सकियो रिडी मेला

अनिल खत्री

गुल्मी, ७ माघ ।

तीन जिल्लाको संगम क्षेत्र रिडीमा माघे संक्रान्तीको अवसरमा चलेको मेलामा ७ करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ । नेपालका चार धाममध्येको एक रुरु क्षेत्रमा लाग्ने माघी मेलाको २ लाख ५० हजार बढीले अवलोकन, दर्शन गरेको रुरु फ्रेण्ड क्लवका अध्यक्ष रामलाल विश्वकर्माले बताए ।

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरु स्थित आधादर्जन भन्दाबढी संघसंस्थाको संयोजनमा मेला आयोजना गरिएको थियो । माघ १ गतेबाट पाँच दिनसम्म चलेको मेलामा कालीगण्डकी स्नान गरी रुरुका विभिन्न मन्दिरहरु दर्शन गर्ने दर्शनार्थीको घुइँचो लागेको थियो । मेलामा राखिएका ३ सय स्टलहरुबाट ७ करोड ५० लाख बराबरको कारोबार भएको क्लवका अध्यक्ष विश्वकर्माले बताए । तीन जिल्लाका बिभिन्न घरेलु तथा अन्य होटलहरु, फेन्सीहरु लगायतका स्टलहरु राखिएको थियो ।

रिडीमा कालिगण्डकीमा स्नान गर्ने र ऋषिकेश देबताको दर्शन गर्न दर्शनार्थीदेखि व्यापार गर्नेहरुको दैनिक भीड लाग्ने गरेको थियो । माघे सक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ । यहाँ स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक मान्यता रही आएको छ । यस क्षेत्रमा प्राचीन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ ।

रुरु क्षेत्रको ऋषिकेश मन्दिरमा नेपालकै सबैभन्दा ठुलो भगवानको मूर्ति पनि छ । रुरु क्षेत्रको कालीगण्डकीमा स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, वाग्लुङ र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरु आउने गर्दछन् । व्यापारका लागि रुकुमदेखिका व्यापारी रिडी आउने गरेका छन् । मेलामा विशेषगरी कम्बल, काम्ला, राडीपाखी, वाँस तथा चोयाबाट निर्मित सामग्रीहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यपार हुने गर्दछ । यहाँ परापूर्व कालदेखि नै माघे संक्रान्तिदेखि तीन दिनसम्म जेठी, माइली र कान्छी संक्रान्तिको रुपमा मेला लाग्ने गरेको थियो । यसपटक भने दुई दिन थप गरेर पाँच दिन मेला लगाइएको हो । बिगतका वर्षहरुमा भन्दा यस वर्ष थप कार्यक्रमका साथ अझ प्रभावकारी रुपमा मेला सम्पन्न गरिएको अध्यक्ष विश्वकर्माले दावी गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *