ई.कोलाई जिवाणुले झाडापखाला फैलिएकोे पुष्टि

अनिल खत्री
गुल्मी, २४ वैशाख ।
गएको वैशाख १० गते देखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटमा फैलिएको झाडापखला ई.कोलाई भन्ने जिवाणु भएको पत्ता लागेको छ । सिंगो गाउँमा फैलिएको झाडापखालाको मुख्य कारण पानीमा ई.कोलाई भन्ने जिवाणु भेटिएको अनुसन्धानवाट पत्ता लागेको हो ।

दुषित पानी सेवनका कारण गत दुई साता अघि गाउँमा झाडापखालाको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले गत साता प्रकोप क्षेत्रमा पुगेर विरामीहरुको दिसा र पानीको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।
विरामीको दिसा परीक्षणमा सिगेला नामक जिवाणु समेत रहेको बताइएको छ । स्थानीयहरुले उपभोग गर्दै आएको पानीको मुहानमा फोहोरका कारण पानी दुषित भएको र झाडापखालाको प्रकोप बढेको गुल्मी अस्पताल प्रमुख डा. उत्तम पच्याले बताए । नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पानी र विरामीको दिसाको नमुना परिक्षण गरेपछि पानीकै समस्याका कारण झाडापखालाको संक्रमण बढेको डा.पच्याले बताए । सिंगो गाउँमा फैलिएको झाडा पखलाबाट २ सय बढी बिरामी भएका थिए भने १ जनाको मृत्यु भएको थियो ।

झाडापखालाको प्रकोप फैलिएको गाउँमा अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ । झाडापखाला फैलिएको स्थानमा जिल्ला स्वास्थ्य कार्यालय गुल्मी, गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाका स्वास्थ्य टोलीले सञ्चालन गरेको स्वास्थ्य शिविरका कारण झाडापखाला नियन्त्रणमा आएको हो ।

सिंगो गाउँ नैै प्रभावित भएपछि काठमाडौंबाट विशेषज्ञ डाक्टरसहित अनुसन्धान गर्न बिश्व स्वास्थ्य संगठनको समन्वयमा इपिडियोनोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टोलीले प्रभावित क्षेत्रमा अनुगमन गरेका थिए । झाडापखाला फैलिएको स्थानमा जिल्ला स्वास्थ्य कार्यालय गुल्मी, गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाले सचेतना कार्यक्रम पनि सम्पन्न गरेका छन् ।

प्रभावित क्षेत्रमा स्थानीयलाई राखेर पानी उमालेर प्रयोग गर्न, हात मिचिमिची धुन लगायतका सल्लाह, सुझाव दिई विरामीसंग भेटघाट गरेर सचेतना कार्यक्रम सम्पन्न गरेको मुसिकोट नगरपालिका गुल्मीका स्वास्थ्य संयोजक डिबी जिसीले बताए । प्रभावित क्षेत्रमा खानेपानीको समस्या भएपछि नगरपालिकाले दैनिक ट्याकरबाट पनि पानी वितरण गरिरहेको नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।

सोही स्थानमै २०७३ साल वैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानीयले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो । ५६ घरधुरी जलेर नष्ट भएको थियो भने १ जनाको मृत्यु समेत भएको थियो । त्यस्तै घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढीको क्षति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *