कूल जनसंख्याको ६० प्रतिशत भन्दा बढी हुनु एकदमै सन्तोषजनक अवस्था हो । यो जनशक्तिलाई परिचालन गरे विकासको चरणमा पुग्न सकिन्छ । तर नेपाली जनशक्तिहरूको पसिना विदेशमा चुहिरहेको छ ।

उत्पादनमूखी उद्योग, कलकारखानाहरू विगतका विभिन्न राजनीतिक गतिविधिका कारण बन्द हुनु तथा यसको वृद्धि र विकासमा उद्योगी तथा व्यवसायीहरूसंग तालमेल गरेर रोजगारीका नयाँ सम्भावनामा काम गर्न नसक्नुमा सरकारको नीतिगत समस्या हो । खाडीको मरुभुमिमा हरियाली बनाउन सक्ने नेपाली पसिनाले आफ्नै देश हराभरा गर्न पाए कति राम्रो हुने थियो । मानव वस्तीमा थोरै बच्चाहरुको संख्याले समृद्धि जनाउन सक्दैनन तर भएका बच्चाहरुको उचित स्याहार, सुसार, आहार अनि स्वास्थ दिन सक्ने गरी परिवारको योजना बनाउनुपर्छ । जति बालबच्चा जन्मिन्छन्, तिनलाई गुणस्तरीय शिक्षा दिने, युवा शक्तिलाई देश विकासमा परिचालन गर्ने र उमेर पुगेका जेष्ठ नागरिकलाई उच्च सम्मान दिनुपर्ने आजको आवश्यकतामा सरोकारवाला र सरकारी निकायको ध्यान जाओस् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *