पर्यटनलाई प्राथमिकतामा राख्दै स्थानीय तह

गौतमबुद्ध सन्देश

भैरहवा, ९ असार

यही असार १० गतेसम्म बजेट ल्याउने तयारीमा रहेका रुपन्देहीका स्थानीय तहले लुम्बिनीसँग जोडेर पर्यटनलाई प्राथमिकतामा राख्ने देखिएको छ । स्थानीय तह अहिले आगामी आर्थिक वर्षको बजेटका लागि अन्तिम गृहकार्यमा छन् । धेरैजसो स्थानीय तहले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रित गर्दै आगामी वर्षको विकास योजना बनाउने देखिएको छ । लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको सिद्धार्थनगर नगरपालिकाले नगरलाई बौद्ध नगरका रूपमा विकास गर्न गत वर्षदेखि नै अभियान चलाइरहेको छ । यो वर्ष पर्यटन सम्वन्धी त्यस्ता योजनाहरुलाई निरन्तरता दिँदै थप कार्यक्रम ल्याउने तयारी गरेको छ ।

प्रवेशद्वारमा रहेको सिद्धार्थनगर लुम्बिनीमा आउने पर्यटकका लागि आउनेजाने बाटो मात्र नभई यहाँ पर्यटकलाई बसाउने, घुमाउने गरी कार्यक्रम ल्याइने नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । यसका लागि नगरपालिकाले सीमाक्षेत्र बेलहियामा आकर्षक लुम्बिनी प्रवेशद्वार बनाउने, बसपार्कमा ५० फुटको सिद्धार्थ गौतमको मूर्ति स्थापना गर्ने र बेलहियादेखि लुम्बिनी रोडसम्मको सडकको दायाँ–बायाँ बुद्ध जीवन झल्किने मूर्ति स्थापना गर्ने नगरको योजना छ ।

त्यस्तै, डण्डा नदीमा डुंगा सयर गराउने योजना पनि नगरपालिकाको छ । लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताउँदै उनले यसका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाइने बताए । तिलोत्तमा नगरपालिकाले लुम्बिनी आएका पर्यटकलाई बास बसाल्न भन्दै सेमरीमा होमस्टे सञ्चालनको तयारी थालेको छ । नगर प्रमुख वासुदेव घिमिरेले पर्यटकलाई सामुदायिक वन र तिनाउ नदीको छेउमा ल्याएर थारू समुदायको कला–संस्कृति देखाउन होमस्टेको अवधारणा ल्याएको बताए । होमस्टे सचिवालयको उद्घाटन गरी अहिले सामुदायिक भवन बनाउने तथा यहाँका १० घरमा पूर्वाधार निर्माण गर्ने काम थालिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी र मावली देवदह जोड्ने केन्द्रका रूपमा रहेको यो नगरबाट लुम्बिनी–देवदह जोड्ने ४२ किलोमिटर लुम्बिनी परिक्रमा सडक निर्माणाधीन छ । नगरले मुख्य योजनामा पर्यटन र सडक पूर्वाधार राखेको छ । रूपन्देही, नवलपरासी र कपिलवस्तुलाई समेटेर विकास तथा प्रचार गर्ने र शान्ति सहर बनाउने योजना अघि बढेको छ । बौद्ध क्षेत्रको योजनावद्ध विकास गर्न बृहत लुम्बिनी गुरुयोजना तयार गरिँदै छ । लुम्बिनीलाई टुरिजम हबका रूपमा विकास गर्न १० वर्षे कार्यक्रम सहित व्यवस्थित पर्यटन योजना बनेको छ ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल र बुटवलमा अन्तर्राष्ट्रिय सभागृह निर्माण हुँदै छ । विमानस्थल सञ्चालनपछि आगामी १० वर्षमा वार्षिक २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । यही महत्व बुझेका जनप्रतिनिधि लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन क्षेत्रका योजनालाई महत्व दिन थालेका हुन् । यसमा स्थानीय नागरिक र निजी क्षेत्रको समेत समर्थन र सहयोग छ । ‘यहाँको विकास भनेकै लुम्बिनी केन्द्रित पर्यटन विकास हो’, सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीे भन्छन्, ‘सडक, पूर्वाधार विकास र कृषि उत्पादन समेत पर्यटन केन्द्रित गरेका छौं ।’

सार्वजनिक स्थललाई पार्कका रूपमा विकास गर्ने, बुद्धकालीन पुरातात्विक वस्तु तथा स्थानको संरक्षण गर्ने, कृषिजन्य उत्पादन बढाउने योजना छ । बौद्धकालीन प्रशस्त पुरातात्विक क्षेत्र रहेको नगरले पूर्व–पश्चिम राजमार्गको रामापुर र सालझन्डीबाट २÷२ लेनको सडकले लुम्बिनी जोडेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाले स्थानीयले फाइदा लिन सक्ने बनाउन सरोकारवालासित छलफल गरीरहेको छ । स्थानीयको एउटै गुनासो छ । बुद्ध जन्मस्थलबाट हामीले फाइदा लिन सकेनौं । यही गुनासोलाई सम्वोधन हुने गरी योजना ल्याईने नगर प्रमुख मनमोहन चौधरीले बताए ।

बुद्ध क्षेत्र हेर्ने जिम्मा पाएको लुम्बिनी विकास कोषसँग छलफल गरेर यसबारे योजना बनाउँदै गरिएको समेत उनले बताए । लुम्बिनीमा बास बस्ने पर्यटकलाई मनोरञ्जन र बुद्ध ज्ञान दिन विराह नृत्य देखाउने योजना आफ्नो नगरको दायित्वमा समावेश गर्ने यो नगरको अर्को योजना छ । विराहमा मायादेवीलाई प्रसव पीडा सुरु भएदेखि सिद्धार्थ जन्मेर कपिलवस्तु फर्किंदा सम्मको झलक देखाइन्छ । रूपन्देहीमा १६ स्थानीय तह छन् । धेरैजसो स्थानीय तह लुम्विनीसँग कुनैन कुनै रुपमा जोडिएका छन् । नजोडिएका स्थानीय तहले पनि लुम्बिनीलाई आफ्नो योजनामा कुनै न कुनै रुपमा जोड्दै आएका छन् ।

Facebook Comments