सहकारी सम्बन्धि अभिमुखीकरण

गौतमबुद्ध सन्देश
भैरहवा, ४ असार ।
सहकारी ऐन, नियममा भएका परिवर्तन तथा वित्तीय विश्लेषण सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम भैरहवामा सुरु भएको छ । सिद्धार्थनगर नगरकार्यपालिका कार्यालय, रुपन्देहीको आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो ।

आगामी आर्थिक वर्षको बजेट नगरपालिकाले बनाउन लागेको सन्दर्भमा नगर भित्र रहेका सहकारीकर्मीहरुलाई सहकारी ऐन, नियममा भएका परिवर्तन तथा वित्तीय विश्लेषण सम्बन्धि जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाले बताए ।

कार्यक्रमको सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रममा नगरपालिका उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत ख्याम बहादुर थापा, उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिल कुमार ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका भित्र रहेका सहकारी संस्थाको अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, व्यवस्थापकको सहभागिता रहेको छ ।

अभिमुखीकरणको पहिलो दिन मंगलबार सहकारी विज्ञ चन्द्रकान्त भट्टराईले सहकारीको परिचय, मुल्य मान्यता, सहकारीका सिद्धान्त र व्यवहारिक प्रयोग, सहकारी ऐन र नियममा भएका परिवर्तन, सहकारी बचत र बचत परिचालन विषयमा सहजीकरण गरेका थिए । दोस्रो दिन जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रन बहादुर थापाले सहजीकरण गर्नेछन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *