लेडिज सर्कलद्वारा खेल उत्सव

गौतमबुद्ध सन्देश
भैरहवा, १९ चैत ।
सिद्धार्थनगर लेडिज सर्कल ४ भैरहवाले खेलकुद उत्सवको आयोजना गरेको छ । पक्लिहवा माविमा भैरहवाका चार सरकारी विद्यालयलाई सहभागी गराएर खेल उत्सवको आयोजना गरिएको अध्यक्ष आसु आस्वानीले बताइन् । उनले स्वस्थ जीवनका लागि खेलकुद भन्ने नारालाई अंगिकार गर्दै उत्सव गरिएको जानकारी दिइन् । महिला, बालबालिका तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको लेडिज सर्कलले खेलकुदको बिकास तथा विद्यार्थीहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन उत्सव आयोजना गरेको जनाएको छ ।

उत्सवमा भैरहवा नमुना मावि, पक्लिहवा मावि, खजहना निमावि र बाल बहिरा आधारभूत विद्यालयका दुई सय बढी विद्यार्थी सहभागी छन् । उत्सवको प्रदेश सभा सांसद सन्तोषकुमार पाण्डेयले उद्घाटन गरे । उनले खेल क्षेत्रको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन सकिने उल्लेख गरे । उनले विद्यार्थीलाई प्राबिधिक शिक्षातर्फ अग्रसर हुन समेत आग्रह गरे । समाजसेवी नारायणप्रसाद अग्रवालले विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्न विद्यालय स्तरबाटै कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

लेडिज सर्कल नेपालकी राष्ट्रिय अध्यक्ष आरती अग्रवालले विद्यार्थीहरुमा रहेको खेल प्रतिभा बाहिर ल्याउनका लागि उत्सवको आयोजना गरिएको बताइन् ।खेल उत्सवमा ६ देखि १० वर्ष उमेरका छात्रछात्राबीच ८० मिटर दौड, ह्वील व्यारो दौड, ओरेन्ज इन द बास्केट, १० देखि १४ बर्ष समूहमा सय मिटर दौड, बोरा दौड, स्कीपिङ दौड, २ सय मिटर दौड, तीन खुट्टे दौड लगायत खेलमा प्रतिस्पर्धा भएको छ । प्रतियोगितामा बिभिन्न बिधामा चार वटै बिद्यालयका सहभागी विद्यार्थी विजयी हुँदै पुरस्कार हात पारेका छन् । बिजयी विद्यार्थीलाई क्रिकेट व्याट, व्याटमिन्टन सेट, कक, लुडोको सेट, चेस, तम्बोला, पानी वोतल लगायत सामाग्री प्रदान गरिएको थियो ।

Facebook Comments