बाढी पूर्व सूचना प्रणाली स्थापना

गौतमबुद्ध सन्देश

भैरहवा, १७ पुस ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित दोभानमा बाढी पूर्व सूचना प्रणाली स्थापना गरिएको छ । आईसिटि सोलुशन प्रा.लि. नेपालको प्राविधिक सहयोग, वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी, जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देही र तिनाउ गाउँपालिकाको समन्वयमा नमूना एकीकृत विकास परिषद् रुपन्देहीले एक कार्यक्रमका बीच बाढी पूर्व सूचना प्रणाली सम्बन्धि उपकरण तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

प्रविधिको विकाससंगै बाढी आएको सूचना तुरुन्तै सो यन्त्रबाट थाहा पाएर रुपन्देहीमा बाढीबाट हुने मानवीय, आर्थिक तथा भौतिक क्षति न्युनिकरण गर्न सकिने नमूना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । “परम्परागत रुपमा गर्दै आएको कामलाई अब प्रविधिबाट सुरुवात गर्दैछौं, बाढी आउँदैछ, डुबान हुँदैछ भन्ने पूर्व जानकारीले धनजन र मानवीय क्षतिको न्युनिकरण गर्नेछ, पौड्यालले भनिन् । पूर्व सचेतना प्रणाली स्थापनाले रुपन्देहीवासी लाभान्वित हुने उनले बताइन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पूर्व सूचना प्रणाली स्थापनाले बाढीको अवस्थाका बारेमा रुपन्देहीको थुमवा पिपरहवा सम्मका वासिन्दाले जानकारी प्राप्त गर्न सक्ने बताए । उनले विपद् व्यवस्थापन अन्तर्गत तटीय क्षेत्रको व्यवस्थापनमा उपमहानगरपालिकाले १५ लाख बजेट छुट्याएको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले विकासलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए । उनले समयमै सूचना प्रवाह गर्न सके धनजनको क्षतिबाट बच्न सकिने बताए । “२÷४ जनाको ज्यान बचाउन सक्नु पनि ठूलो काम हो, उनले भने ।

कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष राजेश श्रेष्ठ, वडा नम्बर ३ का वडाअध्यक्ष प्रेम प्रसाद पाण्डे, अधिवक्ता महेन्द्र पाण्डे, समाजसेवी सन्तोष शेरचन लगायतले पूर्व तयारीमा लगानी गरे धनजनको क्षति न्युनिकरण गर्न सकिने बताए । उनीहरुले प्रविधिबाट कामहरुको अभ्यास हुनु सकारात्मक रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सुर्दशन प्रसाद सिलवाल, नमूना एकीकृत विकास परिषदका सचिव शैलेन्द्र तुलाधर, नेपाल विपद् पूर्व तयारी परियोजनाका कार्यक्रम अधिकृत अमृता अधिकारी, परियोजना संयोजक अशोक कुमार चौधरी, सिडिएम नेपालका कार्यक्रम अधिकृत स्मृति पाठक, सामूदायिक विपद् व्यवस्थापन राष्ट्रिय सञ्जालका केन्द्रीय सदस्य सहाबुद्धिन देवान लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *