गणतन्त्र दिवसको तयारी

गौतमबुद्ध सन्देश
भैरहवा, १४ जेठ ।
गणतन्त्र दिवस–२०७६ विभिन्न कार्यक्रमको आयोजना गरी रुपन्देहीमा पनि मनाइदैछ । जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादवको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला समारोह समिति गठन गरी विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

दिवस अन्तर्गत जेठ १४, १५ र १६ गते सम्पूर्ण सरकारी कार्यालयहरुमा सांझ दिपावली गर्ने तथा आ–आफ्नो कार्यालय परिसर सरसफाई, १५ गते बिहान ६ः३० बजे देवकोटा चोक देखि जिल्ला समन्वय समितिको कार्यालय सम्म प्रभातफेरी र १५ गते रुपन्देही जिल्लाको आधिकारिक ट्रेड युनियनको सक्रियतामा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम गरिनेछ ।

त्यस्तै जेठ १४ देखि १६ गते सम्म भेटनरी कार्यालयद्धारा रेविज विरुद्धको खोप शिविर सम्बन्धि निःशुल्क कार्यक्रम, लुम्बिनी टेलिभिजनमा टक शो कार्यक्रम राख्ने र सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा तीन जना राजनीतिक विश्लेषक सहित गणतन्त्र दिवसको सन्दर्भमा बहस गर्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीको आयोजनामा भैरहवा नमुना मा.वि.मा गणतन्त्र र समृद्धि विषयक जिल्लाका अन्तरमाध्यमिक विद्यालयस्तरीय वक्तृवकला प्रतियोगिता गर्ने र प्रतियोगिताका विजेताहरुलाई सिद्धार्थनगर नगरपालिकाले पुरस्कार वितरणको व्यवस्था गर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितीयलाई ४ हजार र तृतीयलाई ३ हजार प्रदान गरिने सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १४ गते जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्ने र सो प्रतियोगिताको पुरस्कारको व्यवस्था सिद्धार्थनगर नगरपालिकाले गर्नेछ । त्यस्तै दिवसकै अवसर पारेर स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा जेठ १५ गते भैरहवा स्थित भिम अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *