स्याउको कार्टुनमा राखेर लागूऔषध कारोबार

प्रकाश न्यौपाने
भैरहवा, २ पुस ।
सीमा क्षेत्रमा प्रहरी सक्रियता बढेपछि व्यवसायिक कारोबारीहरुले खाद्यान्न, कपडा तथा फलफूल लगायत विभिन्न दैनिक उपभोग्य सामानहरुको कार्टुनमा प्याक गरी लागूऔषधको कारोबार गर्न सुरु गरेको पाइएको छ । रुपन्देही प्रहरीले ठूलो परिणामको लागूऔषध कार्टुनमा राखी माथिबाट स्याउ राखेर लैजाँदै गर्दा एकजनालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो । प्रहरीले रामग्राम नगरपालिका–१८, नवलपरासीका २७ वर्षीय दुर्गाप्रसाद चौधरीलाई सिद्धार्थनगर नगरपालिका, भैरहवा स्थित गल्लामण्डीबाट स्याउको कार्टुनमा लागूऔषध राखेर लैजाँदै गर्दा पक्राउ गरेको हो । उनलाई मंसिर २७ गते पक्राउ गरिएको थियो । प्रहरीले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी चौधरीका साथबाट लाखौंको लागूऔषध बरामद गरिएको र उनी व्यवसायिक कारोबारी समेत भएको जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले विशेष सूचनाका आधारमा स्याउको दुईवटा कार्टुन भित्र पेपरले बेरेर लागूऔषध राखी माथिबाट स्याउ राखेर लैजाँदै गर्दा उनलाई पक्राउ गरिएको जानकारी दिए । ‘फलफूलको बहानामा लागूऔषध विक्रीका लागि लग्दै गर्दा पक्राउ गर्न सफल भर्यौ’, उनले भने, ‘पछिल्लो समय कारोबारीहरु खाद्यान्न, कपडा, फलफूल लगायत दैनिक उपभोग्य सामान भन्दै कार्टुनमा राखेर लागूऔषध ओसारपसारमा सक्रिय हुन थालेका छन् । हामीले विशेष निगरानी बढाएका छौं ।’ प्रहरीले केही दिन अघि पनि खाद्यान्नको कार्टुनमा प्याक गरेर बाहिरी जिल्लाहरुमा लैजान लागेको लागूऔषध भैरहवाबाट पक्राउ गरेको थियो ।

प्रहरीले चौधरीको साथबाट ३ हजार एम्पुल लागूऔषध पक्राउ गरेको छ । जसमा २÷२ एमएलको डाइपोजम एक हजार एम्पुल, नुफिन र फेनारगन पनि एक÷एक हजार एम्पुल बरामद गरिएको प्रहरी प्रमुख एसपी थापाले बताए । जसको बजार मूल्य करिब १५ लाख बराबर छ । भारतीय बजारमा एक एम्पुललाई दुई सय ५० रुपैयाँ पर्ने उक्त लागूऔष नेपालको काठमाडौंसम्म् पुग्दा एक एम्पुललाई ४ देखि साढेचार हजार रुपैयाँ पर्छ । ‘दूरीअनुसार मूल्य फरक–फरक राखेर विक्री गर्ने गरिएको हुन्छ, जति टाढाको बजारमा पु¥याउन सक्यो मूल्य बढ्दै जाने गर्छ’, उनले भने ।

चौधरीलाई जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न चौधरीको चार जनाको समूह छ । अन्य तीन भने फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । फरार रहेकामध्ये २ जना नेपाली नागरिक हुन भने एकजना भारतीय हुन् । ‘अनुसन्धानका क्रममा उनीहरुको समूह रहेको पाइयो’, एसपी थापाले भने, ‘पक्राउ पर्ने चौधरीभन्दा माथिल्लो तहका कारोबारी अझै फरार छन्, उनीहरुलाई हामीले छिट्टै कानूनको दायरामा ल्याउँछौं ।’

पछिल्लो समय सीमा नाका बेलहियामा प्रहरी र स्थानीयहरुको सक्रियतामा लागूऔषध विरुद्ध सिधा कारबाही अभियान चलाएपछि प्रयोगकर्ता घट्दै गए पनि कारोबारीहरुले अन्य नाका प्रयोग गरेर फलफूल लगायत अन्य सामाग्रीको कार्टुनमा तल लागूऔषध र माथि सामान राखेर कारोबार गर्दै आएको प्रहरी भनाई छ । प्रहरीले स्थानीयको सहभागितामा २०७४ माघ ८ गतेबाट बेलहियामा सिधा कारबाही अभियान चलाउँदै आएको छ । अभियानका क्रममा करिब २ हजार कारबाहीमा परिसकेका छन् ।

चालु आर्थिक वर्ष २०७५÷०७६ को मंसिरसम्म प्रहरीले १ सय ५१ जनालाई पक्राउ गरी ९७ जनाविरुद्ध मुद्दा चलाएको छ । अन्यलाई सुधारगृहमा पठाइएको छ भने केहीलाई आफन्तको जिम्मा लगाइएको छ । अघिल्लो आर्थिक वर्ष ०७४÷०७५ मा ४८१ जनालाई पक्राउ गरी ३२५ विरुद्ध मुद्धा चलाइएको थियो । यस्तै ०७३÷०७४ मा ५८१ लाई पक्राउ गरी ४९० विरुद्ध मुद्दा चलाइएको थियो भने ०७२÷०७३ मा ४७० लाई पक्राउ गरी ३२८ विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

भारतीय बजारमा छ्याप्छ्याप्ती किन्न पाइने भएकाले यहाँ बढी गालूऔषधको कारोबार हुँदै आएको छ । यहाँका विभिन्न नाकाबाट डाइपोजाम, फेनरागन, नुफिन, लुपिजेसिक, लियोजेसिक, नाइट्राजेपाम, तालजेसिक, नाइट्रभेट, नाइट्रोसन, स्पास्मे, चरेस, ब्राउनसुगर, सिरिञ्ज, फेन्सडिल, ट्याबलेट, गाँजा लगायतका लागूऔषधको कारोबार तथा ओसारपसार बढी हुने गरेको प्रहरी तथ्यांक छ ।

Facebook Comments