बेथरीमा सिद्धार्थ उ.वा. संघको उपशाखा

रबिन्द्र प्रताप गुप्ता
भैरहवा, ३ वैशाख । रुपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको उपशाखा समुदघाटन गरिएको छ । हालै गठन गरिएको बेथरी बजार व्यवस्थापन समितिलाई उपशाखाको रुपमा समुदघाटन गरिएको हो ।

उपशाखाको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले बेथरी बजार व्यवस्थापन समितिलाई संघको विषयगत समिति अन्तर्गत उपशाखा बनाइएको बताए । उनले संघले बेथरीमा पहिलो उपशाखाको रुपमा शुभारम्भ गरे पनि अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने बताए ।

त्यस्तै बेथरी मुक्तिनाथ समाजका अध्यक्ष कामीराम पुनले बेथरीको उन्नति प्रगति देखेर आफू हर्षित भएको बताए । उनले बेथरी उपशाखालाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमकार गौचनले २०११ सालमा स्थापना भएको संस्थाले ६३ वर्ष पछि उपशाखा विस्तार गर्नु ऐतिहासिक कार्य भएको बताए । उनले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या समाधानको लागि राज्य गम्भीर हुनुपर्ने बताए ।

इलाका प्रहरी कार्यालय बेथरीका इञ्चार्ज चिन्तामणि न्यौपानेले व्यवसायीलाई शान्ति सुरक्षा दिलाउने प्रतिबद्धता व्यक्त गरे ।
अर्घाखाँची सिमेन्ट प्रा.लि.का महाप्रबन्धक उद्धव कार्कीले ढिलै भए सिद्धार्थ उद्योग वाणिज्य संघले प्रथम पटक शाखा विस्तार गर्नु प्रशंसनीय रहेको बताए ।

बेथरी बजार व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष दुर्गावति बनिया, सल्लाहकार समिति सदस्य जंग बहादुर यादव लगायतले बोल्दै बेथरी बजारलाई दुर्गन्ध रहित बजारको रुपमा व्यवस्थापन गर्न संस्थाले काम अगाडी बढाउने बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, स्थानीय उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

गत चैत १० गते बेथरीमा रहेका व्यवसायीहरुको भेलाले होम बहादुर थापाको अध्यक्षतामा व्यापार व्यवस्थापन समिति गठन गरेको थियो । समितिको उपाध्यक्षमा दुर्गावति वानिया, सचिवमा सुदिप जैसवाल, कोषाध्यक्षमा विनय मिश्रा, सदस्यहरुमा लक्ष्मी क्षेत्री, अकबाल पठान, नरेश साहु, विजय यादव, सुरेश गुप्ता, अशोक वृजवासी र मनोज गुरुङ रहेका छन । त्यस्तै सल्लाहकारमा गणेश प्रसाद चौधरी, प्रमोद श्रेष्ठ, भिम नारायण चौधरी, अवधराज यादव, जंग बहादुर यादव, मोलाहु जैसवाल र झब्बर वनिया रहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *