वातावरण दिवस र हामी (सम्पादकीय)

‘स्वच्छ वायु, स्वस्थ जीवन’ नाराका साथ ४५औं विश्व वातावरण बुधवार नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ । वातावरण र मानिसबीचको अन्तरसम्बन्धलाई बुझेर वातावरण संरक्षणमा आम समुदायको चासो बढाउने दिवसको मुख्य उद्देश्य हो । यो दिवस विश्व पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि मनाउन सुरु गरिएको हो । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ को जुन ५ मा पहिलोपटक विश्व वतावरण दिवस मनाउन सुरु गरिएको हो ।

विश्वब्यापी रुपमा वातावरण दिवस मनाइए पनि दिवस औपचारिकतामा सीमित हुने गरेको छ । मानव जाति आफू बस्दै आएको वातावरणको सर्जक र विनाशक दुवै रहेकाले वातावरण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यही कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाउने गरिन्छ । तर नेपालको सन्दर्भमा सरकारले यस्ता दिवसलाई केवल औपचारिकता मात्र दिने गरेको छ भने जनस्तरमा पनि यसलाई महत्वका साथ हेरिदैन । वातावरण संरक्षण विश्वको प्रमुख चुनौति बनिरहेको छ । हाम्रा दैनिक गतिविधिले गर्दा पृथ्वी, जल, जमिन, प्रकृतिलाई दिनहुँ विनाशतर्फ लगिरहेका छौं । वातावरण संरक्षण गर्ने कार्य मेरो हो भन्ने भावना जवसम्म सम्पूर्ण जनमानसमा जागृत गराउन सकिदैन, तबसम्म यसको संवेदनशीलता महसुस हुँदैन । मैले नगरेर के भो अरुले गरिहाल्छन् नि भन्न थालियो भने प्रकृतिको विनाश हुन्छ । प्रकृतिको विनास हुनु भनेको हाम्रो वरिपरिको वातावरण विनाश हुनु हो । यसको सिधा असर हाम्रै जीवनमा पर्दछ ।

द्रुततर विकासले वातावरण संरक्षणमा वाधा पु¥याउँछ । त्यसैकारणले पछिल्ला दिनहरुमा विकासका काम गर्दा वातावरणीय प्रभावको बारेमा अध्ययन गरेर संरक्षणको पहल समेत गर्नुपर्ने हुन्छ । वातावरण बिग्रन्छ भनेर विकास रोक्न मिल्दैन, तर विकास गर्ने नाममा जथाभावी वातावरण विनास गर्नु पनि हुँदैन । आम समुदायमा वातावरण संरक्षणका लागि के कस्ता उपाय गर्नुपर्छ भन्ने बिषयमा सरकारी तहबाट जनचेतना जगाउन जरुरी छ । प्लाष्टिक प्रयोग घटाउने, रुख विरुवा संरक्षण गर्ने, पानीको मुहान संरक्षण गर्ने, हाम्रो वरिपरि रहेका झारपात, किरा फट्यांग्रा, सीमसार क्षेत्र संरक्षण जस्ता स–साना कुराहरुबाट वातावरण संरक्षणको शुरुवात गर्न सकिन्छ । यिनै प्रयत्नले वातावरण संरक्षणमा ठूलो महत्व राख्दछन् ।

हामीले भोग्दै आएका छौं कि जलवायु परिवर्तनको प्रभावले गर्दा गर्मीमा अत्याधिक गर्मी हुने, जाडोमा अत्याधिक जाडो, शीतलहर, अतिबृष्टि, खण्डबृष्टि, जलचर, थलचर जिवजन्तु, चराचुरुङ्गी लोप हुने जस्ता परिवर्तनहरु भैरहेका छन् । पहाडमा पानीका मुहान सुकेका छन्, तराईमा भूमिगत पानीको सतह घटिरहेको छ, हिमालमा हिउँ कम परेको छ । यसले गर्दा हामीलाई नै समस्या पर्ने गर्दछ । तसर्थ वातावरण संरक्षणको बिषय सरकारको मात्रै चासोको बिषय होइन, यो त तपाईं हाम्रो दैनिक जीवनसँग सम्बन्धित बिषय हो । त्यसैले वातावरण संरक्षणमा आजैदेखि लागौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *