व्यापारिक मार्गमा डष्टविन

गौतमबुद्ध सन्देश
भैरहवा, २९ जेठ ।

बेलहिया–बुटवल व्यापारिक मार्गअन्तर्गत तिलोत्तमा क्षेत्रमा करिब डेढ सय डष्टविन राखिएको छ । नगर क्षेत्रको मुख्य सडकलाई सफा, स्वच्छ राख्न भन्दै शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले डष्टविन राखेको हो । आफनो कार्य क्षेत्र भित्र पर्ने योगिकुटीदेखि ड्राइभर टोलसम्म मार्गमा सडकको दुबै छेउमा डष्टबिन राखिएको हो ।

संस्थाले सडकको दुबै किनारमा रहेका बिद्युत डष्टबिन राखेको छ । त्यस्तै, शंकरनगर चोकदेखि शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रसम्मको सडकमा पनि संस्थाले डष्टबिन राख्ने जनाएको छ । मंगलबार बिहान योगिकुटीमा एक कार्यक्रम आयोजना गरी डष्टबिन राख्न सुरु गरिएको हो । योगिकुटीमा बिद्युत पोलमा डष्टबिन राखेर कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले शंकरनगरबाट सुरु भएको खुल्ला दिशामुक्तको अभियानले राष्ट्रिय रुप लिए जस्तै सार्वजनिक क्षेत्रको सरसफाईमा सुरु गरेको यो अभियानले पनि व्यापकता पाउने बिश्वास गरे ।

उनले फोहोर विसर्जन र सरसफाई प्रत्येक नागरिकले आफ्नै घरबाट सुरु गर्नु पर्ने, सार्वजनिक क्षेत्रलाई वातावरणमैत्री र सुन्दर सफा बनाउनु पर्नेमा जोड दिए । यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित मन्त्री गिरीले सडकमा फोहोर हुन नदिन सफा सुग्घर बनाउन सके, ट्राफिक व्यवस्थापन गर्न सके तिलोत्तमा बिकसित मुलकका शहर भन्दा कम नहुने दावी गरे । उनले तिलोत्तमाको मात्र नभई समग्र रुपन्देही जिल्लाको फोहोर व्यवस्थापनका लागि उर्जा, मल कारखाना के स्थापना गर्न सकिन्छ भन्ने सम्वन्धमा प्रदेश सरकारले बिस्तृत अध्ययन गर्न लागेको जनाए ।

कार्यक्रममा बोल्दै वडा नम्वर २ का अध्यक्ष दधिराम गौतमले संस्थाले खानेपानी र सरसफाईका क्षेत्रमा गरेको कार्यले वडाको काममा निकै सहयोग पुगेको बताए । संस्थाका अध्यक्ष हीरप्रसाद तिवारीले संस्थाको कार्यक्षेत्रलाई पूर्ण सरसफाईयुक्त बनाउन र व्यापारिकमार्ग तथा अन्य सडकको सौन्दर्यता बढाउन डष्टबिन राख्न सुरु गरिएको जानकारी दिए । आवश्यकता परे कार्यक्षेत्रका अन्य सडकमा पनि डष्टबिन राखिने उनले जनाए ।

संस्थाका कार्यसमिति सदस्य बेलप्रसाद शर्माको सञ्चालन र उपाध्यक्ष ओम प्रकाश खरेलको स्वागतमा कार्यक्रम भएको थियो । संस्थालाई तिलोत्तमामा शाखा कार्यालय रहेका शाइन रेसुंगा डेभलपमेण्ट बंैक, मिसन डेभलपमेण्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक र गरिमा विकास बैंकले डष्टबिन सौजन्य गरेका छन् ।

Facebook Comments