जगदीशपुर तालमा चराको चोरी बढ्यो

नारद कोहार

कपिलवस्तु, १८ पुस ।

विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै गएको छ । केही दिनयता तालमा मरेर तैरीरहेका चराहरु धमाधम भेटिन थाले पछि चराको चोरी शिकारी फेरी बढ्दै गएको पाइएको हो ।

गिरोहले विष हालेर मारेका चराहरु पानीमा तैरिने गरको र लैजान नसकेका त्यस्ता चराहरु भेटिएको जगदीशपुर ताल व्यवस्थापन बहुसरोकार मंचका सदस्य ललित गुरुङले बताए ।

कृत्रिम रुपमा बनाइएको सो तालमा जाडोको मौसममा विभिन्न देशबाट चराहरु आउने गरेका छन् । आइतबार बिहान १८ र साँझ ६ वटा गरी दुइ दर्जन बढी विदेशबाट आएका आगुन्तक चराहरु मरेको अवस्थामा भेटिएका छन् । तालमा चरा मार्ने गिरोह यस वर्ष फेरी सक्रिय रहेको स्थानीयले बताउँछन् । खादा निकै स्वादिष्ट हुने भन्दै बजारमा यसको माग उच्च छ । एक जोडीकै हजार रुपैया बढी मुल्य पर्ने गाउँलेहरु बताउँछन् ।

चराको चोरी निकासी बढ्न थाले पछि आफूले सो विषयमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, वन र स्थानीयसंग चोरी निकासी रोक्नका लागि पहल थालेको कपिलवस्तु नगरपालिका–९ का वडाध्यक्ष शिव वाग्लेले बताए ।

जाडोका चार–पाँच महिना चराचुरुङी आई फुल पारी बच्चा हुर्काई फर्कने गर्दछन् । चराले ईको सिस्टमलाई मद्दत गरी बालीनाली उत्पादनमा सहयोग गर्ने भएकाले अवैध रुपमा हुने यस्ता चोरी शिकारीलाई नियन्त्रण गर्न जरुरी रहेको चराविद् डाक्टर हेमसागर बरालले बताए । ‘उत्पादन र आयआर्जन बढाउने गराउने पंक्षीको संरक्षण गर्नुपर्छ ’ उनले भने ।

कपिलवस्तु नगरपालिका–९ र १० मा रहेको जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो तालमा ११८ प्रजातिका चरा, आठ प्रजातिका उभयचर र तीन प्रजातिका सरीसृप पाइन्छ । जैविक विविधताले महत्वपूर्ण भएकै कारण यस जलासयलाई रामसार कन्भेन्सन अन्तर्गत सन् २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सुचीकृत गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *