सरस्वती पूजा र यसको महत्व

                                                                                                               

                                                                                                                      –सुनिल धवल
नेपाललाई चाडपर्वको देश भन्न सकिन्छ किनभने यहाँ महिने पिच्छे चाडपर्व आइराख्ने र नेपालीहरुलाई खुशी बनाइराख्ने भनेर बुझ्न सकिन्छ । विभिन्न चाडपर्व मध्ये एक महत्वपूर्ण पर्व “सरस्वती पूजा” पनि हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । नेपालमा प्रत्येक वर्ष यो पूजा माघ महिना पर्ने गर्दछ । यो महिनामा जाडोले कठ्याङग्रिए पनि सरस्वती पूजा भनेपछि सबै जना उत्साहित हुन्े र धुमधामका साथ मनाउने गरिन्छ । विशेष गरी शिक्षण संस्थामा यो पूजा धुमधामका साथ मनाउने गरिन्छ । स्कूल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले यसलाई विशेष महत्वका साथ हेर्ने गर्दछन । सरस्वती पूजाको दिन सरस्वती माताको जन्मदिन भनेर पनि मनाइएको देख्न पाइन्छ । सेतो वस्त्र पहिरेकी सरस्वती मातालाई विद्याको प्रतिक पनि मानिन्छ । यस पूजाका दिन सरस्वती मातालाई सेतो पुष्प चढाउने तथा कलम, कापी, किताब र मसीलाई पूजा गर्ने चलन छ । सरस्वती मातालाई ज्ञान, कला र संगितको देवी पनि भनिन्छ । माता सरस्वतीको महत्व पूजा नेपालमा मात्र नभई भारत, जापान, इण्डोनेशिया तथा म्यानमार जस्तो देशमा पनि पूजाअर्चना गरिन्छ । माता सरस्वतीलाई लक्ष्मी, सन्तोषी र पार्वती पनि भनिन्छ ।

सरस्वती माताको चारवटा हातले निकै राम्रो सन्देश दिएको पनि छ । मन, बुद्धि, सर्तकता र अहंकारलाई बुझाउनको साथसाथै माता सरस्वतीले बोल्नुभएको वीणाले उनी कलाकी देवी हुन र एउटा मन र मुटुले अरुसंग मेलमिलाप गर्नु र संसार शान्त बनाउनु हो भने उनले बोकेको किताबले सत्यताको ज्ञानको बोध गराउँछ भने उनको जपमालाले अनुशासन, मनन र ध्यानाकर्षण बताउँछ र उनले लगाएको सेतो साडी शुद्धताको प्रतिक मानिन्छ । माता सरस्वती सेतो कमलमा बस्नुभएको छ, त्यो सेतो कमलले सफा र शुद्ध हुनुको बोध गराउँछ किनभने त्यो सेतो रंगमा कुनै पनि किसिमको फोहोर, हिलो तथा माटो लागेको हुँदैन । त्यस्तै हाम्रो वरपर पनि कुनै नराम्रो अथवा नकारात्मक कुराले असर नगरोस भन्ने जानकारी सेतो कमलले दिन्छ । त्यस्तै मयुरले पनि सुन्दरताको साथ हामीमा एउटा यस्तो क्षमता दिन्छ कि दुधको दुध पानीको पानी गराउन सक्ने जस्तो हामीहरुलाई सही र गलतको स्पष्टताको सिख गराउँदछ । यति धेरै ज्ञान दिने माता सरस्वतीलाई सरस्वती पूजाको दिन हर्षोउल्लास तथा उत्साहका साथ देशभरी मनाउने गरिन्छ । तसर्थ यो पूजाको महत्व धेरै छ । सरस्वती माताले सबैलाई ज्ञानले भरिपूर्ण बनाउन ।

Facebook Comments