शाहवंशको कूल मन्दिर : जहाँ नवमीमा सरकारी पञ्चबली चढाइन्छ

टोपराज शर्मा
बुटवल, १ कार्तिक । (आलमदेवीबाट फर्केर) ।
नेपालका शक्तिपठिहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको स्याङ्जाको आलमदेवी मन्दिरमा वडादशैंको नवमीका दिन वर्षभरीकै सबैभन्दा ठूलो विशेष पूजा र सरकारी पञ्चबली चढाउने प्रचलन छ । वि.सं.१३५० सालमा स्थापना भएको यो मन्दिर शाह वंशको कूल देवता र कूल मन्दिर मानिंदै आएको छ । साविकको आलमदेवी गाविस ६ हाल कालिगण्डकी गाउपालिका वडा नम्बर ३ लसर्खामा रहेको यो मन्दिरमा नवमीका दिन बिहानै डेढ घण्टा लामो यज्ञ र नव दुर्गाको पूजापछि पञ्चबली गरिन्छ । आजैका दिन महिषासुरलाई देवीले बध गरेको दिन मानिएकाले नवदुर्गाको पूजा र यज्ञपछि ठूलो रांगोसहित सरकारी पञ्चबली दिइन्छ ।

मन्दिर व्यवस्थापन समितिका सदस्य दीपक घिलेका अनुसार आलमदेवीमा रांगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेंडा बली चढाउने परम्परा छ । भेंडा उपलब्ध नहुंदा कुभिण्डो प्रयोग गरिन्छ । नवमी दिन करिब ५ हजार भक्तजनहरु आउने घिलेले बताए । दर्शनार्थीको भीड लाग्ने भएकाले नवमीका दिन दिउंसो अबेरसम्म पूजा र बली चढाइन्छ । पञ्चबली चढाउन सरकारी निकायबाट बजेट व्यवस्था हुँदै आएको छ । यस पटक पनि गुठी संस्थानले ८४ हजार रुपैयां उपलब्ध गराएको घिलेले बताए । धेरै वर्ष पहिला शाह वंशीय राजाहरुले रांगो छोडिदिने र त्यो रांगो आफै आलमदेवी आइपुग्ने र स्थानीयले बली चढाउने गरेको इतिहास रहेको बताइन्छ । तर पछि रांगो छोड्न छाडेर गुठी संस्थान मार्फत वजेट दिएर पञ्चबली चढाउने परम्परा शुरु भएको हो । नवमीका दिन आलमदेवीमा बली चढाउनेको निकै भीडभाड हुने गर्छ । सरकारी पञ्चबली पछि मात्र मन्दिर भक्तजनका लागि खुला गरिने र सर्वसाधारणले ल्याएका पशुपंक्षीको बली दिने गरिन्छ । जीवनमा ठूलो संकट आइलागेपछि वा आउने संभावना देखे पछि यहाँ आएर आलमदेवीसंग वर मागेपछि संकट मोचन हुने जनविश्वास रहि आएको छ ।

भारतको चितौरगढका चन्द्र वंशावली भट्टारक राजा ऋषि राणाजीको राज्यमा मुगलले आक्रमण गरे पछि पुर्व तिर गए कूल र सन्तान सुरक्षित हुन्छन् भन्ने सल्लाहका आधारमा राजपरिवार पश्चिम नेपाल हुँदै स्याङ्जाको आलमदेवीमा आएका जनस्रुति रहेको छ । सोही डांडोमा मन्दिर बनाई उनीहरुले मुर्ति राखेका र पछि उक्त मुर्ति अलाप भएको हुंदा कालान्तरमा आलमदेवी नामाकरण भएको मानिन्छ । भारतीय ऋषि राणाका छोराहरु मिन्चा खांण र खान्चा खाणमध्ये एकजनाले स्यांजाको नुवाकोटमा र अर्काले कास्कीकोट,तनहुं हुंदै गोर्खासम्म राजा भएर राज्य गरेका र तिनै खांणले पछि थर परिवर्तन गरी शाह लेखाउन थालेको किंवदन्ती छ । हालको नेपालको शाह वंश तिनै चितौरगढका चन्द्र वंशावली भट्टारक राजाका सन्तान हुन् भन्ने वालिंग नगरपालिकाका प्रमुख दिलिप प्रताप खांणले लेखेको पुस्तकमा विस्तृत व्याख्या गरिएको छ ।

आलमदेवी मन्दिरको विशेषता मध्ये यो मन्दिरको फेंदलाई संसारकै पवित्र मानिने कालिगण्डकी नदीले चारैतिरबाट घरेको छ भने मन्दिरमा छाना छैन । बेलाबेलामा मन्दिरभित्रबाट ज्वाला निस्कने भएकाले मन्दिरमा छाना नराखिएको दावी छ । यो मन्दिरलाई ज्वालामाई देवीको मन्दिरका रुपमा पनि चित्रण गरिन्छ । अर्को कुरा यो मन्दिरमा मुर्ति छैन, मुर्ति रहने ठाउंमा भिमसेन पाती नामको मझौला रुख छ । यो रुख सय वर्ष भन्दा अगाडिंदेखि जस्ताको त्यस्तै रहेको स्थानीय बताउंछन् । यो मन्दिरमा उमरा राना मगर जातका चुडाकर्म गरेका १५ वर्षमुनिका किशोर मात्रै पुजारी बन्न पाउंछन् । उनीहरुले कालीगण्डकी नदीमै नुहाएर आएर मात्र पुजा गर्छन् । मन्दिर पुग्न जुनसुकै दिशाबाट जाँदा पनि उकालो चढ्नैपर्छ । मन्दिरमा ३६५ दिन नै पुजा हुने र पूजा हुँदा नगरा बनाउने परम्परा छ । एकादशी, औंशी, साउन १ देखि नागपञ्चमी र १६ श्राद्धमा वाहेक अरु सबै दिन यहाँ बली चढ्छ । मन्दिर भित्र महिलाको हकमा ठकुरी जातका महिला मात्र जान पाउंछन् । दलितलाई मन्दिर प्रवेश निषेध गरिएको छ । यहाँ वर माग्न, भाकल गर्न र पूजा गर्न नेपालका अधिकांश जिल्लाका साथै भारतबाट समेत भक्तजन र दर्शनार्थीहरु आउने गर्छन् ।

विशेषगरी ठकुरी वंश, सेना, प्रहरीका जागिरेहरुको यो मन्दिरप्रति अगाध आस्था र विश्वास रहेको छ । यहाँ चैतेदशैं र न्वागीमा पनि विशेष पूजा र सांस्कृतिक कार्यक्रमहरु हुने गर्छन् । मन्दिर रहेका वस्तीमा खानेपानीको चर्को समस्या छ । मन्दिर सम्म पुग्ने सडक पनि निकै सांघुरो र कच्ची भएकाले इच्छुक सबै दर्शनार्थीहरु सहज रुपमा पुग्न नसकेको अवस्था छ । यो मन्दिर दर्शन गर्न बेलाबेलामा पुर्व राजपरिवारका सदस्यहरु जाने गर्छन् । गत वर्ष मात्रै पुर्व युवराज्ञी हिमानी शाह मन्दिर दर्शन गर्न पुगेकी थिइन् ।

नक्कली आलमदेवी मन्दिरले चिन्ता

ऐतिहासिक धार्मिक महत्व बोकेको आलमदेवी मन्दिरकै नाममा स्याङ्जाको गल्यांग नगरपालिका भित्र साविकको तुलसीभन्ज्यांग गाविस वडा नंं ६ मा नक्कली आलमदेवी मन्दिर बनाएर दर्शनार्थीमा भ्रम फैलाइएकोप्रति आलमदेवी मन्दिर व्यवस्थापन समितिले आपत्ति जनाएको छ । सक्कली मन्दिर आउने बाटोमै नक्कली मन्दिर बनाइदा भक्तजनमा भ्रम पर्न गएकाले राज्यका निकायले त्यस्तो गलत कार्य रोक्नुपर्ने आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह रानाले आग्रह गरे । मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सय जना अट्ने अतिथि गृह निर्माण भइरहेको र खानेपानीको व्यवस्थाका लागि पहल भइरहेको अधयक्ष राना बताउंछन् । यसै वर्ष आलमदेवी मन्दिरको नाममा हुलाक टिकट पनि प्रकाशित हुँदैछ । सडक पीच, खानेपानी र टेलिफोन सेवाको उचित व्यवस्था हुन सके यो मन्दिर क्षेत्र धार्मिक मात्र नभई पर्यटकीय हिसाबले पनि विकास गर्न सकिने स्थानीय बुद्धिजिवी दीपक घिले बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *