रक्तदान जीवनदान (सम्पादकीय)

आज विश्व रक्तदाता दिवस । मानव रगत पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् २००४ देखि रक्तदाता दिवस मनाउन थालिएको हो । यसलाई रक्तदान दिवसका रुपमा पनि मनाइन्छ । खासगरी रक्तदाता दिवस सर्वसाधारणलाई रक्तदानको महत्वबारे जानकारी गराउँदै जनचेतना जागृत गराउने र रक्तदान अभियानमा सक्रिय बनाइ रगतको अभावबाट मानिसको अकाल मृत्यु हुनबाट बचाउने उद्धेश्यका साथ मनाउन थालिएको हो । यस दिवसको माध्यमबाट वर्षेनी रक्तदाताको संख्या वृद्धि गराउनु पनि हो । युवाहरुलाई स्वयंसेवी रक्तदाताको रुपमा उत्प्रेरित गर्न दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताको सम्मान स्वरुप नेपालमा पनि २०७० सालमा प्रथम रक्तदाता सम्मेलन आयोजना गरी यो दिवसलाई मनाउन थालिएको हो ।

रक्तदान भन्ने वित्तिकै अहिले पनि मानिसहरुमा डर उत्पन्न हुने गरेको छ । रक्तदान गरेपछि कमजोर हुन्छु भन्ने भावनाले गर्दा रगत दिन डराउने युवायुवतीको जमात ठूलै छ । सामान्यतयाः रक्तदान गर्नका लागि ५० केजी तौल र १८ देखि ६० बर्ष उमेर मापदण्ड हो । एक पटक रक्तदान गरेको तीन महिना पुगेपछि फेरि रक्तदान गर्न मिल्छ । मानिसहरुमा ८ प्रकारका रक्त समूह हुन्छ । जुन रक्त समूहको रगत हो, त्यही समूहकै रगत चाहिन्छ । पछिल्लो समयमा नेपालमा रगतको माग एकदमै बढी हुने गरेको छ । पहिलो कुरा त शल्यक्रिया गर्नुपर्ने भएमा अग्रिम रुपमा रगत स्टक गरेर मात्र गर्ने गरिन्छ, ताकी शल्यक्रिया पछि विभिन्न संक्रमणका कारण तत्काल आवश्यक भएमा रगतको आपूर्ति गर्न सकियोस् । दोश्रो कुरा अहिले दिनहुँजसो हुने सवारी दुर्घटनाका कारण बढी रक्तश्राव भएमा वा तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा रगतको माग बढी हुन्छ । केही वर्ष अगाडि सम्म हामी कहाँ रगत अभावले धेरै मानिसलाई बचाउन नसकिने अवस्था रहेको थियो । तर अहिले अवस्था त्यस्तो छैन । रगतको अभावको खबर सुन्नासाथ स्वयंसेवी रक्तदाताहरु तुरुन्त रक्तदानका लागि तयार हुन्छन् । सामाजिक सञ्जालहरुले यसमा ठूलो भूमिका निर्वाह गरिरहेका छन् ।

रक्तदानलाई जीवनदानको रुपमा लिइन्छ । किनभने एक जनाले गरेको रक्तदानले अर्को कुनै एक जनाले जीवनदान पाउँछ । तसर्थ रक्तदानलाई दानहरुमध्ये सबैभन्दा ठूलो दानको रुपमा बुझ्नुपर्छ । धेरै तीर्थ व्रतहरु भन्दा रक्तदान उक्तम दान हो । मानिसलाई तत्काल रगतको आवश्यकता परेमा किनारा पसलहरुमा पैसा खर्चेर पनि किन्न पाइँदैन । रगत आवश्यकता छ, गोजीमा पैसा पनि छ, तर रगत भएन भने अकालमै ज्यान जान सक्छ । एक जनाको अकालमा ज्यान जानु भनेको त्यस परिवार, नातागोता र टोलछिमेकको अपूरणीय क्षति हो । रक्तदान गर्नाले अरुको जीवन बचाउन सकिने, हाम्रो शरीरमा यसले कुनै हानी वा नोक्सानी केही नगर्ने र यो दानहरुमा सबैभन्दा पवित्र दान भएको कारणले रक्तदान गरौं, अरुलाई पनि रक्तदानको महत्वबारे जानकारी गराउँदै प्रेरित गरौं ।

Facebook Comments