क्रिकेट मैदानको काम धमाधम

प्रकाश न्यौपाने

भैरहवा, २८ असार ।

भैरहवास्थित सिद्धार्थ रंगशालालाई उत्तररोन्नती गर्ने काम धमाधम भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने भनिए पनि खासै कामले गति नलिइरहेका बेला आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता यही रंगशालामा हुने भएपछि अहिले भौतिक संरचना निर्माणको काम दू्रत गतिमा अगाडि बढाइएको हो । प्रतियोगिता मंसिर ११ देखि २१ गतेसम्म यहाँ हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्को एक करोड लागतमा जिल्ला खेलकुद विकास समितिमार्फत् उपभोक्ता समितिले जेठ देखि सुरु गरेको स्तरोन्नतीको काम असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ । लक्ष्यअनुसार स्तरोन्नतीको काम अहिलेसम्म करिब ८० प्रतिशत सकिएको रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष धु्रव अधिकारीले बताए । ‘छोटो समयावधिमा ठूलो लक्ष्य राखेर हामीलाई जिम्मेवारी दिइएको थियो, लक्ष्यअनुसार प्रगति हासिल गरेका छौं’, अध्यक्ष अधिकारीले भने– ‘अहिले निर्माण हुने संरचनाले मैदान अन्तर्राष्ट्रियस्तरको बनाउँदा समेत टेपा पुग्ने भएकाले हामी अझ अग्रसर भएका खटिएका छौं ।’

उपभोक्ता समितिले एक करोडमा पेभेलियन रंगरोगन तथा झ्याल डोका, गेट मर्मत, विजुली, खानेपानी, तीन कोठा भएको गार्ड र स्टोर भवन निर्माणको काम धमाधम गरिरहेको छ । यस्तै क्रिकेटका लागि आवश्यक खेलकुद सामाग्री खरिदको तयारी थालेको छ भने मैदानको छेउछाउ माटो पट्याउने, पार्किङ निर्माण, मैदान सम्याउने, पाँचवटा पिच निर्माण, पार्केटिङ लगायतका काम करिब–करिब सकिसकेको छ ।

मैदानमा सबैभन्दा महत्वपूर्ण मानिने पिचका लागि राखेपले काठमाडौंबाटै दक्ष क्युरेटर विशेषज्ञ पठाएको छ । ‘खेलका लागि पिच राम्रो हुनुपर्छ, तबमात्रै खेलाडीले खुलेर प्रदर्शन गर्नसक्छ’, क्युरेटर विशेषज्ञ श्रीस उपाध्यायले भने– ‘मैले लामो समयसम्म सिकेको, बुझेको र अनुभव गरेको सीप यहाँ प्रयोग गरिरहेको छु, निर्माण हुने पाँचवटै पिच अत्यन्तै राम्रो हुनेछन् ।’ उनले पिच निर्माणमा कुनै कन्जुस्याँई नगरी आवश्यक सबै मेट्रियल प्रयोग गरिएको बताए ।

१२ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भनेर सिद्धार्थ रंगशालामा अहिलेसम्म ५ करोड खर्च भइसकेको छ । २०६८ सालदेखि सुरु गरिएको रंगशालाको काम कछुवा गतिमा भइरहेका बेला राष्ट्रिय क्रिकेट प्रतियोगिता यही हुने भएपछि स्तरोन्नतीको काम अझ प्रभावकारी रुपमा अगाडि बढ्छ की भन्ने क्रिकेटपे्रमीहरुमा आशा पलाएको छ । क्रिकेट क्षेत्रका अगुवाहरुले रुपन्देहीबाट उत्पादन भएका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा ठूलो योगदान दिएकाले गुरुयोजनालाई नै प्राथमिकता दिएर अघि बढ्नु पर्ने बताउँछन् ।

रुपन्देही राष्ट्रियस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्ने हवका रुपमा परिचित जिल्ला हो । यतीमात्र होइन, अन्डर नाइन्टिन र राष्ट्रियस्तरमा यो क्षेत्रबाट धेरै खेलाडी टिममा छन् । जिल्लामा अहिले विभिन्न उमेर समूहका गरी ९० बढी अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन भइसकेका छन् । तर विडम्बना स्तरीय खेलमैदान नहुँदा खेलाडिहरु अभ्यास गर्न भने पाउँदैनन् । जिल्लामा आवश्यक पूर्वधारसहितको खेल मैदान तयार भए नेपालकै उत्कृष्ट खेलाडीहरु उत्पादन हुनसक्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल बताउँछन् ।

सात बिगाहा क्षेत्रफलमा फैलिएको रगंशालामा अहिलेसम्म १ करोड १९ लाखमा पेभेलियन निर्माण, ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली र ९० लाखमा ढल व्यवस्थापन गरी ३ करोड ३८ लाखको काम सम्पन्न भइसकेको छ । यस्तै जिल्ला खेलकुद संघले पनि आन्तरिक स्रोतबाट ६ लाखमा क्रिकेट पिच तयार पारेको छ । आर्थिक वर्षमा १२ हजार दर्शक क्षमता रहने प्याराफिट निर्माण सुरु गर्ने भनिए पनि काम सुरु हुन सकेको छैन । करिब ५० करोड लागतमा निर्माण सम्पन्न हुने रंगशाला निर्माण ५ वर्ष भित्र सक्ने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *