बने २८४ सीमास्तम्भ

प्रकाश न्यौपाने
भैरहवा, १६ जेठ ।
कपिलवस्तु र रुपन्देहीको नेपाल–भारत सीमामा २ सय ८४ नयाँ सीमास्तम्भ निर्माण गरिएको छ । जसमध्ये ७ वटा मुख्य, ६८ मध्यम र २ सय ९ वटा सामान्य सीमास्तम्भ हुन् । नेपाल–भारत सीमा सर्वेक्षण नम्बर ३ टोलीले साढे पाँच महिना लगाएर उक्त सीमास्तम्भ निर्माण गरेको हो । सन् २०१८ को डिसेम्बर १५ देखि २०१९ को मे अन्तिमसम्म सीमास्तम्भ निर्माणको काम गरिएको थियो ।

यस अघि पहिलो संयुक्त बैठक २०१८ को डिसेम्बर २८ मा भारत उत्तरप्रदेशको बहराइजमा बसेर निर्माण थालिएको थियो । नवलपरासी देखि बर्दिया सम्म ४ सय १८ किलोमिटर क्षेत्रमा सीमास्तम्भ निर्माण र सर्वेक्षण जिम्मा पाएको नम्बर ३ टोलीले यो वर्ष रुपन्देही र कपिलवस्तुको मात्रै सीमास्तम्भ निर्माण गरेको हो । सर्वेक्षण टोलीका अनुसार रुपन्देहीको सीमामा ३ सय ५१ नयाँ सीमास्तम्भ निर्माण गर्नुपर्ने भए पनि यो वर्ष ८१ वटा मात्रै नयाँ निर्माण गरिएको सीमा सर्वेक्षण प्रमुख उमेश कुमारले जानकारी दिए । जसमध्ये ४० वटा नेपालले बनाएको हो भने ४१ वटा सीमास्तम्भ भारतले निर्माण गरेको हो । २ सय ७० सीमास्तम्भ भने बनाउन अझै बाँकी छन् ।

त्यस्तै, कपिलवस्तुमा २ सय ४१ निर्माण गर्नुपर्नेमा २ सय ३ वटा निर्माण गरिएको छ । यहाँ ३८ सीमास्तम्भ निर्माण गर्न बाँकी छन् भने नेपालले १ सय ३६ र भारतले ६७ वटा निर्माण गरेको छ । कपिलवस्तुमा १ सय ५ वटा सीमास्तम्भ नयाँ बनाइएको हो भने ३१ वटा पुरानालाई मर्मत गरी नयाँ बनाइएको हो । दुई देशको सहमति अनुसार विजोर नम्बर भएको सीमास्तम्भ नेपालले निर्माण गर्नुपर्ने हुन्छ भने जोर नम्बरको भारतले निर्माण गर्नु पर्ने हुन्छ ।

‘हामीले पाएको म्यान्डेट अनुसार अधिकतम सीमास्तम्भ निर्माण गरेका छौं’, सर्वेक्षण प्रमुख कुमारले भने, ‘केही अप्ठ्यारा ठाउँमा निर्माण गर्न नसकिए पनि महत्वपूर्ण स्थानमा सीमास्तम्भ निर्माण गर्न सफल भएका छौं ।’ उनले यस वर्ष जंगल, नदी, सुख्खा नदी लगायत अप्ठ्यारा ठाउँमा समेत सीमास्तम्भ निर्माण गरिएको जनाए । ‘विगतमा काम हुन नसके पनि अहिले केही नयाँ र आधुनिक तरिकाबाट सीमास्तम्भ बनाइएको छ’, उनले भने, ‘जीर्ण सीमास्तम्भलाई नयाँ तरिकाबाट सोही ठाउँमा पुर्ननिर्माण गरिएको हो भने दुई देशको सहमति भए अनुसार नयाँ स्थानमा समेत सीमास्तम्भ बनाएका छौं ।’

सर्वेक्षण टोलीद्वारा निर्माण गरिएका सीमास्तम्भहरु बुधबार भैरहवामा आयोजित दुइ देशको दोस्रो संयुक्त बैठकले प्रमाणिकरण गरेको छ । नेपालकोतर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेल, रुपन्देहीका उदय बहादुर रानामगर, भारत सिद्धार्थनगर जिल्लाकी प्रमुख विकास अधिकारी हर्षिता माथु, बलरामपुरका सहायक विकास अधिकारी अरुण कुमार शुक्ला तथा महाराजगंजका सहायक विकास अधिकारी जस्धिर सिंहले प्रमाणिकरण गरेका हुन् । सर्वेक्षण टोलीका अनुसार यस वर्ष गहिरो नदी परेको ठाउँमा भने सीमास्तम्भ निर्माण गरिएको छैन । निर्माण बाँकी रहेका सीमास्तम्भ आगामी वर्षहरुमा निर्माण सुरु गरिने नापी विभागमा नापी अधिकृत भगिरथ भट्टले बताए ।

सर्वेक्षण प्रमुख कुमारले अब बस्ने नेपाल–भारत सर्वे अफिसियल कमिटी (एसओसी) को संयुक्त बैठकले जुन–जुन ठाउँमा सीमास्तम्भ बनाउन निर्देशन दिन्छ, सोही अनुसार २०२० को डिसेम्बरबाट पुनः सीमास्तम्भ निर्माण थालिने बताए । दुई देशका अधिकारीहरुको संयुक्त बैठकले सीमा सर्वेक्षणका क्रममा देखिएका समस्याहरुलाई समाधान गर्न माथिल्लो निकायलाई अनुरोध गर्ने सहमति गरेका छन् । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सर्वे गर्न २०१५ देखि सर्वेक्षण टिम खटिएको हो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *