प्रदेश ५ मा १६ सय कर्मचारी दरबन्दी रिक्त

गौतमबुद्ध सन्देश
बुटवल, १५ असार ।
प्रदेश नम्बर ५ मा करिब १६ सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । प्रदेशको स्वीकृत कर्मचारी दरबन्दी ३ हजार ९६ मध्ये हाल १५ सय कर्मचारी मात्रै रहेका छन् । बाँकी १५ सय ९६ कर्मचारीको दरबन्दी रिक्त छ ।

रिक्त दरबन्दीमा कर्मचारी नियक्तिका लागि प्रदेश मन्त्रीपरिषदले संगठन संरचना र दरबन्दी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७६ स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले संगठन संरचना र दरबन्दी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७६ स्वीकृत गरेसंगै प्रदेश सरकारलाई रिक्त कर्मचारी पदपूर्ति गर्ने बाटो खुलेको छ ।

रिक्त रहेका कर्मचारीहरुको पदपूर्ति तथा व्यवस्थापन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरु र मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रशासन महाशाखाका उपसचिव सदस्यसचिव रहने गरी समिति गठन गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयोजकत्वमा गठन हुने समितिमा सम्बन्धित जिल्लाका नापी कार्यालय, मालपोत कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सदस्य रहने छन् ।

मन्त्रीपरिषद बैठकले प्रदेशका घरजग्गाहरुको न्युनतम मुल्य निर्धारण गर्न घरजग्गा न्युनतम मुल्य निर्धारण तथा समिति (गठन तथा कार्य सञ्चालन) आदेश २०७६ लाई स्वीकृत गरेको छ । त्यस्तै राजमार्ग छेउमा फ्यूल फिलिङ्ग सेन्टर स्थापनाका लागि मापदण्ड २०७६ पनि वैठकले स्वीकृत गरेको छ ।

बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश श्रम सल्लाहकार परिषद गठन सम्बन्धी कार्यविधि र प्रदेशमा रहेका अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयनका लागि प्रदेशस्तरीय समिति गठन कार्यविधि २०७६ पनि स्वीकृत गरेको प्रवक्ता चौधरीले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *