बैठकी कर घटाउन व्यवसायीको माग

गौतमबुद्ध सन्देश
बुटवल, १८ मंसिर ।

रुपन्देहीका हाटबजार व्यवसायीहरुले जनप्रतिनिधि निर्वाचित भएर तीनै तहका सरकारहरु आए तापनि व्यवसायीका समस्या झन् जटिल बन्दै गएको गुनासो गरेका छन् । पहिले थोेरै थोरै बैठकी कर बुझाउदै आएका ब्यवसायीहरुले स्थानीय सरकार गठन भएसँगै ४ सय देखि ६ सयसम्म बैठकी कर वृद्धि भएकोप्रति आपत्ति जनाएका हुन् ।

हाटबजार व्यवसायी संघ रुपन्देहीको बुटवलमा भएको १३ औं स्थापना दिवस तथा साधारणसभामा सहभागि भएका हाटबजार व्यवसायीहरुले करको वृद्धिसँगै स्वरोजगार पेशा गरी जीविका चलाइरहेका व्यवसायीप्रति गर्ने व्यवहारलाई स्पष्ट पारेको बताएका छन् ।

कार्यक्रममा व्यवसायीका समस्या राख्दै संघका अध्यक्ष भीमलाल ज्ञवालीले एकातर्फ बैठकी कर धेरै असुल्ने स्थानीय सरकारले हाटबजार क्षेत्रमा पुर्वाधार निर्माणमा वेवास्था गरेर हाटबजार व्यवस्थापनमा समेत समस्या थपिदिएको आरोप लगाए । उनले रुपन्देहीका विभिन्न एक सय २० स्थानमा हाटबजार लाग्ने र त्यहाबाट ५० हजार बढीले प्रत्यक्ष रोजगारी पाउँदाप नि स्थानीय सरकारले पुर्वाधार वृद्धिमा चासो नदिंदा हाटबजार व्यवसायी समस्यामा गुज्रनुपरेको बताए । उचित पुर्वाधार नहुँदा चर्को घाम, वर्षायाममा समस्या र नोक्सानी बेहोर्नुपरेको, शौचालयको समेत उचित व्यवस्था नहुँदा न्यूनतम मानवअधिकार हनन् भएको समेत व्यवसायीले गुनासो गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले व्यवसायीका समस्याहरु धेरै भएकाले त्यसतर्फ जिल्ला समन्वय समिति सकारात्मक रहेको बताए । उनले स्थानीय तहले व्यवसायीका समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डे, बुटवलका पुर्वमेयर पुनाराम पोखरेल, नेकपाका नेता बाबुराम पन्थी, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, जिफन्टका नेता हरि कार्की, लुम्विनी फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष केशव कुवर, संघका उपाध्यक्ष छविलाल चापागाई, महासचिव नेत्र प्रसाद पोखरेल लगायतले हाटबजार व्यवसायीका समस्या सम्बोधन गरिनुपर्नेमा जोड दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *