विषादी जाँच्ने मेसिन नहुँदा भन्सारमै रोकिए गाडी

प्रकाश न्यौपाने
भैरहवा, ८ असार ।
जाँच गर्ने आवश्यक यन्त्र व्यवस्था नगरी आपूर्ति विभागले ताजा तरकारी तथा फलफूल पैठारी गर्दा भन्सारमै जीवनासक विषादीको अवशेष परीक्षण गरेर मात्रै पैठारी गर्ने निर्णय गरेपछि सीमा क्षेत्रमा गाडी रोकिएका छन् । आपूर्ति विभागले मंगलबार मात्रै राजपत्रमा प्रकाशित गर्दै ताजा तरकारी तथा फलफूल आयात गर्दा भन्सारमा विषादी चेकजाँच गरेर मात्रै पैठारी गर्न पाउने व्यवस्था गरेको थियो । तर भन्सार, क्वारेन्टाइन र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग विषादी जाँच गर्ने ‘पेस्टीसाइड एनलाइसिस प्रोमोटोग्राफी’ मेसिन छैन ।

यसले तरकारी र फलफूल बोकेर भन्सार प्रवेश गरेका र नेपाल प्रवेशका लागि सुनौली नाका आएका गाडी रोकिएका छन् । मंगलबार राजपत्रमा प्रकाशित गरिएको नयाँ प्रावधानको कपी शुक्रबार मात्रै भन्सार कार्यालयमा पठाइएको थियो । लगत्तै भन्सारले तरकारी र फलफूल बोकेका सवारी रोकेको छ । ‘हामीलाई पत्र प्राप्त भएपछि सवारी रोकेका छौं, विषादी जाँच गर्ने मेसिन हामीकहाँ छैन, के गर्ने भन्ने अन्यौल परिरहेको छ’, भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले भने, ‘विषादी जाँच गर्ने मेसिन राखेर मात्रै व्यवस्था लागू गर्न माथिल्लो निकायमा आग्रह गरेका छौं, आइतबारसम्म कुनै निर्णय आउँछ भन्ने आशा छ ।’
एकाएक भन्सार विन्दुमा गाडी रोकिएपछि व्यवसायी मर्कामा परेका छन् ।अग्रिम जानकारी विनै गाडी रोकिँदा लाखौं घाटा व्यहोर्नु परेको व्यवसायीको भनाई छ । कार्यालयका अनुसार भन्सार आएका करिब ५० बढी गाडी रोकिएका छन् । यस्तै, नेपाल प्रवेशका लागि सुनौली आएका २० बढी गाडी भारतीय भूमिमा रोकिएका छन् । सामान्यतः बेलहिया नाकाबाट दैनिक २०–३० तरकारी र फलफूल बोकेका गाडी नेपाल भित्रिने गर्छन् । यस्ता गाडीबाट भन्सारले ५ प्रतिशत राजश्व र ५ प्रतिशत अग्रिम आयकर लिने गरेको छ ।

नयाँ प्रावधानकोे पत्र प्राप्तपछि भन्सारले विषादी चेकजाँच गर्ने मेसिन जिल्लामै नभएको व्यहोराको पत्र विभागमा पठाएको छ । जिल्लामा क्वारेन्टाइन कार्यालयमा समेत तरकारी र फलफूलको विषादी जाँच गर्ने कुनै यन्त्र छैन ।केही समय अघि बुटवलमा ‘विषादी अवशेष दू्रत परीक्षण इकाई’ राखिएको थियो । तर त्यहाँका कर्मचारी सरुवा भएपछि अहिले यन्त्र प्रयोगविहीन छ । नयाँ व्यवस्थामा तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित छ भन्ने व्यहोराको प्रमाण लिएपछि मात्रै भन्सारले सम्बन्धित ठाउँमा लैजाने अनुमति दिन्छ ।

जिल्लामा क्वारेन्टाइन बोहक क्षेत्रीय खाद्य प्रविधिले समेत विषादी जाँच गर्छ । तर यहाँ पनि तरकारी र फलफूलको जाँच गर्ने मेसिन र दक्ष जनशक्ति छैनन् । क्वारेन्टाइन कार्यालय बेलहियाका प्रमुख विष्णुप्रसाद काफ्लेले आफूहरुलाई विभागले पत्र पनि नपठाएको र आफूहरुसँग जाँच गर्ने यन्त्र पनि नभएको बताए । ‘यो विषयमा भन्सारसँग बैठक भएको थियो । तर, अहिलेसम्म हामीसँग उपकरण पनि छैन, उक्त क्षेत्रको दक्ष जनशक्ति पनि छैन, माथिबाट कुनै निर्देशन पनि आएको छैन र जिम्मेवारी पनि दिइएको छैन’, काफ्लेले भने ।

नीति बनाउने तर आवश्यक उपकरण व्यवस्थापन नगर्ने सरकारको पुरानै शैलीले भन्सारविन्दु र सीमा क्षेत्रमा आएका तरकारी र फलफूल बोकेका गाडी अलपत्र परेका हुन् । व्यवसायीले धेरैदिन गाडी रोकिए लाखौं रुपैयाँको तरकारी र फलफूल सडेर खेर जाने बताएका छन् । आइतबारसम्म कुनै निर्णय नभए सबै कुहिएर नष्ट हुने भन्दै व्यवसायीले तत्काल यो व्यवस्था खारेजीको माग गरेका छन् । बेलहिया नाकाबाट आलू, प्याज, टमाटर, खुर्सानी, हरियो तरकारी, काँक्रा, मूला, गाँजर, लसून, स्याउ, आँप, केरा, अंगुर लगायत थुप्रै प्रकारका तरकारी तथा फलफूल नेपाल भित्रिने गर्छ ।

Facebook Comments